Sunday 5th May 2024

प्रवासमा को, कहिले समाचार हुन्छ ? के थाहा ?


तोयानाथ उपेक्षित – आज कुरा अलिक फरक प्रसंगमा हुनेछ । पढ्दा सधैका समाचार वा विचार भन्दा केही मनोगढंते कुरा लाग्न सक्ला तर यो वास्तविकता हो।

हिजो हामी सानो छदा र आज हाम्रा गाला चाउरी पार्ने रेखाहरुले चेतावनी दिईरहदा पनि जीवनको मूल्य र कर्तव्य राम्ररी सुझेन । खल्लीबल्लीमा अरब चलेकै छ । दिन वितेकै छन् । जति कमाईएको छ त्यो भन्दा धेरै खती हुँदा पनि हाँसिएकै छ । प्रवास बाध्यता भन्दै सधै यही टाँसिएकै छ ।

बाहिरको उष्णता अनि भित्रको चिस्यानमा जिन्दगी गुन्द्रुक भन्दा खाँदिएको छ । तनाव र तहानाले स्वास्थ्यलाई भित्रभित्रै गलाईसकेको कसले जाँच्ने होला ? यहाँ रहे सम्म यतैको परिवेश र परिकारले जवान जस्तो देखिएको मान्छे नेपाल पुगेको ६ महिनामा हेर्न नहुने हुन्छ । यो कमालको जिन्दगी यहाँ जिउने की नेपालमा ? लेकबाट बेसीमा झरेको चौरी झै जीन्दगी सवै खुईलने कुरा पक्का छ ।
कठैबरा ! बाथरुममा मानिस दिनहु ढल्छन, राती सुतेका मानिस विहान नबिउँझिएर नै विदा हुन्छन । डिउटीमा धपेडिएको युवा हतारीएर बाटो काटन नपाउँदै सडकमा तमासा बनिदिन्छ, माथिल्ला तलबाट कोही तल हाम्फल्छन, कोही विरक्तिएर आफ्नो कोठा र चोटामा लौका झुण्डिए झै झुण्डिन्छन । यो नियती हो प्रवासी जीवनमा हुने आरोह अवरोहका । उनीहरुका भोलीको सपना बास्तवमा यस्ता सपना भईदिन्छन, कुनै कुराको बुझबुझारत समेत हुन सक्दैन ।

अनि दूतावाससँग समाचार माग्ने काम शुरु हुन्छ, कहिले नेपाल पठाईन्छ भनेर जानकारी लिने उत्सुकता देखिन्छ, उसँको लाससँग सेल्फी खिच्ने र सोसिएल मिडियामा पोष्ट गर्ने होड चल्छ । समाज सेवाका अनेक प्रकार मध्ये यी पनि पर्दा हुन् । चन्दा उठाउने कसरत भलो नियतले भए पनि कुभलो काम पनि हुने गर्दछन् । परिवारलाई राहत दिने आश्वसन र सान्तवनामा मित्र, छिमेकी, आफन्त वा साथीको अन्तिम विदाई हुने गर्दछ । यति सम्मकी उसले मलामी हुने अवसर पाउँदैन । यो बाध्यता जतिसुकै अप्रिय भए पनि साँचो हो तर पनि प्रवासको भोगाई वा रुची त्यति सजिलै टुङ्गिदैन। अरुका समाचारहरु लेख्ने, सुन्ने र सुनाउने ब्यक्ति नै कुन दिन आफै अरुको समाचार बन्छ कसले जानेको छ र ? यस अर्थमा प्रवास बाध्यताको थलो पनि हो ।

नयाँ नयाँ सरकारका नयाँ नयाँ रणनीति जसरी बने पनि नेपालमा थप ५० वर्षसम्म वैदेशिक रोजगारी रोकिने छैन । चुनावी नारामा बाँचेका राजनैतिक दल वा कुनै पनि सरकारको विश्वास गर्ने अवस्था छैन । भएको नोकरी गुमाएर पछुताउनेहरुबाट पनि विदेश त्याग्न डराउनेको कमी छैन । जब सम्म नेपाल सवै कुरामा आत्मानिर्भर हुने छैन तव युवाहरुको विदेश पलायन रोकिनेवाला छैन । ती दिनहरु हाम्रा पुस्ताको भाग्यमा छँदा पनि छैन ।

प्रवासमा कमाउने र रमाउनेहरुका धेरै समाचारहरु छन । पैसालाई अति महत्व दिनेहरु पनि धेरै नराम्ररी विग्रेका छन र पैसा नचिन्नेहरु पनि वर्षौै प्रवासमा बसेर शुन्य झै अवस्थामा स्वदेश फर्कनु पर्दा व्युतिएका छन । निराशा, उत्तेजना, आवेश, दुःखेशो, र रीस प्रवासमा कमाउने डरलाग्दा कुरा हुन । जसले परिवारको संरचना भावनात्मक रुपमा खोक्रो र कमजोर भएको हुन्छ । “जहाँ टाढा त्यहाँ काँडा” भने झै सम्बन्धहरुमा समस्याका पहाडहरु बनेको पत्तै हुदैन । सामित्यताको अभावमा हुर्किएका सन्तानले माया गर्दैनन् भन्ने पछि मात्र चाल पाउन थाल्दछन् । उनीहरुको सम्बन्ध स्वार्थमा मात्र सिमित रहेको हुन्छ । यो स्वभाविक हो । उनीहरुसँग जलन र पीडा भन्दा अरु केही हुन्न । देखाउन पनि नमिल्ने, सुनाउन पनि नहुने त्यस्तो घाउ ती प्रवासीहरुको बुढेसकालमा पलाउँछ ।

अविश्वासले बाँचेका दाम्पतीका सन्तानमा कस्तो असर पर्दो हो । कसैले डरले सहने, कसैले बाध्यता ले नबोल्ने, कसैले विद्रोह गर्ने, कसैले अपराधमा उत्रने, कोही विभाजनतिर अग्रसर हुने प्रवासले निम्त्याएका कुराहरु जतिसुकै तितो भए पनि चुपचाप स्वीकार गर्नै पर्ने यर्थाथ हो ।


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...