Saturday 23rd November 2024

दिदी, अब त मैले पुरस्कार पाउँछु नि ?


सृजना तिवारी – गोरी बाटुलो अनुहार भएकी करिब ५ फिट उचाइकी महिला ‘नमस्कार म्याम’ भन्दै मेरो कार्यकक्षमा आइन् । मैले नमस्कार फर्काउँदै बस्न आग्रह गरे । उनले आफ्नो परिचय दिँदै भनिन् ‘मेरो नाम विष्ना जोशी, म अ.न.मी को रूपमा कार्यरत छु ।’ ‘ए खुसी लाग्यो तपाइसँग भेटेर, भन्नुहोस् के सेवा गरौँ’ मैले सोधेँ ।

उनले भनिन् ‘निजामती सेवा पुरस्कार पाउन के गर्नु पर्छ ?’

एक क्षण अवाक् भएर एक टक उनलाई हेरेर सोधेँ- ‘तपाईँले त्यस्तो के काम गर्नु भएको छ ?’

उनले भनिन् ‘मैले २०६३ सालमा बझाङमा फैलिएको झाडा पखालाको महामारीमा दिनरात अनवरत रूपमा बिरामीको सेवामा लागि रहे । धेरैको ज्यान बचाए तर आफैलाई जोगाउन सकिन । त्यो महामारीले मलाई पनि छोडेन, म वर्षै थलिएर दुर्लभ रोगको सिकार भएको छु । मेरो शरीरको प्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर भएको छ । हेर्दा तपाईँले मलाई विश्वास गर्नु हुन्न म बिरामी छु भनेर ।

राम्रै हट्टाकट्टा देख्नु भएको छ तर म जुन सुकै बेला बिरामी हुन सक्छु, भाइरसले आक्रमण गर्न सक्छ, कहिले अनुहार सुन्निएर फुटेर मुखै भरी घाउ हुन्छ ,आँखा हेर्न सक्दिन, खान पनि सक्दिन । कहिले हात/खुट्टा सुन्निएर छाला फुटेर रगत आउँछ, पुरै शरीर भरी घाउ बन्छ, आगोले पोले सरी जलन हुन्छ । निको हुन महिनौँ लाग्छ । नेपालमा यो रोगको उपचार हुन नसकेकोले दिल्लीको एम्स अस्पतालबाट उपचार गराई रहेको छु । हुन त म नेपाल सरकारको सहयोगले बाँचे कि हँ । तर अझै उपचार गरिरहनु पर्छ, जुन अत्यन्त महँगो छ । बुवा आमालाई पाल्नु त कता हो कता उल्टै सम्पत्ति पनि सकी दिइसकेँ ।

जीवनको बारेमा सुन्दर सपना मैले पनि सजाएकी थिएँ तर शायद दैवलाई मन्जुर भएन । मेरो जीवनका सबै उज्यालो पाटो मेटाएर घनघोर, दर्दनाक एवं कहाली लाग्दो अँध्यारो पाटोको कहानी लेखिएको रहेछ ।’ उनले आफ्ना पिडाहरू सुनाउँदै गइन् । म भने एक तमासले उनको अनुहार हेरिरहेँ । उनका गहिरा आँखामा पीडाका लहरहरू छाल बनी उर्लिरहेका थिए । सुन्दर, जवान, राम्री, हँसिली एवं अत्यन्त आत्मविश्वासी बिश्ना एकै क्षणमा कमजोर बन्दै गइरहेकी थिइन् ।

उनको जीवनको यथार्थ थाहा पाएपछि उनीप्रति श्रद्धा, आदर र प्रेम बढ्न थाल्यो । हामी दुई बिचको आत्मीयता झांगिँदै दिदी बहिनीको पवित्र एवं मायालु सम्बन्धमा कहिले परिणत भयो थाहै भएन । एक दिन बिहान करिब ९ बजे उनको फोन आयो । अत्यन्त मसिनो र काँपेको स्वरमा भनिन् ‘दिदी मेरो डेरामा आउन सक्नु हुन्छ ? हिजोदेखि मेरो शरीर भरी घाउ आएको छ, म ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा छु ।’ उनको स्वरबाटै उनी बिरामी भएको प्रस्ट आभास भइसकेकोले मैले ‘हुन्छ म ५ बजे पछि आउँछु’ भनेँ र उनको डेराको ठेगाना टिपे । कलङ्की मन्दिरको दक्षिणतिरको ओरालो नजिकै रहेको उनको डेरामा पुग्दा उनी असह्य पीडाले छटपटाई रहेकी थिइन्, बोल्न सक्ने अवस्थामा थिइनन् । हामी दुवैले मौनतामा आशुले भरिएका नयनहरूबाट नै एक अर्काको भाव बुझ्ने प्रयत्न गर्‍यौ ।

