Sunday 26th July 2026

कुवेतमा अलपत्र २१ जना भोकभोकै पर्ने अवस्थामा


तोयानाथ उपेक्षित – विगत ६ महिना देखि तलब नपाएपछि गत १ महिना अघिबाट कामै छाडेर तलब माग गर्दै बसेका २१ जना नेपाली युवाहरु भोक भोकै बस्नु पर्ने कठिन अवस्थामा पुगेका छन । कुवेत स्थित एक फुड कम्पनीमा कार्यरत उनीहरु कुवेत स्थित मंगाफको व्लक नं १ मा रहेका छन ।

उनीहरु लामो समय देखि आवासिय भिषा समेत रिन्युवल नभएका कारण ईलिगल स्टाटसमा रहेका छन । यस्तो अवस्थामा प्रहरी कारबाहीमा कुनै पनि समय पर्न सक्ने सम्भवाना रहन्छ ।

कप्पनीले आवास छाड्न दवाव दिएको अवस्था एकातिर छ भने उनीहरुले न्यायका लागि सम्बन्धित न्यायीक निकायमा दिएको उजुरीको किनारा लाग्न कति समय लाग्ने हो कुनै ठेगान छैन । उदयपुर वेलका नगरपालिका ७ बस्ने उत्तर कुमार राई आफूहरु सँगै २ जना फिलिपिन्सका कामदार पनि रहेको बताउछन । उनी भन्छन ६ महिना पहिले पनि हामीले न्यायका लागि दूतावासमा उजुरी गरर्यौ र दूतावासको पहलमा रोकिएको तलब पायौ त्यसपछि फेरी तलब दिन बन्द भयो । कुनै प्रयास काम लागेन र काम नै छाडन बाध्य भयौ ।

शुरुका दुई महिना मात्र तलब समयमा पाए पनि त्यसयता केही महिना विराएर पाउने गरेको उनीहरुको भनाई छ । तर पछिल्लो पटक विगत ६ महिना देखि तलब नपाउँदा बाध्य भएर काम छाड्न परेको पीडितहरू बताउँछन । उनीहरु २२ महिना पहिले सन २०१७ को डिसेम्बर महिनामा कुवेत आएका थिए ।

बर्दिया बासघारी गाउँपालिका वडा नं ८ बस्ने अर्का पिडित कामदार टेक जंग शाह भन्छन हाम्रा अरु केही माग छैनन चाडो उद्धार होस, घर जान पाउँ । उनी भन्छन अव त भोक भोकै बस्न पर्ने स्थिती छ । खल्तीमा पैसा छैन, उदारो खाने पसलले पनि बाँकी दिन बन्द गरिसकेको छ ।

काठमाण्डौ बसुन्धारा स्थित ग्लोबल राईजिङ रिप्लेसमेन्ट सर्भिसबाट आएका उनीहरुले सो एजेन्सीका मालिक महेस बस्नेतसँग सम्पर्क गरिरहेको पनि बताए । रेस्पोन्स त ठिकै छ तर हामी विना खाना कसरी बस्ने ? तत्कालको आवस्यकता खाद्यान्न भईसकयो उनीहरु भन्छन । उक्त एजेन्सीले एक लाख भन्दा धेरै सवै जसोसँग पैसा लिएको उनीहरु बताउँछन । तलब भने उनीहरुको १२५ तोकिएको रहेछ ।

पीडितहरुको टोलीलाई एनआएन कुवेतले भेटी उनीहरुको न्यायको लागि नेपाली राजदूतावास कुवेत समक्ष सहजीकरण भुमिका निभाउदै आएको छ । हिजो नेपाली दूतावास कुवेतमा पीडितलाई छिटो कसरी उद्धार गर्न सकिन्छ भनी छलफल भएको थियो । मुद्धा न्यायीक निकायसम्म पुगेकोले केही जटिल भएको अध्यक्ष सुजन केसीको भनाई थियो । उनीहरुको खानपिनको व्यवस्था कसले र कसरी गर्ने ? कम्पनीले आवासबाट बाहिर  निकालेको अवस्थामा के गर्ने ? आदि ईत्यादि विषयमा एनआरएनले राजदूतावाससँग छलफल गरेको बताईन्छ । दूतावासको पहल नै मुख्य र अन्तिम हुने भएकाले हामीले कसरी सहयोग गर्न सक्छौ छलफलमा छौं केसीको भनाई थियो ।

यसैगरी नेपाली दूतावास कुवेतको हटलाईन फोनमा कुरा गर्दै द्वित्तीय सचिब जानकी ओझाले पीडितलाई के कसरी उद्धार गर्न सकिन्छ भनेर हामीले कम्पनी र कामदार विचमा त्यसैगरी उनीहरुलाई कुवेत पठाउने एजेन्सीको विचमा नेगोसिएसनको प्रयास गरिरहेका छौँ उहाँको भनाई छ ।

न्यायीक निकायमा मुद्धा चलिसकेको अवस्थामा यसलाई टुंगो लगाएर फिर्ता पठाउने काममा दूतावासको पहल भईरहेको भए पनि यसलाई छिटो गरियोस भन्ने माग पीडितहरुको छ । यसैगरी तत्काल खानका लागि कसले व्यवस्था गर्ने भन्ने सवाल खडा भएको देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...