Wednesday 8th July 2026

खाडीमा बिहिबारको रात र शुक्रबारे साईत


तोयानाथ उपेक्षित-अरबी मुलुकमा लाखौको संख्यामा नेपाली कामदारहरु छन। यहाँको सार्वजनिक विदाको दिन शुक्रवार हो। शुक्रवारका दिन होटल, रेष्टुरा र सेक्युरिटी गार्डहरुको प्राय छुट्टी हुदैन। यसो भएकाले उनीहरु खाडीमा खोलिएका नेपाली संघसँस्थामा खासै आबद्ध भएको पाईदैन। प्रसस्त क्लिनिंग कम्पनीहरु पनि यी मुलुकमा छन र त्यहाँ काफी संख्यामा नेपालीहरु छन। प्राय धेरैजसो यस्ता कम्पनीमा शुक्रवार छुट्टी हुने गर्दछ । तिनको आवद्धता नेपाली सँघ सँस्थामा राम्रै छ। सानो बेतनका कारण उनीहरु चाहे जसरी सहभागि हुन सक्ने अवस्थामा भने हुदैनन।

धेरैजसो मानिसको शुक्रवार विदा हुदैन। खास गरेर नेपालीहरुको ठुलो संख्या सेक्युरिटी गार्ड, क्लिनर र होटल रेष्टुरेन्टमा छ। यस्तै घरेलु कामदारको संख्या पनि निक्कै ठुलो छ। घरेलु कामदारमा पनि महिलाहरुको संख्या धेरै छ। घरमा काम गर्ने अधिकांशले छुट्टी नै पाउदैनन। यसरी हेर्दा केही राम्रो काम वा पोजिसनमा काम गर्नेहरु नै सामाजिक गतिविधीमा अधिक सक्रिय देखिन्छन। उनीहरुले नै समाजको नेतृत्व गर्दछन। यहि कारण हो की प्राय तिनै अनुहारहरु सवै जसो संघसँस्थाका गतिविधीमा देखिन्छन।

वीकेण्ड अर्थात विहिवारको दिनको महत्व सानो देखि ठुलो पदमा काम गर्ने जो कोही जुनसुकै देशका मानिसका लागि महत्वपूर्ण हुने गर्दछ। त्यस दिनको साँझ सडकमा बाक्लो जाम अवेर सम्म हुन्छ। कतिपय राम्रा कम्पनीहरुमा शुक्रवार मात्र नभएर शनिवार समेत विदा हुने भएकाले सवै कामदारहरुले छुट्टी मनाउन विशेष योजना यीनै दिनमा बनाईरहेका हुन्छन। यति सम्मकी विहिवारको रातका प्लेनहरु पनि अरु दिनको तुलनामा धेरै बुकिंग हुने गर्दछन। पैसावालाहरु वरिपरीका देशको छोटो भिजिटमा निस्कन्छन।
शुक्रवार नेपालीहरुका लागि विशेष दिन हो । विहिबार रातीबाट नै उनीहरु ले छुट्टी मनाउन थाल्दछन । तल्लो दर्जाका कामदारहरुका क्याम्पहरुमा विहिवारका दिन प्लाष्टिकका थैला र बोतलहरुमा अवैध रुपमा उत्पादन गरिएका रक्सी ठुलो परिणाममा खपत हुन थाल्दछ यीनै विषादी रक्सीको सेवनले कतिले अकालमा ज्यान गुमाएका छन भने दिर्घकालिन रुपमा ठुलठुला स्वास्थ्य समस्याको सामना पनि गरिरहेका छन। खाडी मुलुकमा मदिरा को उत्पादन र सेवन गैह कानूनी भए पनि भित्रभित्रै यसको उत्पादन र सेवन गर्नेहरुको संख्या भयावह छ। अत्यान्त्य कडा विषादी जस्तो रक्सीको सेवनबाट होस गुमाएर अपराधिक क्रियाकलाप पनि भईरहेका हुन्छ। यसको सेवनबाट आपसमा झगडा गर्ने र अर्को दिन ड्युटी नगईदिने कारणले कतिले नोकरी गुमाएका, कारबाही भोगेका, बेतन मा पेनाल्टी रकम काटिएका हुन्छन। ठुलो नोक्सानी कामदाहरुले बेहोरिरहेका छन।

