Monday 12th January 2026

नेपाली हरियो तरकारी कतार निर्यात


तितोपाटी-नेपालको अर्गानिक हरियो तरकारी कतारमा निर्यात गर्न शुरू गरिएको छ। नेपालको गुणस्तरीय एवं अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमण्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको हो। नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरू पीडित भैरहेको बेला यो समाचार अाउनु अत्यन्त खुशीको कुरा हो । यसको पुष्टि प्रदेश १ को उदयपुर जिल्लास्थित बेलका नगरपालिकाले गरेको छ। अहिले बेलका नगरपालिकामा उत्पादन भएको अर्गानिक तिते करेला खाडी मुलुक कतारमा निर्यात सुरु भएको छ। पहिलो पटक ५० कार्टुन करेला कतार निर्यात भएको थियो भने दोस्रो पटक ९० कार्टुन तिते करेला कतार पठाउने तयारी छ।

एक वर्षदेखि नेपालको अर्गानिक तरकारीलाई कतार पठाइरहेको ब्ल्याक डायमण्ड अर्गानिक प्रालिले यस वर्षदेखि बेलकामा उत्पादन भएको तरकारीलाई पठाउन थालेको छ। प्रालिले नेपाल सरकारको रोहवरमा कतार सरकारसँग अर्गानिक तरकारी निर्यात गर्ने सम्झौता नै गरेको छ। सोहीअनुसार हाल दैनिक ३ टन तरकारी कतार पठाइरहेको प्रालिका निर्देशक नारायण कार्कीले जानकारी दिए। ‘कतार पठाउन थालेको एक वर्ष भयो, माग धेरै छ, नेपालमा उत्पादन कम छ,’उनले भने, ‘विषादीरहित अर्गानिक तरकारी पठाइरहेका छौं, बेलकाबाट हामीले दोस्रो खेप पठाउँदै छौं।’ कम्पनीका प्रतिनिधि विशन विष्टका अनुसार प्रालिले बेलकाको ६ बिघा जग्गामा तरकारी खेती लगाएको छ।

बेलका उदयपुरको पूर्वी भेगको सुनसरीसँग सिमाना जोडिएको नगरपालिका हो। यहाँ अहिले प्रालिले आफैंले अर्गानिक तरकारी उत्पादन गरिरहेको छ। किसानले उत्पादन गरेको तरकारी खरिद गरेर प्रालिले कतार पठाउन बेलका नगरपालिका, कृषि समूह र प्रालिबीचमा त्रिपक्षीय सम्झौता पनि भएको छ। सम्झौताअनुसार बेलका नगरपालिकाको वडा २ र ३ मा कृषि समूहलाई प्रालिले प्रविधि, बीउबिजन, सिँचाइलगायत सबै कुरामा लगानी गरिदिन्छ। किसानले उत्पादन गरेको तरकारी प्रालिले फिक्स(निश्चित) मूल्यमा खरिद गर्ने सम्झौता छ। बजारमा भाउ घटबढ भए पनि किसानलाई कुनै असर नगर्ने गरी सम्झौता गरिएको बेलकाका प्रमुख दुर्गाबहादुर थापाले बताए। ‘हामीले एक वर्षका लागि त्रिपक्षीय सम्झौता गरेका छौं, किसानको उत्पादनको रेट फिक्स तोकेका छौं,’ प्रमुख थापाले भने, ‘प्रालिले प्रविधि दिन्छ। ऋण पनि दिन्छ, तालिम दिलाउँछ र पछि उसको लगानी पनि कटाएर किसानलाई मूल्य दिन्छ।’

प्रमुख थापाका अनुसार यस वर्ष नगरपालिकाले उत्पादन आधार वर्ष मनाएको छ। जसअन्तर्गत किसानहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिने, अर्गानिक उत्पादनमा बढाउने र बजारीकरण गर्न नगरपालिकाले समन्वय गरिरहेको छ। उनका अनुसार ५ सय हेक्टरमा चक्लाबन्दी गरेर मकै उत्पादन गरिएको छ। उक्त मकै पाल्पाको श्रीनगर कम्पनीले खरिद गर्ने सम्झौता भएको प्रमुख थापाले बताए। ‘बालुवा भएको ठाउँलाई माटो बनाउने प्रविधि अपनाएर जनतालाई कृषि उत्पादनमा लाग्न प्रेरित गरेका छौं,’उनले भने, ‘पहिला हरिण, बँदेल मारेर बेच्ने, रक्सी पार्ने र अफिम खेती पनि हुने ठाउँ हो, अहिले त्यहाँ अर्गानिक तरकारीखेती उत्पादन हुँदै छ।

-साभार नागरिक न्युज


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...