Sunday 12th April 2026

विदेशमा फस्नेलाई के ‘सुई हानेर मारिन्छ?’


तितोपाटी – अधिकांश वैदेशिक रोजगारीमा जाने युवाहरू वेरोजगारी र अार्थिक समस्या समाधानार्थ विदेश पस्ने गरेको हामी सबैमा विदित नै छ । यसको मतलब ९० प्रतिशत नेपाली युवाको वैदेशिक रोजगार मोह नभएर बाध्यता भएको सहजै अनुमान लगाउन सकिन्छ । यसरी विदेशमा दुःख गर्न जाने नेपालीहरूको विदेशको श्रमिक जिवन सबैको भने जस्तो हुन्छ भन्ने छैन र भने जस्तो हुँदैन पनि । त्यस्तो अबस्थामा कतिपयले लहैलहैमा लागेर काम गर्न गएको कम्पनी छोडेर गैरकानूनी भइ अाफ्नै किसिमले काम खोजेर कमाउने त कतिपय पुनः वेरोजगार हुने अबस्था पनि अाउँछ । विदेश बसिन्जेल जे जसरी बसे पनि स्वदेश फर्कनु पर्दा सम्बन्धित देशको कानूनी प्रकृया पुरा नगरी स्वदेश फर्किन नपाउने विषयलाइ सामान्य जनमानसमा भ्रम पर्न गइ यदि कोही कसैले गैरकानूनी भइ बसेमा स्वदेश फर्कने समयमा कानूनी प्रकृया पुरा गर्ने क्रममा डिपोर्टेशन सेन्टरमा मन्दविषयुक्त सुइ दिएर  देश निकाला गरिन्छ भन्ने अफवाह फैलिन गएकोमा यस विषयमा अाजको अन्नपुर्ण पोष्टमा अखण्ड भण्डारीले वैदेशिक रोजगारीबाट फर्केका युवासँग गरेको संवादात्मक समाचारले स्प्ट पार्ने देखेर उक्त समाचारलाइ सबै पाठक वर्गको जानकारीको लागि जस्ताको तस्तै सम्प्रेषण गरेका छाैं ।

ढुक्क हनुहोस्, दुबईले मान्छे मार्दैन। बरु बचाउन चाहन्छ। ती युवालाई पनि बाँचून् भनेरै घर पठाइदिएको हो।हाम्रो न्युज रुममा केही दिनअघि एक अपरिचित युवा देखिए। कसैलाई खोजेजसरी उनी चारैतिर व्यग्र आँखा डुलाइरहेका थिए। अनौठो तालले अलमलिएको देखेर मैले सोधें, ‘कसलाई खोज्नुभएको ?’‘तपाईं यहींको हो ?’ उनले उल्टै सोधे। ‘हो’, मैले भनें, ‘के थियो होला ?’ ‘एउटा कुरा बुझ्नु थियो’, अकमकाउँदै उनले भने, ‘तपाईंहरूलाई थाहा हुन्छ कि भनेर आएको ?’‘के थियो त्यस्तो ?’ मैले जिज्ञासा राखें।
संखुवासभाका उनले आफ्नो कथा कहे– ‘म वैदेशिक रोजगारका लागि दुबई गएँ। त्यहाँ भनेजस्तो काम भएन। भनेजति तलब पनि दिएनन्। त्यो पनि बेलामा नदिने। एक प्रकारले बिजोगै भयो। चिनेका नेपाली साथीभाइसँग सल्लाह गरें। तिनले कम्पनी छाडेर भाग्, बाहिर राम्रो काम पाइन्छ भनेर उकासे। मैले त्यसै गरें। रातारात निस्किएँ।

