Thursday 26th February 2026

रोजगारीमा ज्यान गुमाउने महिला भन्दा पुरुषको संख्या बढी


तितोपाटी-चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २ सय ५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८ महिला र २ सय ४३ पुरुष छन् ।

गत साउनमा २ महिलासहित ५८ पुरुष, भदौमा २ महिलासहित ५८ पुरुष, अशोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।प्रथम चौमासिकमा बोर्डले प्रतिमृतक ७ लाख रुपैयाँका दरले २ सय ५१ मृतकका हकवालालाई करिब १७ करोड ५७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भएमा निजको नजिकको हकवालालाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।बोर्डले प्रथम चौमासिकमा अंगभंग तथा बिरामी भएका १ सय १९ कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ ले करार अवधिभित्रै तथा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले अंगभंग भएमा वा गम्भीर बिरामी भएमा बिरामीको प्रकृतिअनुसार अधिकतम ७ लाख रुपैयाँ सम्म आर्थिक सहायता उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।

सोही अवधिमा ८ कामदारका परिवारलाई औषधोपचार सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारको परिवारलाई सामान्य रोग लागेमा १५ हजार रुपैयाँ, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र गम्भीर प्रकारको रोग लागेमा ५० हजार रुपैयाँ सहायता दिँदै आएको छ ।पहिलो चौमासिकमा २ सय ५० मृतक कामदारको शव निःशुल्क ढुवानी गरिएको छ । सरकारले मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी घरठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।

सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरेर विदेशमा रहँदा वा स्वदेश फर्केको एक वर्षको अवधिभित्र श्रम स्वीकृति लिएका कामदारको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । त्यसअघि श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य मुलुकमा मृत्यु भएमात्र निजको परिवारलाई आर्थिक सहायता प्रदान गरिँदै आएको थियो ।

वैदेशिक रोजगारीमा रहेका कामदारले विविध कारणबाट अनाहकमै ज्यान गुमाउने गरेका छन् । मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ ।

१० वर्षको अवधिमा कार्डियाक एरेष्टबाट १ हजार ३ सय ९, प्राकृतिक मृत्युबाट १ हजार ६ सय १७, हृदयाघातबाट ६ सय ३, कार्यस्थलमा दुर्घटनाबाट ६ सय ४४, आत्महत्याबाट ८ सय ९२ र सडक दुर्घटनाबाट १ हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण १० वर्षका अवधिमा ७ हजार ५ सय बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।
-रातोपाटी


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...