Monday 12th January 2026

अविरल वर्षा पछिको बाढी-पहिरोमा परि २२ भन्दा बढीको मृत्यु, हजाराैं विस्थापित


तितोपाटी – नेपालमा बिहिबार साँझ देखि परेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३ जना, काभ्रे, भोजपुर र धादिङमा २/२जना, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभाव परेको छ ।

राजधानी उपत्यकाका अधिकांश ठाउँ, पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिरोले दर्जनौं ठाउँमा यातायात अवरुद्ध भएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएका छन् । काठमाडौंबाट बाहिरिएका र भित्रिने सवारी साधन जाममा फसेका छन् । हजारौं यात्रु बिचल्लीमा परेका छन् । डुबानका कारण तराईका जिल्लामा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।

अविरल पानी परिरहँदा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । नदी र खोलाहरूमा बहाव बढ्दै गइरहेको छ । बाढीपहिरो र डुबानबाट मोरङका ४ सय परिवारका १ हजार जना र बाराका ३५ परिवारका १ सय ७५ जना विस्थापित भई घरबाट अन्यत्र शरण लिन बाध्य भएका छन् । मुलुकभरबाट बाढीपहिरोमा परेका १ सय ५३ जनाको उद्धार गरिएको गृहले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । विभागले वर्षाबाट नदी र खोलाको बहाव निरन्तर बढ्ने र बाढीपहिरोको खतरा भएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको हवाला दिँदै आइतबारसम्म वर्षा जारी रहने भएकाले नदी र खोला छेउका बस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । २४ घण्टामा सबैभन्दा बढी सिमरामा ३११ मिलिमिटर वर्षा भएको छ ।

विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ । उपत्यकामा डुबान भएका क्षेत्रमा डुंगासहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ । तराईमा पनि सेना र सशस्त्र प्रहरीका विशेष टोली खटिएका छन् । पहाडी जिल्लाहरूका लागि पनि उद्धारमा सुरक्षा टोलीहरू राखिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ११५, ओखलढुंगामा १०१, धनकुटामा ७५.५ र भैरहवामा ४३ मिलिमिटर पानी परेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...