तर, काम पाइएन। भौंतारिएँ। अहँ, कहीं पाइएन। बरु त्यही रनाहामा पुलिसले समात्यो। कागजपत्र माग्यो। मसँग केही थिएन। दिन सकिनँ। लगेर थुन्यो। हिरासतमा धेरैपटक बयान लियो। अस्पताल लग्यो। सुई लगायो।’
भन्दाभन्दै उनको गला अवरुद्ध भयो। ‘अनि के भयो ?’ मैले सोधें। ‘र, एक महिनापछि एयरपोर्ट ल्याएर नेपालको जहाज चढाइदियो’, उनले भने, ‘जब म यहाँ आएँ, धेरैले भने, यसरी थुनेकालाई स्लो पोइजनको सुई लगाएर पठाइदिन्छ रे। त्यस्तै सुई लगाएर आएको अर्का व्यक्तिको ६ महिनामै मृत्यु भएछ।’ बोल्दाबोल्दै उनी रोकिए। ‘के मलाई पनि त्यस्तै सुई लगाइदिए होलान् त ?’ गलेको नजरले उनले मतिर नियाले।

पालो आयो मेरो–

‘तपाईंको अपराध पासपोर्ट÷भिसाबिना त्यो देशको भूमिमा हिँड्नुभयो। कुनै पनि देशमा त्यसो गर्न पाइँदैन। नेपालमा त्यसरी भेटिएका विदेशीलाई पनि पक्रिएर फिर्ता नै पठाउँछन्। तर, कुनै पनि देशमा बिनाइजाजत छिरेका वा पासपोर्ट÷भिसा साथमा नभएका विदेशीलाई सुई हानेर मार्ने कानुन छैन। चलन पनि छैन। तपाईंलाई जसले भन्यो, झूठो कुरा भन्यो।’ ‘मलाई सुई किन हान्यो त ?’ उनले सोधे, ‘जब त्यो सुई हान्यो त्यसपछि धेरै समय मैले केही थाहा पाइनँ। के बोलें पनि होस छैन। कतै मलाई बेहोस बनाएर बलात्कार÷हत्याजस्ता अपराध गरेको त बकाएनन् ।

मैले भनें– तपाईं बिरामी भएर सुई दिएको पनि हुन सक्छ। वा बयानमा नढाँटोस् भनेर खास कुरा पत्ता लगाउन चाहेको पनि हुन सक्छ। तपार्इंसँग डकुमेन्ट मात्र नभएको हो कि अरू कुनै अपराध गरेर फरार भएको भनेर पत्ता लगाउन खोजेको पनि हुन सक्छ। अरू कुनै जघन्य अपराध गरेको पुष्टि भएको भए तपाईं अहिले त्यहाँको जेलमै हुनु हुने थियो। तपाईंले शंका गरेजस्तो बक्न लगाएको भए पनि यसरी कहाँ घर पठाउँथे  गैरकानुनी रूपमा बसेको मात्र अपराध भएकाले अनुसन्धान सकेर र प्रक्रिया पूरा गरेर नेपाल फिर्ता पठाइदिए।’
केही बुझेजस्तो गरे पनि उनको शंका अझै निवारण भएन। फेरि उही कुरा गरे, ‘दुबईमा त पुलिसले मान्छे मार्ने सुई नै हान्छ रे।

२०६९ असोज पहिलो साता म दुबईमा थिएँ। त्यहाँ मृत्युदण्ड सुनाइएका अमरबहादुर बमलाई बचाउने अभियान व्याप्त थियो। त्यसमा सक्रियतापूर्वक लागेका नेपाली समाजका तत्कालीन अध्यक्ष कृष्णबहादुर ढकाललाई अघि लगाएर म र वैदेशिक रोजगार सुधारका अभियन्ता महेन्द्र पाण्डे केन्द्रीय कारागारतर्फ लाग्यौं। हाम्रो योजना थियो– पाएसम्म अमरबहादुरलाई भेट्ने। दिएनन् भने पनि पहल किन नगर्ने अरबिक भाषामा पोख्त कृष्णबहादुरले जेलका अधिकारीहरूलाई आग्रह गरे। उनीहरूले भेट्न दिन इन्कार गरे। उनले ‘कन्भिन्स’ गर्न अनेक उपाय लगाए। जुनसुकै कारण बताए पनि अहँ मानेनन्।