आफू भन्दा शक्तिशालीसँग कसको जोर चल्न सक्छ र ? विष्ना असहाय अवस्थामा नियतिसँग लड्दै थिइन् । रोग बलवान बनेर उनीमाथि कब्जा जमाउन आक्रमण गर्दै थियो । करिब दुई महिनाको पैठाजोरी पछि उनी ठिक भइन् । यो प्रक्रिया तीन चार महिनामा पुनः दोहरिइरहन्थ्यो । बिरामी हुने र निको हुने प्रक्रिया उनको जीवनको अभिन्न अङ्ग भैसकेको थियो ।

राष्ट्रकोलागि जीवन अर्पेकी विष्ना आफ्नो कामको मूल्याङ्कन भएको हेर्न चाहन्थिन् । आफ्नो त्याग, तपस्यालाई कर्मचारी एवं जनताको सामु ल्याउन प्रयासरत थिइन् । उनको जीवनी कसैको लागि प्रेरणा बनोस् भन्ने उनको कामना थियो तर कसले सुन्ने उनको पीडा ?

नेपालमा निजामती लगायतका अन्य पुरस्कार दिने पद्धति विचित्रका छन् । पुरस्कारकालागि मनोनयनको बेलादेखि पुरस्कार माग्ने कामको दौड सुरु हुन्छ । शक्तिशाली कर्मचारीका झुण्डहरुको प्रतिस्पर्धात्मक दौड लिगलिग कोटको दौड भन्दा पनि ठुलो गरी सम्बन्धित कार्यालयबाट सुरु भएर विभाग, मन्त्रालय, सामान्य प्रशासन हुँदै अन्त्यमा मुख्य सचिवज्यूको अध्यक्षतामा रहेको समितिमा गएर टुंगिन्छ । मागेर आशीर्वाद स्वरूप पुरस्कार पाइने देश नेपाल मात्रै होला जहाँ लुकी लुकी साम, दाम, दण्ड, भेद अपनाएर पुरस्कार माग्ने अनि पाए पछि देखाउन लजाउने गजबको प्रवृत्ति छ । छाती फुलाएर गर्वका साथ पुरस्कार थाप्नु पर्नेमा मुख लुकाएर थापी रहेका छन् । एकाधलाई छोडेर चाकडी, चाप्लुसी, चतुर्‍याई गर्नेले मात्रै पुरस्कार पाएका छन् भन्दा फरक नपर्ला ।

बिचरी विष्ना भने सरकारले कामको कदर गर्छ कि भनेर कहिले स्वास्थ्य मन्त्रालय, कहिले सामान्यमा चक्कर काटिरहन्थिन्, पुरस्कार पाउनु त कता हो कता उनको नामसमेत कहिल्यै सिफारिस भएन । अन्त्यमा कहिल्यै नउदाउने गरी उनी गत वैशाख २५ गते यो मानवताविहिन दुनियाँबाट सधैका लागि अस्ताईन् । निजामती सेवा पुरस्कार पाउने उनको धोको अधुरै रहेर होला, आज राती सपनीमा उज्यालो अनुहार लगाएर मलाई सोधिन् ‘दिदी अब त मैले पुरस्कार पाउँछु नि ?’

-प्रशासन डट कम बाट


सम्बन्धित शीर्षकहरु

सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनावपछिको परिणाम एलोन मस्कका लागि वरदान बनेको छ। मस्कको कुल सम्पत्ति ३४७.८ बिलियन अमेरिकी डलर…

यद्यपि यो कल्पना गर्न गाह्रो छ, त्यहाँ कुनै केन्द्र - वा किनारा - हाम्रो ब्रह्माण्डमा छैन। ब्रह्माण्डको केन्द्र कहाँ छ…

नाङ्गै जन्मिएर के गर्नु कपडाले शरीर छोप्नु पर्छ नाङ्गै जन्मिएको शरीर छोपिएन भने समाजमा इज्जत जान्छ १ शरीर नाङ्गै हिँड्न…

प्रतिकृयाहरू
...