Wednesday 17th June 2026

ठेक्का हत्याउन कीर्ते कागज


तितोपाटी -बागमती नदीको ढुंगा, गिटी र बालुवालाई हत्याउन खोज्ने एक व्यावसायी प्रहरीको नियन्त्रणमा पुगेका छन्। बैंकको नक्कली कागजात तयार पारी नगरपालिकामा पेश गरेर ठेक्काको सम्झौता गर्न खोज्ने व्यावसायी अन्ततः प्रहरीको नियन्त्रणमा परेका हुन्।रौतहटको गढीमाई नगरपालिकाले ठेक्कामा लगाउन खोजेको बागमती नदीको ढुंगा, गिटी र बालुवाको ठेक्का सकार गरेको तर नपामा रकम जम्मा गर्न आनाकानी गर्ने भाग्यमानी कन्स्ट्रक्सन प्रालि काठमाडौँका संचालक रामानन्द साह पक्राउ परेका हुन्। गौर नपा ३ स्थायी घर भएका साहलाई इलाका प्रहरी कार्यालय गरुडाले राष्ट्रिय वाणिज्य बैंक गौर शाखाको एक करोड साठी लाख रुपैयाको कीर्ते बैंक ग्यारेन्टी पेश गरेको अभियोगमा पक्राउ परेका हुन्।

गत २१ मा बागमती नदीको विभिन्न ठाउँको ढुंगा, गिटी तथा बालुवाको ठेक्का ५ करोड तीन लाख रुपैयामा भाग्यमानीले सकार गरेको थियो। ठेक्का सकार गरेको भए पनि नपासित सम्झौता नै नगरी असोज १ देखि ढुंगा, गिटी र बालुवाको उत्खनन सुरु गरेको र अरुले उठाएर ल्याएको भए पनि कर असुल्न सुरु गरेको थियो। सम्झौता नगरी नदीजन्य पदार्थ संकलन नगर्न र कर नअसुल्न नगरपालिकाले ताकेता गरे पनि नपाकै केही जनप्रतिनिधि र केही कर्मचारीको मिलोमतोमा नदीको दोहन गर्दै आएको भाग्यमानीलाई कारबाही गर्न कार्यालय प्रमुख सुभास ठाकुरले अग्रसरता लिएपछि ठेक्का सकार गर्ने कम्पनी भाग्यमानी कन्स्ट्रक्सनलाई अप्ठ्यारो परेको थियो।

यसै क्रममा नगरपालिका कार्यालयले तत्काल सम्झौता नगरे कानुनी प्रक्रिया अपनाउन बाध्य हुने चेतावनी दिएपछि एक करोड ६० बैंक ग्यारेन्टी भाग्यमानीले पेश गरेको थियो। भाग्यमानीले पेश गरेको कागजपत्रमा शंका लागेर नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले बैंकमा सम्पर्क गर्दा भाग्यमानीले बिगतको हप्तामा कुनै बैंक ग्यारेन्टीको कागजपत्र नबनाएको जानकारी गराएको थियो।

रावा बैंक गौरका शाखा प्रबन्धक सुमितकुमार ठाकुरले बैंक ग्यारेन्टी कीर्ते भएको जानकारी दिएपछि नपाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडालाई पत्राचार गरेको थियो। सम्पूर्ण कागजपत्रको अध्ययन गरेर इलाका प्रहरी कार्यालय गरुडाले भाग्यमानीका संचालक साहलाई गौर ३ स्थित घरबाटै पक्राउ गरेको छ। पक्राउ गरिएका साहबाट केही बैंकको कागजात, बैंक ग्यारेन्टी बनाउने फर्मेटहरु, नपाको ठेक्का सकार गर्दा प्रयोग गरेको सिमसहितको मोबाइल र अन्य केही कागजात बरामद भएको र मुलुकी अपराध संहिता लिखत सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप लिइएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि ज्ञानकुमार महतोले जानकारी गराएका छन्।यसैबीच नगरपालिकाको बैठकले भाग्यमानीसितको ठेक्का रद्द गरेको छ। ठेक्का रद्द गरेपछि शनिवारदेखि कर्मचारी राखेर नगरपालिकाले अमानतमा बागमती नदीको ढुंगा, गिटी र बालुवाको कर संकलन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत सुभास ठाकुरले बताएका छन्।

नगरपालिकाको कामप्रति स्थानीयबासी भने आक्रोशित बनेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गढीमाई नगर अध्यक्ष रामपुकार राय यादवले नगर कर्मचारी र जनप्रतिनिधिले मिलेर लाखौँको हिनामिना गरेको आरोप लगाएका छन्। असोज १ देखि पुसको १५ सम्म भाग्यमानीले खोला उत्खनन गरेको र त्यसबाट असुलेको रकमको बारेमा तत्काल नगरपालिकाले सर्वसाधारणलाई जानकारी दिनुपर्ने नगर अध्यक्ष यादवको भनाइ छ। नगर अध्यक्ष यादवले नगरपालिकाको भ्रष्ट्राचारमा संलग्न सबैमाथि छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसित माग गरेका छन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...