तितोपाटी-आधुनकि ओमानका जन्मदाता सुल्तान काबुसको ७९ वर्षको उमेरमा निधन भएको छ। आधुनिक अरब राष्ट्रका शासकमध्ये सुल्तान काबुस लामो समय शासन गर्ने शासकमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९७० मा उनले बेलायती सहयोगमा रक्तपातविहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका थिए। त्यसबेला देखि हालसम्म झण्डै ५० वर्ष सुल्तान काबुसले ओमानमा शासन गरेका सुल्तानको गत शुक्रबार निधन भएको थियो।
उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइ रहेका थिए। क्यान्सरकै कारण शुक्रबार उनको निधन भएको अनुमान गरिए पनि आधिकारिक रूपमा भने यसको पुष्टि भएको छैन। गत महिना सुल्तान कबुसले स्वास्थ्योपचारका लागि एक साता बेल्जियममा बिताएका थिए। उनलाई क्यान्सर भएको विवरण त्यसै बेला प्रकाशित गरिएको थियो।
सुल्तान काबुस निरंकुश थिए। निरंकुश भए पनि उनी ओमानमा लोकप्रिय नेता थिए। उनी अविवाहित थिए र कसैलाई पनि उनले उत्तराधिकारी नतोकेको अधिकारीहरुले बताएका छन्। सुल्तान काबुसले कसैलाई पनि उत्तराधिकारी नतोकेपछि पारिवारिक बैठकबाट उनकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रूपमा छनौट गरिएको छ।
संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथामलाई नियुक्त गर्ने निर्णय भएको सरकारी अधिकारीले शनिबार जनाएका छन्। ‘हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रूपमा शपथ ग्रहण गराइएको छ,’ सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
ओमानको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था भएकाले शनिबार नै नयाँ शासक नियुक्त गरिएको शाही स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। अधिकांश विश्लेषकले कबुसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रूपमा हेरेका थिए। सन् २०१९ मा उनलाई उपप्रधानमन्त्री तथा अन्तर्राष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उनलाई भावी सुल्तानका रूपमा हेरिएको थियो।
ओमानमा सुल्तानलाई सर्वेसर्वा मानिन्छ। उनी आफैं ओमानको प्रधानमन्त्री सशस्त्र फौजको सर्वोच्च कमान्डर, रक्षामन्त्री, अर्थमन्त्री र विदेश मामिलामन्त्रीको जिम्मेवारीमा रहने गर्छन्। सुल्तानको निधनपछि ओमानले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिसकेको छ।
सुल्तान कबुसले ओमानमा लगभग पाँच दशक शासन गरे। ओमानमा अहिले ४६ लाख मानिस बस्छन्। तीमध्ये ४३ प्रतिशत विदेशी छन्। २९ वर्षको उमेरमा उनले आफ्ना पिता सइद बिन तैमुरलाई सत्ताबाट हटाएका थिए।
उनका पिता सइद अतिरूढिवादी शासक थिए। उनले रेडियो सुन्न र सनग्लास लाउन पनि प्रतिबन्ध लगाएका थिए। कसले बिहे गर्न, पढ्न र देशबाहिर जान पाउँछ त्यसको निर्णय उनी आफैं गर्थे। यो सबै देखेका कबुसले आफ्नै पितालाई सत्ताबाट हटाए र आफू शासक बने। आफू सुल्तान बनेपछि उनले आधुनिक सरकार बनाउने र तेल बेचेर हुने आयबाट देशको विकास गर्ने घोषणा गरे।
कबुसले शासन हातमा लिएको बेला ओमानमा मात्र १० किलोमिटर पक्की बाटो थियो भने देशमा जम्मा तीनवटा विद्यालय थिए। बेलायती सैनिकको सहयोगमा उनले देशको उत्तरी भेगमा तत्कालीन ‘माक्र्ससिस्ट पिपल्स डेमोक्र्याटिक रिपब्लिक अफ यमन’को समर्थनमा आदिवासीले गरेको विद्रोह दमन गरेका थिए। उनलाई चामत्कारिक र दूरदर्शी नेताका रूपमा लिइन्थ्यो। उनले तटस्थ विदेशनीति अवलम्बन गरेका थिए। सन् २०१३ मा अमेरिका र इरानबीच भएको गोप्य वार्ताको मध्यस्थता उनले गरेका थिए। सो वार्ताको दुई वर्षपछि दुई पक्षबीच परमाणु सम्झौता भएको थियो।
-नागरिकन्यूजबाट