यसरी नै यहाँ भित्रभित्रै फ्ल्याट भाडमा लिएर रक्सी उत्पादन गर्ने, सुकुटी चिउरा, मःमः बेच्नेहरुले केही कोठाहरु यौन क्रियाकलाप गर्नेहरुलाई प्रतिघण्टाको दरले भाडामा लगाएर टन्नै कमाई पनि गरेका छन। जब सम्म सुराकीले भेउ पाउदैन तव सम्म उनीहरु त्यो अवैध धन्दाको लाभबाट रमाई रहने गर्दछन। यसरी नै भाडामा कोठा लिएर बस्नेहरुले पनि विहिवारे रात लाई भाई साथी बोलाएर रमाईलो बनाईरहेकै हुन्छ। मदिरामा लठ्ठ भएर कोठामा नै सांगेतिक माहौल सृजना गर्ने, नाच्ने, गाउँने गर्दा त्यसलाई लाईभ गर्ने गल्ती त्यतिकै गरिरहेको पाईन्छ। माया र प्रेमका नाममा रमाएका जोडिहरुमध्ये कतिपयको यौनजन्य भिडियो पनि उतिकै भाईरल भईरहेका पाईन्छ। स्वतन्त्रताको दुरुपयोग, मायाको व्लाकमेलिंग, सम्बन्ध विग्रेको बेलामा बदला स्वरुप प्रसारण गरिदिने भिडियोहरुले धेरैको चरित्र र कतिपयको जीन्दगीमा कहिले नपखालिने दाग लगाई रहेको पाईन्छ। कुनै न कुनै विहिवारे रातले मानिसहरुलाई प्रताडाना र हिंसाको शिकार बनाईरहेको छ।

समुहमा रमाईलो गर्नेहरुले खास गरेर आवासिय क्षेत्र र शहर भन्दा टाढा का स्थानहरु लाई आजभोली रोज्न थालेका छन। मजरा अर्थात कृषी क्षेत्रमा रहेका आवासहरु हिजोआज विहिवार र शुक्रवार व्यपारिक प्रयोजनका लागि प्रयोग हुन थालेका छन। जहाँ रातभरी खसी काट्ने र रक्सी पिउने, रमाईलो गर्ने, स्वीमींग खेल्ने, साँस्कृतिक रमझम गर्ने, दोहरी खेल्ने गरिन्छ। सानो सानो झुण्डमा हुने गरेका यस्ता भ्रमणहरु अलिक व्यवस्थित हुने गरेका छन। मनमिल्नेहरु बीचमा मात्र यस्तो योजना हुने हुदा त्यसमा खासै समस्या देखिएको पाईन्दैन । साताभरीको काम बाट मुक्त भएर गरिने विशुद्ध रमाईलो बास्तबमै गलत छैनन। एक दिन वेग्लै प्रकारको माहौलमा उनीहरु रमाउन खोज्नु नराम्रो कुरा होईन।

जब शुक्रवार हुन्छ त्यो दिन नेपाली समाजका अगुवाहरुलाई कार्यक्रम भ्याउन धावा धावा पर्दछ। दर्जनौको संख्यामा खोलिएका संघ संस्थाहरुमा मिटिंग बैठक, अधिवेशन, साँस्कृतिक कार्यक्रम, गोष्ठी, छलफल र खानपानका कार्यक्रम भईरहेका हुन्छन। पहिले भने जस्तै सिमित अनुहारहरुले नै सवैतिर भ्याउनु पर्ने भएकाले उनीहरु शुक्रवारे साईत कता जुराउने भनेर अप्ठयारामा पनि पर्दछन। रमाईलो गर्न मात्र होईन समस्यामा परेकाहरुलाई दान चन्दाहरु माग्ने र दिने पनि उनीहरु नै हुन्छन। कमसेकम दुई तिहाई संख्या यी सव गतिविधी भन्दा पर हुने भएकाले ती देशमा नेपालीहरुको जनसंख्या जतिसुकै ठुलो भए पनि समाजमा, गतिविधीमा, दान र चन्दाहरुमा, मनोरन्जन र खेलकुदहरुमा सिमित संख्याको धपेडी देखिन्छ। केही जातिय संस्थाका कार्यक्रममा मात्र जाने बाहेक अन्य सवै जसो कार्यक्रमा उहि अनुहारहरुले प्रवासको गतिविधी र चहलपहल धानी रहेको पाईन्छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...