हामीलाई डर थियो, पत्रकार भन्यो भने झन् अनुमति पाइँदैन। किनकि, मुस्लिम मुलुकहरू मिडियाप्रति अनुदार छन्। अन्त्यमा हामीले नेपाली भाषामा आपसी सल्लाह गर्‍यौं– जे परोस्, यिनीहरूलाई प्रस्ट कारण किन नबताउने  अन्ततः मलाई देखाएर कृष्णबहादुरले भने ‘उहाँ नेपालको राष्ट्रिय दैनिकको सिनियर पत्रकार हो। अमरबहादुर परिबन्दमा जेल परेको भन्ने प्रमाणहरूले बताएका छन्। उहाँ उनलाई भेटेर वास्तविकता के हो बुझ्न चाहनुहुन्छ। त्यो कुरा आफ्नो मिडियामा लेख्न चाहनुहुन्छ। र, मिल्यो भने नेपालका प्रधानमन्त्रीलाई यहाँ ल्याएर दुबईका शेखसँग आग्रह गरी आममाफीको पहल गराउन हामी चाहन्छौं।

जब यो कुरा सुने ती व्यक्ति सिनियरलाई सोध्न भित्र गए। मुस्कुराउँदै फर्केर भने, ‘ठीक छ मृत्युदण्ड तोकिएको कुनै व्यक्तिलाई बचाउन सक्नुभयो र यो जेलबाट निकाल्नुभयो भने हाम्रा लागि सबैभन्दा खुसीको कुरा हुनेछ। कुनै पनि व्यक्ति सुध्रियोस् र बाँच्न पाओस् भन्ने हाम्रो ध्येय हुन्छ। हामी जेलमा रहेका हरेकलाई नयाँ जीवन दिन चाहन्छौं। भेट्ने अनुमति मिल्यो। साथमा केही बोक्न भने दिइएन। कलम कापी, मोबाइलजस्ता सामग्री राख्न लगाएर हामीलाई भित्र एउटा कोठाको सोफामा राखियो। केही बेरमा ल्याइए अमरबहादुर। उनी हामीसँगै त्यही सोफामा बसे। एक घण्टाभन्दा बढी।

हामीले उनलाई पनि त्यही कुरा बतायौं। र, उनको अभियोगको वृत्तान्त जान्न चाह्यौं। दार्चुला धारी गाउँका अमरबहादुर भारतको नयाँदिल्लीमा एउटा साहुकहाँ ड्राइभर थिए। ती साहुका दुई आफन्त दुबईबाट केही दिनका लागि पाहुना आए। उनले गाडी कुदाएको देखेर प्रभावित भए। र, नातेदार पर्ने साहुलाई ‘ड्राइभर उपहार दिन’ आग्रह गरे। अनुमति पाएपछि तिनले अमरबहादुरलाई सोधे, ‘तलब राम्रो दिन्छौं, सँगै लिएर जान्छौं, दुबई जाने हो ?’ अमरबहादुरले अन्योलमा नपरी भने, ‘जान्छु। सन् २००२ को अन्त्यतिर उनी दुबई ओर्लिए। उनीहरूको गाडी कुदाउन थाले। चालकको काम मालिकले जतिबेला जहाँ लैजा भन्छ, त्यहीं जाने हो। २००३ जनवरी १९ का दिन मालिकद्वय मनोज मुदाना र करन सिंह राजपुतले उनलाई दुबईको इन्डियन क्लबतर्फ लगे। अमरलाई पार्किङमा गाडीभित्रै छाडेर उनीहरू भित्र छिरे। केही छिनमा दौडँदै आएर भने, ‘छिटो गाडी कुदाऊ।

