Monday 12th May 2025

बोलिभियामा राजनीतिक हलचल, सुरक्षा फाैजसँगको झडपमा ८ जनाको मृत्यु


तितोपाटी – दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र पद त्याग गरेको राष्ट्रपति इभो मोरालेस समर्थकबीच भएको झडपमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। झडपमा परी कम्तीमा एक सय ३२ जना घाइते भएको र त्यसमध्ये केहीको अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेमध्ये अधिकांशलाई सुरक्षा फौजले चलाएको गोली लागेको बताइएको छ। यतिखेर सुरक्षा फाैजले ब्यापक मात्रामा बल प्रयोग गरेकोले अप्रिय घटनाहरू बढेको बताइएको छ ।

गत अक्टोबर २० मा भएको निर्वाचनबाट राष्ट्रपति इभो मोरालेस झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएको भए पनि धाँधली गरेर उनले चुनाव जितेको भन्दै विपक्षीहरुले चुनावी परिणाम अस्वीकार गरेका थिए। मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए। विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गरेका थिए तर प्रदर्शनकारीहरु राष्ट्रपतिको यस्तो आग्रह सुन्ने अवस्थामा थिएनन्, बरु मुलुकको सशस्त्र फौज र प्रहरी दुबैले राष्ट्रपतिलाई राजीनामा गर्न सुझाएका थिए।

आफूलाई समर्थन नगर्ने सेनाको घोषणापछि वामपन्थी राजनीतिज्ञसमेत रहेका मोरालेसले राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै नोभेम्बर १० का दिन राष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। लामो समयदेखि सत्तामा रहेका मोरालेसका मन्त्री एवं वरिष्ठ अधिकारीहरुले पनि एकाएक राजीनामा दिएपछि उनी थप संकटमा परेका थिए। मोरालेसको राजीनामा आएसँगै अक्टोबरमा सम्पन्न भएको निर्वाचनमा पराजित पूर्वराष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको प्रतिक्रिया दिएका थिए।

उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न मोरालेसको राजीनामाले मद्दत गर्ने विश्वाससमेत व्यक्त गरेका थिए। मोरालेसको राजीनामापछि मुलुकको राष्ट्रपति को हुने भन्ने अन्यौलकैबीच कम्तीमा २० जना सांसद र वरिष्ठ सरकारी अधिकारीले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका थिए। मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन तयार रहेको घोषणा गरेपछि उनी मेक्सिकोतर्फ गएका छन्। मेक्सिको पुगेपछि आफूलाई सेनाले पद त्याग गर्न दबाब दिएको बताएसँगै राजधानी ला पाजमा मोरालेसको समर्थनमा विशाल जुलुस निकालिएको थियो। मोरालेसका समर्थकहरुले गत मंगलबारदेखि बोलिभियाका विभिन्न क्षेत्रहरुमा प्रदर्शन गर्दै आएका छन्।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

प्रतिकृयाहरू
...