Friday 27th February 2026

वैदेशिक रोजगारीमा बेथिति :कुवेत भन्दा पोर्चुगल राम्रो भन्दै श्रमिकबाट ३ अर्ब ठगी


तितोपाटी- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्।

सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग गरे।

कुवेतमा कमाएर आएको रकम भएकाले प्रमिलाले ६ लाख तिरेर पोर्चुगल जाने सोच बनाइन्। गत वर्षको असोज ४ गते प्रमिलाले ती एजेन्टलाई ४ लाख रकम बुझाइन्। बाँकी रकम भिसा प्रोसेसिङ भइसकेपछि दिने सर्त थियो। प्रमिलाले पैसा त बुझाइन् तर उनको पोर्चुगलको भिसा नै आएन। प्रमिला सुनाउँछिन्, ‘मैले ४ लाख बुझाएँ। त्यसपछि एजेन्ट सम्पर्कविहीन भयो। कुवेतभन्दा धेरै कमाई हुने देशमा जान भनेर बुझाएको रकम बेकार भयो।’ प्रमिलाले ४ लाख बिगो मागदाबी गर्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएकी छन्।

तिवारीलाई जस्तै दैनिक ठूलो संख्यामा विभिन्न म्यानपावर कम्पनीहरुको नाम लिएर खडा भएका दलालहरुले कामदारहरुलाई ठग्ने प्रवृत्ति बढ्दै गएको छ। जसकारण सरकारले एजेन्ट खारेज गरिसकेको छ। एजेन्टले जस्तै म्यानपावर कम्पनीले समेत वैदेशिक रोजगारीका नाममा श्रमिकलाई झुक्याएर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ। एउटा देश भनेर अर्को देशमा पठाउने, एउटा काम भनेर अर्को काममा पुर्‍याउने, विदेशमा पुर्‍याएर अलपत्र पार्ने, रकम लिएर विदेश नपठाउने, नक्कली भिसा, टिकट लगायत डकुमेन्ट देखाएर ठगी गर्ने प्रवृत्ति नयाँ भने होइन्।

तर राम्रो काम र कमाइको प्रलोभनमा परी थुप्रै कामदार ठगीमा पर्ने गरेका छन्।

सल्यान जिल्ला कालिमाटी गाउँपालिका-१ का दीपक राना (राहदानी नम्बर (०९४७८९५४) पनि वैदेशिक रोजगारीका नाममा ठगिएका व्यक्ति हुन्। पावर वर्कर म्यानपावरका एजेन्टले उनलाई कुवेतको आल्मुनियम कम्पनीमा काम भएको भन्दै डेढ लाखभन्दा बढी रकम असुली गरे। कुवेत भनेर दीपकलाई कतार पुर्‍याइयो। कतारमा पुगेपछि केही समय एउटा कोठामा बन्दी जस्तै भएर बस्नु पर्‍यो। त्यसपछि २ महिना एउटा कफी सपमा काम पाए। २ महिनापछि उनलाई कम्पनीले आफ्नै देश जान सुझायो। त्यसपछि आफन्तलाई पैसा मगाएर उनी स्वदेश फर्किए।

परदेशबाट रित्तै फर्किएका दीपकले उनलाई पठाउने म्यानपावर विरुद्ध उजुरी दिएका छन्। प्रमिला र दीपकजस्ता दैनिक ५ देखि ७ जना पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेको विभागले जनाएको छ। १४ महिनामा १५ सय भन्दा बढी कामदारबाट ३ अर्ब ठगी
चालु आर्थिक वर्षको दुई महिनामा १५ सयभन्दा बढी श्रमिकबाट ३ अर्ब ३ करोड २६ लाख ६६ हजारभन्दा बढी रकम ठगी भएको भन्दै बिगो मागदाबी गरिएको छ।

संस्थागत, व्यक्तिगत तथा अदालतमा दाबी गरिएको बिगो रकम अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षका २ महिनामा श्रमिकहरूबाट ३ अर्बभन्दा बढी रकम ठगी भएको देखिएको हो। वैदेशिक रोजगार विभागमा उजुरी दिनेमध्ये एजेन्टबाट ठगिएका ८ सयभन्दा बढी श्रमिकहरू छन्। त्यस्तै म्यानपावर कम्पनीमार्फत ठगिएका ३ सय १३ जना श्रमिक छन्। अदालतमा ३ सय २३ जना पीडितहरुले मुद्दा हालेका छन्।

म्यानपावर विरुद्धको उजुरी विभागले आफैँ मिलाउँदै आएको छ भने एजेन्टमार्फत ठगिएर विभागले तालमेल गर्न नसकेका उजुरी अदालतसम्म जाने गरेका छन्। वैदेशिक रोजगारीका नाममा ठगिएका पीडितले क्षतिपूर्ति पाउनका लागि लामो समय विभाग धाउनुपर्ने समस्या रहेको बताएका छन्। अझ अदालतमा पुगेका वैदेशिक रोजगारीका मुद्दा फैसला हुन वषौं समय लाग्ने तथा झन्झटिलो हुने पीडितहरू बताउँछन्।

भदौमा मात्रै पीडितले पाए २ करोड क्षतिपूर्ति
वैदेशिक रोजगार विभागले भाद्र महिनामा मात्रै वैदेशिक रोजगार पीडितलाई २ करोड १४ लाख नगद क्षेतिपूर्ति बिगो भराएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।

‘विभागले पीडितका पक्षमा रहेर काम गरिरहेको छ। भदौमा मात्रै ८५ लाख बिगो दाबीसहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा पेस गरेको छ,’ महानिर्देशक भुसालले भने। त्यस्तै विभागले कानुन विपरीत काम गर्ने म्यानपावर व्यवसायीबाट १९ लाख ५० हजार जरिवाना असुल गरेको महानिर्देशक भुसालले बताए। पछिल्लो समय वैदेशिक रोजगारीमा मौलाउँदै गएको व्यतिथिलाई रोक्न एजेन्ट खारेज गरी इजाजत प्राप्त संस्थाको अनुगमन कार्यलाई तीव्रता दिइएको बताइएको छ।
साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

अष्ट्रेलियाली सरकारले इजरायल र लेबनानमा रहेका अष्ट्रेलियाली कूटनीतिज्ञहरूका आश्रितहरूलाई मध्यपूर्वका दुई देशहरू छोड्न भनेको छ, यस क्षेत्रमा सुरक्षा अवस्था बिग्रँदै…

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

प्रतिकृयाहरू
...