Friday 29th August 2025

इटहरीमा २०५७ मा दुर्व्यवहार भोगेका पत्रकार गोपाल भण्डारीको भनाइ जस्ताको तस्तै


गोपाल भण्डारी – ०५७ साल चैततिरको कुरो हो । म काठमाडौंबाट प्रकाशित हुने भूगोल साप्ताहिकमा इटहरीबाट रिपोटिङ गर्थें । मैले त्यसबेला इटहरीमा रहेका तस्कर र कर छल्नेहरुको समाचार लेखेको थिएँ । जसको उद्योगधन्दा, व्यापार, कलकारखाना केही थिएन, तर रातारात करोडपति हुनेहरुको मैले लिस्ट प्रकाशित गरिदिएको थिएँ । उनीहरुले रातारात कहाँबाट करोडपतिको हैसियत बनाए भन्ने विषयमा मैले खोजमूलक समाचार लेखेको थिएँ ।

समाचार प्रकाशित भएपछि तस्करहरुको संगठित समूहले रामकुमार सुब्बाको घरमा बसेर यो पत्रकारलाई भौतिक कारवाही गर्नुपर्छ भन्ने छलफल गरेछन् । त्योभन्दा पहिले टेकनाथ दाहालका घरमा भेला भएका रहेछन् । त्यसपछि रामकुमार दाइकहाँ जाऔं भनेर त्यहाँ गएछन् । रामकुमार दाइले पत्रकारलाई त्यस्तो गर्नुहुँदैन, यसमा मेरो सहमति छैन भन्नुभएछ ।

त्यसपछि उनीहरु इटहरी नगरपालिकामा पुगेछन् । उनीहरुले मलाई छलफल गर्नुछ भन्दै नगरपालिकामा बोलाए । तत्कालीन मेयर सर्वध्वज सावाँको कार्यकक्षमा मानिसहरु अटाई–नअटाई थिए । त्यहाँ छलफल हुँदाहुँदै अहिले उद्योग वाणिज्य उठेका एकजना छन्, तिनले ममाथि आक्रमण सुरु गरे ।

त्यसबेला राजभण्डारी थरका डीएसपी थिए, उनी पनि आक्रमणकारीकै पक्षमा लागे । म प्रहरीको सुरक्षा घेराभित्र भए पनि प्रहरीले मलाई बचाएनन् । मेयर सावाँले पनि चाहेको भए नगरपालिकाभित्र मलाई बचाउन सक्ने थिए ।

त्यसपछि नगरपालिकाको हाताभित्रैबाट मलाई हातपात र दुव्र्यवहार गर्दै सडकमा निकालियो र बजार परिक्रमा गराइयो । मजस्तो अपाङ्ग मानिसमाथि नगरपालिकाभित्रै कुटपिट भयो ।

मलाई हमला गर्नेहरु त्यसबेला कोको थिए भन्ने म केहीको नाम अझै सम्झन्छु । त्यसबेला केही व्यापारीहरुले मुङ्रे केटाहरु लिएर आएका थिए । उनीहरुले मलाई खण्डन छाप्न पनि भनेनन्, एक्कासी कुटपिट र दुव्र्यवहार गर्नेतिर लागे । समाचार कसले पठाएको भनेर केहीलाई सोधेछन्, गोपाल भण्डारीले हो भनेपछि ममाथि हातपात गरे ।

रामकुमार सुब्बा चाहिँ पुरानो राजनीतिज्ञ भएको हुनाले उहाँमा राजनीतिक संस्कार पाएँ । पत्रकारलाई हातपात गर्ने र बजार घुमाउनेजस्तो काम गर्नै हुँदैन भनेर उहाँले आपत्ति जनाएको मैले पछि थाहा पाएँ ।

म नेपाल पत्रकार महासंघमा पनि आवद्ध थिएँ । तर, पत्रकार महासंघले त्यो घटनाबारे कुनै विज्ञप्ति नै निकालेन । पछि प्रगतिशील लेखक संघले चाहिँ विज्ञप्ति निकालेछ । यो घटना बर्बर, जंगली, पासविक युगको पराकाष्टा हो भनेछ ।

