तितोपाटी- दार्चुलाकी पशुमाया कामीको काखमा ११ महिनाको छोरी छ । दार्चुलाबाट उनी यतिबेला काठमाडौँस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा धाइरहेकी छन् ।
१९ वर्षको कलिलै उमेरमा उनको विवाह भयो दार्चुलाकै दिनेशराम कामीसँग । दुई वर्षसम्म दम्पतीले गाउँमै बसेर केही गर्ने योजना बनाए । तर आर्थिक अवस्थाले धानेन ।
गत भदौमा घरसल्लाहपछि निश्चय भयो– वैदेशिक रोजगारीका लागि साउदी जाने । उनी ६ महिनाकी छोरी छोडेर विदेश हानिए । पैसा कमाएर परिवार राम्रोसँग पाल्ने सपना देखेकाे कामी परिवारमा दुई सातामै वज्रपात पर्याे । कार्यस्थलमै हृदयाघातका कारण कहिल्यै नउठ्ने गरी ढले दिनेशराम ।
पैसा कमाउन विदेशिएको श्रीमानलाई दुई साता नबित्दै गुमाएकी पशुमाया र उनको परिवार यतिबेला शोकसँगै आर्थिक अभावमा गुज्रिएको छ । काठमाडौंमा बोर्डले उपलव्ध गराउने क्षतिपूर्तिका लागि आएकी पशुमाया जसलाई भेटे पनि एउटै गुनासो गर्छिन्, ‘आर्थिक अभावले मेरा खुसी र सिन्दुर खोसियो सर ।’
श्रीमान् विदेशी जाँदा खुसीले गदगद भएकी दिनेशकी श्रीमती पशुमाया अहिले पीडाले छटपटिएकी छन् । उनलाई आफ्नो भन्दा छोरीको बारेमा धेरै चिन्ता छ । भन्छिन्, ‘१९ वर्षको उमेरमा भाग्यसँगै सिन्दुर पुछियो । एउटी छोरी छे, कसरी पाल्ने ? मसँग हातमा केही सीप छैन । बाँकी उमेर कसरी बिताउने हो । श्रीमान् नै नभएपछि परिवारको हेर्ने नजर पनि फेरिएको छ ।’
विदेशमा आफन्त गुमाएकी उनी एउटा प्रतिनिधि पात्र हुन् । उनीजस्ता धेरै महिलाका श्रीमानले विदेशमा रोजगारीका क्रममा ज्यान गुमाइरहेका छन् । वैदेशिक रोजगारीका क्रममा वार्षिक करिब ७ सयले ज्यान गुमाउने गरेको बोर्डको तथ्यांक छ ।
साउदीमा मृत्यु भएका श्रीमानको क्षतिपूर्ति लिन छोरी बोकेर उनी बोर्डमा आएकी छन् । उनी राम्रोसँग बोल्दिनन् । कसैले बोलायो भने मात्र जवाफ दिन्छिन् । श्रीमानको मृत्युपछि सामाजिक हिंसामा पर्ने उनलाई डर छ । ‘एकल महिलाहरूलाई समाजमा बाँच्न समस्या हुन्छ, त्यो मैले देख्दै आएको छ । एकातिर श्रीमान् गुमाएको पीडा अर्कातिर घरेलु हिंसामा पर्ने डर छ,’ उनले चिन्ता सुनाइन् । सरकारले विदेशमा श्रम गर्ने सिलसिलामा श्रीमान् गुमाएका महिलाका लागि केही सुविधा दिएको छैन । जसका कारण उनीहरूको जीवनयापनमा कष्टकर भइरहेको छ । विदेशमा मृत्यु हुनेका श्रीमतीसँग हातमा सीप र गरिखाने सम्पत्ति नहुँदा उनीहरूको जीवन समस्याग्रस्त बन्ने गरेको छ ।
श्रीमान् गुमाएपछि अब उनले वर्षमा एक बाली मकै मात्र उत्पादन हुने सात रोपनी जग्गामा जीवनभर दुःख गर्नुपर्नेछ ।
‘सम्पत्तिका नाममा ७ रोपनी जग्गा छ । त्यसमा पनि केही उत्पादन हुँदैन । पाखो बारी हो । वर्षमा एक पटक मकै उत्पादन हुन्छ । अब अर्काको खेतबारीमा काम गरेर भए पनि छोरीलाई पढाउनु छ,’ बोर्डको क्षतिपूर्ति पाए छाेरीकाे शिक्षामा लगानी गर्ने सोच बनाएकी पशुमाया भन्छिन् । श्रीमानकाे मृत्यु साउदीमा भएकाे हाे, तर पनि राेजगारदाता कम्पनीबाट त्केयस्हीताे कुनै क्षतिपूर्ति नपाएको उनको गुनासो छ ।
विभिन्न कारणले श्रीमान गुमाएर एकल हुन पुगेका महिलाहरू घरेलु र सामाजिक हिंसाको दोहोरो चपेटा पर्ने गरेको विभिन्न अध्ययनले औंल्याएका छन् । सामाजिक हिंसामा परेका एकल महिला जोखिम मोलेर वैदेशिक रोजगारीमा जाने गरेका छन् । सामाजिक हिंसा हुने डरले पनि एकल महिला आफ्नाे परिवार र छोराछोरीलाई माया मारेर विदेशिने गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारले १७ लाख क्षतिपूर्ति पाउने गरेका छन् । राज्यले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई ७ लाख क्षतिपूर्ति दिँदै आएको छ । वैदेशिक रोजगारीमा जाँदा १३ लाखको बीमा गरेको हुन्छ ।
वैदेशिक रोजगारीका क्रममा हुने मृत्युकाे कारण सरकारले खोज्न सकेको छैन । जसका कारण समस्या जटिल बन्दै गएको छ । विदेशमा हुने मृत्युदर रोक्न सरकारले कुनै प्रयास नगरेको यो क्षेत्रका विज्ञले बताउँदै आएका छन्।यो समाचार शिलापत्रमा रमेश भरतीले लेखेका छन।