तोयानाथ उपेक्षित – कुवेत स्थित अलमुत्ला सिटी प्रोजेक्टमा भएको दुर्घटनामा परि मृत्युबरण गर्न पुगेका ६ जना नेपाली मध्ये दुई जना को थिए भन्ने थाहा पाउन आईतवार सम्म कुर्न पर्ने भएको छ ।
मृतक चार जनाको नाम भने विहिवारकै दिन नेपाली राजदुतावास कुवेतले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । पाल्पा घर भएका एक बहादुर गाहा मगर, सिरहका गंगा चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका थिए तर सोही घटनामा थप दुई नेपाली को पनि मृत्यु भएको भनिए पनि ती को थिए भन्ने खुल्न सकेको छैन । यति भयावह घट्नामा ६ जना नेपाली मध्ये दुईको नाम ठेगाना थाहा पाउन मात्र पनि ४ दिन कुर्न पर्दा धेरैलाई पिडा चिन्ता भईरहेको छ । यो सुचना सम्बन्धित कम्पनी वा कुवेत सरकारको सम्बन्धित निकायसँग नहुने भन्ने हुदैन । विदाको दिन सुचना दिन नमिल्ने भन्ने पनि नहोला । सवैको व्यग्र चासो समयमा सम्बोधन होस भन्नेमा चिन्ता व्याप्त छ ।
नेपाली राजदुतावास ले आज र भोली सार्वजनिक विदा भएको कारण आईतवार मात्र जानकारी पाउने बताएको छ । सोही घटनामा घाईते धमेन्द्र कुमार शाहा र मनोरथ मण्डल उपचारार्थ अस्पतालमा छन ।
फ्रेव्रवरी १२ का दिन मुतला कन्ट्रक्सन हाउजिंग प्रोजेक्टको खाडलमा दायाँबायाको डिस्को र बालुवा खस्दा उनीहरु पुरिएका थिए । कुवेत सरकारको उद्धार टोली ले तुरुन्त काम थाले पनि ती ६ जना नेपाली बच्न सकेनन । घट्नापछि कुवेत सरकारले गंभिर चासो लिएर घटनाको तुरुन्त जाँच गर्न कमिटी नै बनाएको छ । मिनिस्टर अफ हाउजिंग डाक्टर राना अल फारेस ले जाँच आयोगको आदेश दिएका हुन । सुरक्षा बन्दोबस्तीमा रहेको कमजोरी के हो उक्त समितीले जाँच गर्ने छ ।
यसै बिच कुवेतका अमिर शेख सवा अल अहमद अल जावेर अल सवाह ले बुधवार देशको उत्तरमा एक आवासिय परियोजनामा ज्यान गुमाउने परिवारका नाममा समवेदना पठाउँनु भएको छ । उहाँले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी लाई सम्बोधन गर्दै मृतकहरु प्रति शोक व्यक्त गर्नु भएको छ भने यसरी नै घाईतेको शिघ्र स्वास्थ लाभको कामना कामना गरेको कुरा उल्लेख छ ।
यसै बीच उक्त कम्पनीमा काम गर्ने नेपालीहरुले काम छाडेर धर्ना दिएको समाचार तथा भिडियो फुटेजहरु सार्वजनिक भएका छन । उनीहरुले मृतकको उचित क्षतिपुर्तिको माग गर्दै आफूहरुलाई फिर्ता जान पाउनु पर्ने माग गरेका छन ।