इटहरीमा पछि पत्रकार पीवी दियालीलाई पनि मेरोजस्तै समाचार लेखेका कारण आक्रमण गर्ने र लखेट्ने प्रयास भयो । उनीमाथि पनि थ्रेट भएपछि मैले इटहरीमा सुरक्षा हुँदैन, तिमी काठमाडौंतिर जाऊ भाइ भनिदिएको थिएँ ।

मैले धेरैवटा पत्रपत्रिकामा रिपोटिङ गर्दै आएँ । शारीरिकरुपमा पनि अपाङ्ग भएका कारण मेरो अर्को कुनै जिविकोपार्जनको उपाय थिएन । परिवारमा चरम आर्थिक संकट व्यहोर्दै पत्रकारिता गर्दै आइरहेको थिएँ । एउटा निष्ठामा बसेर काम गर्ने मान्छेलाई कठिनाइमाथि कठिनाइ नै हुदोरहेछ !

पत्रकारिता गर्ने क्रममा मैले छलफल साप्ताहिकमा काम गरें । प्रकाश साप्ताहिकमा काम गरें । नवआवाज साप्ताहिक भन्ने थियो, त्यसमा पनि काम गरें । जनादेश साप्ताहिकमा काम गर्दा चाहिँ सुरक्षासम्बन्धी चुनौती भयो ।

सुरुवातमा इटहरीमा जनादेश एक हजार प्रतिसम्म जान्थ्यो । कृष्ण सेन मारिएपछि मलाई पनि अप्ठ्यारो पर्नेजस्तो महसुस भयो । त्यहीबेला खोर्सानेको जंगलमा राम कोइरालाका भाइ रोहित कोइराला सेनाबाट मारिए । त्यसपछि नै मैले असुरक्षित महसुस गरेर जनादेशमा काम गर्न छाडेको हो । पछि पत्रिका भूमिगतरुपमा मात्रै निस्कन थाल्यो ।

त्यसपछि मैले सुनसरीबाटै बराह साप्ताहिक दर्ता गरेर अहिलेसम्म चलाइरहेको छु । मेरो पत्रिका प्रेस काउन्सिलमा ‘ख’ वर्गमा परेको छ । एक÷दुई जनालाई रोजगारी पुगेको छ । इटहरीमै एकजना तारा पोख्रेललाई सहसम्पादक राखेको छु । यो क्षेत्रीय स्तरको पत्रिका भएकाले इटहरीबाटै चलिरहेको छ । ठीकै रुपमा चलिरहेको छ अहिले ।

मचाहिँ अहिले भृकुटीमण्डपमा राष्ट्रिय अपाङ्ग कोषको सभापति भएर अपाङ्गहरुको विषयमा काम गरिरहेको छु । मैले यो जिम्मेवारी लिएको तीन वर्ष भयो । बसाई काठमाडौंको कोटेश्वरमा छ ।

इटहरीलाई सम्झँदा दुःख लाग्छ

इटहरीमा अहिले भइरहेको तनाबको विषयमा पनि मैले पढिरहेको छु, सुनिरहेको छु । खै यो इटहरी कस्तो ठाउँ हो, म केही बुझ्न सक्दिनँ । त्यही बिराटनगरमा त्यस्तो छैन । धरानमा पनि पत्रकारमाथि यस्तो हुँदैन । अब के भन्ने ? भनेर पनि केही साध्य छैन । सत्य कुरो बोल्यो भने मान्छेलाई तीतो भइहाल्छ । त्यहीँ इटहरीमा बसिन्छ, केही बोल्यो भने पोखरीमा बसेर माछासँग दुश्मनी गरेजस्तो हुन्छ ।

