Monday 29th April 2024

प्रवासबाट प्रेयसीलाई प्रेम पत्र – जय नारायण माझी थारू


अविरल मायाको साैगातहरू प्रेयसी तिमीलाई !                                                                                                                                                                                                             अटुट सम्झनाका लहरहरू प्रेयसी तिमीलाई !

प्रेयसी,

तिम्रो सम्झनामा केहि कोर्न मन लाग्यो । तिमी आफ्नो मन र आत्मालाई साक्षी राखेर एकपटक सोध आफुलाई अनि आत्मा र मनले जे उत्तर दिन्छ, त्यही उत्तर मलाई देउ । यदि तिमीलाई म प्रति कुनै शंका, अविश्वास र सन्देहको कुनै छाँया छ भने भित्री मनबाट निकालेर फालीदेउ । भगवानलाई साक्षी राखेर आफ्नो मुटुको कुनै छेउकुना भित्री मनको आँखाबाट नियालेर हेर र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ भनेर ? अवश्य जवाफ पाउने छौ पृय । आज नेपाल छोडेर खाडीको मरुभुमिमा सबै समस्याको समाधान र उज्जवल भविष्यको लागि दिनरात मेहनत गर्दैछु। के यो ठाउँमा दुःख छैन होला त? के यहाँ सुख मात्र छ त ? दुःख पक्कै पनि छ हो जुन पीडा तिमीलाई परेको छ,  त्यही पीडा मलाई पनि छ । पीडा सहेर पनि हाम्रो एउटा सुन्दर भविष्य निर्माण गर्नको लागि मात्र मैले तिमीलाई एक्लै छोडेर यस्तो बिरानो ठाउँमा मेहनत गर्न आएको हु । म तिमीलाई बुझ्दछु, तिम्रो पीडा भनेको नै मेरो पीडा हो । यहि कुराले हरपल यो मन रुन्छ तिम्रो सम्झनामा । हामीले बिताएको हरेक पलहरु मेरो आँखा अगाडी नै घुमिरहेको हुन्छ,जब म आँखा चिम्म गर्छु तिम्रो मात्र तस्विर झलझलती आउँछ । म जहाँ भएपनि, जहाँ गएपनि त्यहि तिम्रो मायाको साहारामा बाँचेको छु । म फर्की आउने आश लिएर बस , मेरो पुरा जिबन तिम्रो नाममा समर्पित गरेको छु।

सम्झ त एकछिन, तिमी मेरो बन्न सकिनौ भने मेरो माया कति निसासिन्छ ? मेरो जिन्दगी कति निरास बन्न पुग्छ होला तिम्रो मनले जे देख्छ, जे बोल्छ, जे सोच्छ त्यही भावना देउ मलाई । म तिमीलाई कहिले भेट्न पाउँ भनि दिनहरु गन्दै बसेको छु । यो चिट्ठिी देख्नासाथ तिमीलाई अनौठो पक्कै पनि लाग्छ होला तर यसलाई तिमीले अटुट माया सम्झेर हृदय भरी मुटु भरी राख्ने छौ, अनि मलाई जिबनभरि साथ दिने बाचा गर्ने छौ, या त मेरो माया लाई यतिकै पनि छोड्ने छौ ।

प्रेममा कहिल्यै ननिभ्ने आगलागीमा परेर म निरन्तर जलिरहेछु । कहिले उम्किनै नसकिने मायाको जालो बीचमा ओझेलिएको छु । तिमीले जीवनमा दिएको माया र प्रीतिको कोसेली बारेमा जति लेखे पनि म आज अनभिज्ञ हुँदैछु पृय । तिमीले मेरो मुटुको धड्कनमै स्पर्श गरेझै लाग्छ र अन्तराअत्मामा झट्का जस्तो लाग्छ । सायद तिमीले सम्झंदा तिमीलाई पनि यस्तै हुन्छ होला । वास्तविक प्रेममा आनन्द र पीडा दुवै सँगसँगै आउने रहेछन् । कहिले हर्षले खुशी हुन्छु त कहिले दुःखी भएर मुर्झाउँछु ।

