Friday 20th March 2026

खाडीमा अमेरिकी सैनिकको संख्या अझै बढ्ने


तितोपाटी – मध्यपुर्वमा संयुक्त राज्य अमेरिकाले अमेरिकी सैनिकको संख्या अझै बढाउने भएको छ । साउदी अरबका दुई महत्वपूर्ण तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि साउदी अरबको अनुरोधमा अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउन लागेको हो । साउदीका तेल प्रशोधन केन्द्रमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको छ भने अमेरिकाले खाडी क्षेत्रमा सैनिक संख्या बढाउने निर्णय गरे सँगै अमेरिकाले इरान माथि आक्रमण गर्ने तयारी गरेको त होइन भन्ने शंका उब्जिएको छ ।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो । अमेरिकाले साउदी अरबका तेल प्रशोधनस्थलमा इरानले ड्रोनमार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ । यद्यपि ती तेल प्रशोधनस्थलमा आफूहरुले आक्रमण गरेको दाबी यमनमा संघर्षरत हुथी विद्रोही समूहले गर्दै आएको छ ।

यसैबीच, ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । अमेरिकी अर्थ विभागले साउदी अरबका तेल प्रशोधनस्थलमा गरिएका आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । अमेरिकाले इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभएको बताए पनि इरानको केन्द्रीय बैंकमाथि प्रतिबन्ध लाग्नु नै सबैभन्दा ठूलो कारबाही भएको जानकारहरु बताउँछन् ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्य अमेरिका र यसका गठबन्धनविरुद्ध केन्द्रित भएको बताएका छन् । उनले साउदी अरब र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिएका छन् । रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रूपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताए ।

अमेरिकी संयुक्त सैन्य प्रमुख जनरल जोसेफ डनफर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । पत्रकार सम्मेलनमार्फत् रक्षामन्त्री एस्पर र संयुक्त सैन्य प्रमुख डनफर्डले खाडी क्षेत्रमा अमेरिकी सैनिक थप गर्न लागेको जानकारी दिएका हुन् ।

कतिपयले राष्ट्रपति ट्रम्पले इरानविरुद्ध युद्ध नै सुरु गर्ने अनुमान गरे पनि अमेरिकी नीति एकाएक फेरिएको छ ।गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरानविरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा सो आदेश फिर्ता लिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रूपमा अलग हुँदै इरानविरुद्ध कडा प्रतिबन्ध घोषणा गरेदेखि नै वासिङ्टन र तेहरानबीच तनाव जारी रहेको छ ।

-नागरिकन्यूजबाट

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...