Thursday 15th May 2025

भारतमा बाढीको कारण १०० भन्दा बढीको मृत्यु


तितोपाटी – भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्।

बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ। केरलामा शनिबारपछि पनि बर्षा जारी रहेकाका कारण जनजीवन थप प्रभावित हुने अनुमानपछि ग्रामीण वस्तीहरुमा सैनिकका विभिन्न समूहलाई उद्धार इकाई बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकप्टरहरुको परिचालन गर्न सरकारले निर्देशन दिएको छ।

‘केरलामा बिहीबारदेखि शनिबारसम्ममा कम्तीमा ४८ व्यक्तिको बाढी र पहिरोमा परी मृत्यु भएको छ। केरलाका पहाडी क्षेत्रमा रहेका रिसोर्ट तथा होटेलमा गर्मी छल्दै मनोरञ्जनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटक पनि बाढीका कारण सडक अवरूद्ध बन्दा बाढी प्रभावित क्षेत्रमा फसेका छन्,’ प्रहरी प्रवक्ता प्रमोदकुमारले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई बताए।

केरलाको छिमेकी कर्नाटक राज्यमा पनि वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्। भारतको पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि वार्षिक मनसुनी आँधीका कारण नराम्रोसँग प्रभावित बनेका छन्। कर्नाटकमा विभिन्न ६ सय राहत केन्द्रमा करिब एक लाख ६१ हजार मानिस पुगेका बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले बर्षा, बाढी र डुवानका कारण ज्यान गुमाएका छन्। यस्तै गुजरातका अहमेदाबाद र नादिआबादमा पनि वर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको जानकारी दिइएको छ। सबैभन्दा बढी प्रभावित केरला राज्यमा करिब एक लाख २० हजार व्यक्ति आपतकालीन राहत केन्द्र (शिविर) मा पुगेको बताइएको छ। ‘केरलाका करिब ८० स्थानमा बर्षापछि आएको बाढीका कारण पहिरो गएको बताइएको छ र त्यहाँ प्रहरी पुग्न सकेको छैन,’ प्रहरी प्रवक्ता प्रमोदकुमारले बताए।

बाढी र पहिरोका कारण धेरै नागरिक प्रभावित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा राहत तथा उद्धारको कमी हुन नदिन सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन्। यस्तै प्रतिपक्षी नेता राहुल गान्धीको निर्वाचन क्षेत्रमा समेत बाढी र पहिरोले जनजीवन प्रभावित बनेपछि सरकारलाई प्रभावित नागरिकको उद्धार तथा राहतका लागि थप सक्रियता देखाउन उनले आग्रह गरेका छन्। प्रहरी प्रवक्ताका अनुसार एक स्थानमा करिब दुई सयजना फसेको सूचनापछि प्रहरीले उनीहरुसँग हेलिकप्टरमार्फत पुग्ने प्रयास गरिरहेको छ। केरलामा गत वर्ष आएको बाढीमा कम्तीमा पाँच सयजनाको मृत्यु भएको थियो।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...