ती दुईले भारतीय नागरिक शरद सेठ्ठीको हत्या गरेर आएका रहेछन्। त्यो उनलाई थाहा भएन। उनीहरूले जताजता र जुन गतिमा दौडाऊ भने उनले त्यसै गरे। एक सातापछि अमरलाई समेत लिई डुंगामा चढ्ने बेला तीनै जना र हतियार उपलब्ध गराउने अर्का भारतीय नागरिक स्मद कुलत बनवारी पक्राउ परे। भारतीय जतिलाई हत्यारा र अमरबहादुरलाई तिनको मतियार ठहर गर्दै अदालतले सबैलाई मृत्युदण्ड सुनायो। फर्केर आएपछि मैले ठूलो समाचार लेखें, ‘निर्दोष नेपाली बचाउनुहोस्, प्रधानमन्त्रीज्यू।’ त्यति बेला प्रधानमन्त्री थिए डा. बाबुराम भट्टराई। म र महेन्द्र पाण्डेले उनलाई भेटायौं। सबै कुरा बुझेपछि हाम्रैसामु परराष्ट्र सचिवलाई फोन गरेर भट्टराईले निर्देशन दिए, ‘छिटोभन्दा छिटो मेरो दुबई भ्रमणको व्यवस्था मिलाउनुहोस्।

त्यहाँका शेखको आदेश अदालतको भन्दा ठूलो हुन्छ। उनले चाहे जोसुकैलाई आममाफी दिन सक्छन्। भट्टराई परिबन्दमा परेका नेपालीलाई बचाउन उत्सुक थिए। राजनीतिक वातावरण बिथोलिँदो थियो। बेलैमा जान सकेनन्। ‘जान्छु–जान्छु’ भन्दाभन्दै त्यसको ६ महिनामा उनको सरकारै ढल्यो। मृत्युदण्ड सुनाएको १६ वर्ष भयो। अमर जेलमै छन्। दुई देशको सुपुर्दगी सन्धिअनुसार भारतीय नागरिकलाई दुबईले भारतमै बुझाउनुपर्छ। त्यही प्रक्रिया पूरा गर्न यतिका वर्ष लाग्यो। उनीहरू अड्किएकाले अमरबहादुर बाँचिरहेका छन्। दुबई जेलका अधिकारीहरू अहिले पनि भन्न सक्छन्, ‘सक्नुहुन्छ भने अमरबहादुरलाई बचाउनुहोस्।’ र, अझै प्रधानमन्त्री दुबई गई त्यहाँका शेखलाई भाँती पुर्‍याएर आग्रह गरे निर्दोष अमर बाँच्न सक्छन्।

अन्नपूर्ण पोस्ट्मा आएका ती युवालाई मैले अमरबहादुरको यो उदाहरण सुनाइदिएँ। उनको त अपराध खासमा अपराधै होइन। देशको अध्यागमन कानुन उल्लंघन हो। कागजपत्रबिना सडकमा हिँड्ने यस्ता बाध्यता दलालका कारण सिर्जना हुन्छन्। उनीजस्ता धेरै निरीह नेपाली यसरी नै पक्राउ पर्छन्। ‘डिपोर्ट’ गरिन्छन्। त्यतिमै ‘स्लो पोइजन’ को सुई दिनुपर्ने कारण के छ र ? त्यो व्यर्थकोे डर हो।
सुई हानेर मार्ने भए उनीजस्ता एक लाखभन्दा बढी त दुबईमै मारिइसक्थे। तर, ढुक्क हनुहोस्, दुबईले मान्छे मार्दैन। बरु बचाउन चाहन्छ। ती युवालाई पनि बाँचून् भनेरै घर पठाइदिएको हो बल्ल उनले कुरा बुझे र खुसी हुँदै निस्किए।
आउनुहोस्, राज्य र हामी सबै मिलेर यस्ता पीडितलाई बचाऔं, जो अर्काका कारण जेल पर्छन्। र, तनावमा जिन्दगी गुजार्न बाध्य हुन्छन्।

-अन्नपुर्णपोष्ट


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...