Sunday 8th June 2025

प्रहरीको रासन भत्ता बढ्यो, सशस्त्र र अनुसन्धान विभागको भने यथावत


तितोपाटी – नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । प्रहरीको रासनभत्ता ५ वर्ष पछि मात्रै बढ्न लागेको हो ।

प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइनेछ । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ । तर, ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन । बढेको भत्ता पाउनुपर्ने प्रहरीले माग गर्दै आएको थियो ।

राशन वृद्धि भएपछि प्रहरीको मनोबल बढ्ने प्रहरी अधिकारीहरू बताउँछन् । तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको समितिले दुई–दुई वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो ।

सशस्त्र र अनुसन्धान विभागमा अन्योल

नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भए पनि सशस्त्र प्रहरी बलमा अन्योल छ । सशस्त्रलाई पुरानै रेटअनुसारको मात्र बजेट विनियोजन भएको छ । रासनभत्ता सममामयिक बनाउन सशस्त्रे पनि प्रस्ताव गरेको छ तर निर्णय भइ नसकेको बझिएको छ । सशस्त्र प्रहरीका कर्मचारीले पनि तलबसँगै रासनभत्ता पाउने गर्छन् । तर, धेरैजसो सशस्त्र प्रहरी ब्यारेकमा नै बस्ने भएकाले उनीहरूले रासनभत्ता क्वार्टर मास्टरलाई बुझाउँछन् । बिदामा भएको वेलाको रासनको पैसासमेत हाकिमहरूले खाइदिने विकृति सशस्त्र प्रहरीमा छ । तल्लो तहका प्रहरीलाई लामो बिदामा पठाएर रासनभत्तामा अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीका अधिकारीहरू कारबाहीमा पर्दै आएका छन् ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको रासनभत्ता वृद्धिबारे पनि कुनै निर्णय भएको छैन । गृह मन्त्रालयले भने तीनवटै सुरक्षा निकाको रासनभत्ता एकैपटक बढाउन पहल थालिएको जनाएको छ । नेपाली सेनामा भने ठेक्का प्रणालीबाट रासन नै खरिद गरी खुवाउने गरिएको छ ।

कति बढ्यो रासन ?

उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हाल उनीहरूले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् । त्यस्तै, झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकामा दुई सय रुपैयाँ पाउनेछन् । ताप्लेजुङको ओलाङचुङगोलामा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएका थिए । उनीहरूको रासनभत्ता बढेर अब ६ सय १५ रुपैयाँ पाउने भएका छन् । पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्न महँगो हुने भएकाले रासनको दर उच्च हुने गर्छ ।

-नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको…

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

प्रतिकृयाहरू
...