Wednesday 26th August 2026

ओसामा विन लादेनका छोरा हम्जाको हवाइ हमलामा मृत्यु


तितोपाटी – आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन हवाई हमाला मारिएको अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचिमा रहेका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए। अमेरिकी प्रशारण संस्था एनबिसी न्युजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेको भए पनि हम्जाका बारेमा थप विवरण दिन भने उनीहरुले अस्वीकार गरेका छन्।

हम्जा मारिएको बारे अमेरिकी राष्ट्रपतिको कार्यालयमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बताउन चाहेनन्। ‘यस बारेमा म अहिले नै केही टिप्पणी गर्न चाहन्न,’ ट्रम्पलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। सन् २०१९ फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हम्जाको टाउकाको मूल्य १० लाख अमेरिकी डलर तोक्नुअघि नै उनको मृत्यु भइसकेको अनुमान गरिएको छ।

ओसामा बिन लादेनका २० जना छोराछोरीमध्ये हम्जा १५औं सन्तान हुन्। ओसामाकी तेस्रो पत्नीको कोखबाट जन्मेका हम्जा ३० वर्षको हाराहारीका थिए। अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रूपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको थियो । ‘जिहादी राजकुमार’ का रूपमा समेत लिइने हम्जाले बेलाबखत अडियो र भिडियो सन्देशमार्फत अमेरिका र उसका समर्थक मुलुकमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए। खासगरी सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा आफ्ना पिता ओसामा बिन लादेनको हत्यामा संलग्नमाथि कारबाही गर्ने धम्की हम्जाले दिँदै आएको अमेरिकी विदेश मन्त्रालयको दाबी छ।

पाकिस्तानको अबोटाबादमा ओसामाको घरबाट बरामद गरिएका कागजातमा हम्जालाई अल–कायदाको उत्तराधिकारी बनाउन थालेको उल्लेख गरिएका प्रमाण भेटिएका थिए। एक अर्को भिडियोमा हम्जाले अल–कायदाका वरिष्ठ व्यक्तिकी छोरीसँग विवाह गरेको देखिएको थियो। उनीहरु दुवै इरानमा बस्दै आएको विश्वास गरिएको छ तर त्यहाँ घरमै नजरबन्द गरिएको हुन सक्ने अनुमान पनि गरिँदै आएको थियो।

विश्वमा इस्लामिक जिहाद फैलाउने मुख्य पात्रका रूपमा लिइएका हम्जाको हत्या भएको हो भने त्यसले यस आन्दोलनमा ठूलो क्षति पु¥याउने अतिवादी संगठनका विषयमा अध्ययनरत संस्था साइट इन्टेलिजेन्सका कार्यकारी कार्यकारी निर्देशक रिटा काजलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...