तिमीले मेरो जिवनमा बहार बिछ्याइदियौ । स्वर्गीय सपना र कल्पनाको किरण छरिदियौ । अनि माया नै मायाको पुष्पवृष्टि (वर्षा) गरिदियौ । मेरो आत्माको नदी तिर्खाएको थियो अनि तिम्रो नदीसँग मिसिएर समुन्द्रमा अनुवादित गरिदियौ। हे पृया ! समुन्द्रको नुनिलो पानी झै हुँदोरहेछ माया । जति पियो, त्यति प्यास नमर्ने , कहिल्यै तृप्ति नहुने ,कहिले इच्छा अन्त्य नहुने , मायाप्रीति लगाउनका लागि एक पलजस्तो मात्र जस्तो लाग्दथ्यो जिवनमा तर माया असीम, अविराम , अविरल हुदोरहेछ । पृया वास्तविकतामा माया प्रेम एक मीठो अनुभुति हो रहेछ । जिवनमा जो सँग भावनाहरु मिल्छ उसैसँग माया पिरती बस्दोरहेछ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर निस्वार्थ आउने भावना हो रहेछ । माया हृदय र मनको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु तरङ्गित हुन थालेपछि थाहै नभई मायाप्रीति वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त निस्वार्थ भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ ।

साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ तर आज भोलि प्रेम फेसन हुन थालेको छ, जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । आजभोलि प्रेमलाई पैसाको आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो त्यही मिलनबाट नै प्रेमको बिजारोपण भइ मायाको टुसा पलाँउछ । कसैको मन जित्नु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन , साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो।

फुल्दै गरेको गुलाब फुलको बिच राम्रा नराम्रा जस्तो नै भए पनि सैयाैं भंवरा घुम्छन् भने झैं तिमी प्रतिको मेरो प्रेमको भावनाका अनेक फुल फुल्ने गरेका छन् । के के सोचे थिए जिन्दगीमा आज के भयो, कठोर मुटुलाई पत्तै चलेन मेरी प्रियसी । तिम्रै ख्याल र सम्झनामा मेरो जिवनको उकाली ओराली भन्ज्याङ चौतारीमा दुःख काटी रहेको छु । हरपल, हरक्षण आँखाबाट पिरो आँसुको धार बगिरहेको हुन्छ।  तिम्रो यादमा बसि हृदयको सबै तत्व खुल्छन र एकान्तमा गई मात्र तिमीलाई सम्झिंदै धुरु धुरु रुन्छु । तिम्रो मधुर सम्झानाले सताउँदा मलाई त चोट नै चोटले भरिएको मेरो मुटु वा हृदय र शरिरको धड्कन नै बन्द भएको जस्तो हुन्छ ।

मेरो मनको पीडा बुझ्ने तिमी मात्र यो दुनियाँमा रहेकी छौ तर पनि किन न बुझेकी ? हरपल मन भित्र पीडा गाँस्न खोज्छौ , मायाको परिभाषा पनि बुझाउन मलाई डर लाग्छ , सायद तिमी म देखी रिसाउछौ होला। आकाश झै फराकिलो र चम्किला तारा झै मुस्कान आफ्नो अनुहार मा मुस्कान राखी राख्नु है ।
हाम्रो माया पिरतीलाई यति निरास हुन दिनु हुन्न ? म तिम्रो जिन्दगीमा मायाको बहार ल्याउन चाहन्छु तर तिमी खाली उजाड मरुभुमि नबनिदेउ है । सादा कागज वनि केही मनको व्याथा र तितो मिठो तृष्णा लेख्न चाहन्छु , तिमी कलम बनि आई दिनु है । जहिले पनि सपनीमा मनकी देवी बनि आई दिनु । ईशवर म देखि टाढा भएपनि सदा एउटा मात्र कामना छ कि मेरो यो जिवनमा खुशीको वर्षा नभए पनि घृणाको वर्षा भईरहोस तर तिम्रो जीवनमा कुनै पीडा नआओस् ।मलाई तिमीसङ्ग सम्झौता होइन माया गर्नु छ । सम्झौता त मैले आफै सङ्ग गरिसकेको छु कि तिम्रो हात कुनै पनि हालतमा छोड्ने छैन भनेर।

गज्जबको छ मेरो जिवनको एक्लोपन न खुशी छु ,न दुःखी छु,न उदास छु, वस खालि भाडो जस्तो रितिएको र निरस छु, चुपचाप छु बस तिम्रो बारेमा सोच्छु बस तिम्रो याद मात्र आउँछ। तिम्रो मात्र सम्झना आउँछ मायाको मिठो सम्झना सहित बिदा हुन चाह्न्छु ।

उहि तिम्रो अभागी………
सात समुन्द्र पारीबाट !!


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...