सभ्य समाज भए पो सही कुराको सुनवाई हुन्छ । त्यो ठाउँ त भीडका आधारमा चल्छ । त्यस्तो ठाउँमा पत्रकारहरु सुरक्षित हुने कुरै भएन ।

कतिपय पत्रकारहरु आफैंमा समस्या पनि छ । पत्रकारले पनि आफ्नो अनुशासनमा बस्नुपर्ने हुन्छ । पत्रकारिताभित्र छिरेका केही खराब व्यक्तिहरुका कारणले पनि असल पत्रकारहरुले गरीखान नसक्ने स्थिति आउने गरेको छ ।

मैले चिनेका मेयर द्वारिकलाल चौधरी

जहाँसम्म इटहरीका अहिलेका मेयर द्वारिकलाल चौधरीको सवाल छ, उनलाई हाँसपोसाको गाविस अध्यक्ष हुँदाखेरिदेखि मैले असल व्यक्तिका रुपमा चिनेको हो । उनी असाध्यै सरल र इमान्दार मानिस लाग्थ्यो ।

द्वारिकलालसँग पत्रकार गणेश खत्री (हाल इटहरीका वडाध्यक्ष) र मेरो भेट भइरहन्थ्यो । हलो जोत्दै गर्दा पनि हामीलाई देखे भने पनि गोरु रोकेर कुराकानी गर्न आउँथे । साथीभाइ भन्दा मरी मेट्ने मान्छे हुन् । गाविसमा हुँदाखेरि पनि पत्रकारहरुलाई सहयोग गरिरहने मानिस हुन् । उनले गरेका विकास निर्माणमा कुराहरु हामी लेख्ने गथ्र्यौं ।

अहिलेको अवस्था देखेर म आफैं छक्क परिरहेको छु । उनलाई साढे सातले समाएको पो हो कि ? मैले चिन्दासम्म उनी असाध्यै राम्रा मान्छे हुन् । भ्रष्टाचार नगर्ने मान्छे हुन् । उनी आफैं सम्पन्न छन् । उनको स्वाभाव पनि त्यस्तो छैन । तर, मेयर भैसकेपछि उनलाई डिप्रेसन गराएको त्यहीँका मान्छेहरुले हो कि जस्तो लाग्छ मलाई ।

भ्रष्टाचारीमात्रै होइन, उनको पार्टीभित्रैका एकथरिका मानिसहरु द्वारिकलाललाई बदनाम गराएर अर्कोचोटि उठ्न नदिने योजनामा लागेको जस्तो पनि लाग्छ मलाई । त्यहाँका मानिसहरुको भर्सन सुन्दाखेरि मलाई त्यस्तै लाग्छ । कम्युनिष्ट पार्टीभित्रैबाट पनि एउटालाई सिध्याएर अर्को उक्सिने खेल सुरु भएको हो कि भन्ने मलाई लागिराखेको छ ।

आखिर जे भए पनि अहिले इटहरीमा पत्रकार र सञ्चार क्षेत्रमाथि जुन व्यवहार भयो, यो त अत्यन्तै निन्दनीय व्यवहार हो । यो गर्नै नहुने व्यवहार हो । मेयर भनेको त नगरको जिम्मेवार मान्छे हो । अभिभावक मान्छे हो । उनले सबैका कुराहरु सुन्नुपर्छ । गाली पनि सुन्नुपर्छ, राम्रा कुराहरु पनि सुन्नुपर्छ । अभिभावक भैसकेपछि छाती त फराकिलो पार्नुपर्‍यो नि । त्यसैले मेयरले सच्चिएर जानुपर्छ । पत्रकार, नागरिक समाज सबैसँग सहकार्य गरेर अगाडि जानुपर्छ । अहिलेको आवश्यकता यही हो ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु भएको छ। उनकाे तीन दिनअघि उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे…

हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन देशभरका शिवालयहरूमा विशेष पूजा–आराधना गरी मनाइँदैछ। यस दिन महिलाहरूले…

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

प्रतिकृयाहरू
...