बसन्त थापा – हिजो र आजमा धेरै फरक छ । मैले हिजोबाट सिकेको थिए, आज म त्यसलाई अभ्यास गर्दैछु । दुनियाले जे सुकै कुरा गरोस, म भोलीलाई स्विकार गर्छु । म जस्तै कयौ आसामा बाँचिरहेका मानिस छ्न,जसलाई भोलीले आयुर्वेदिकऔषधीको रुपमा काम गरिरहेको छ । म त्यति सक्षम छैन, कि आजको आजै सबै काम सक्षमताका साथ गर्न सकु । म आज एउटै कामलाई अनेकौ तरिकाद्वारा गर्न चाहान्छु । आज बिगारेको काम भोली सहि तरिकाबाट गर्दा मलाई फरक ज्ञान र खुसी मिल्नेछ । मलाई मेरो कामसँग मात्र रुचि छैन,मलाई अनुभबमा पनि रुचि छ । हिजोकै तरिकाबाट कुनै काम सम्पन्न गर्नु भनेको मेरो क्षमतालाई खुम्चाउनु हो । मलाई उमेरमा बाँच्नु जनावर भएर बाँच्नु हो जस्तो लाग्छ,जो केवल दैनिक रुपमा बाँच्न र समय कटाउनको लागि मात्र संघर्ष गर्छ । अनुभवमा बाँच्ने मानिसहरु उमेरमा हैन आनन्द र सहजताका साथ बाँच्छन । एकदिन यो दुनियामा मेरो भौतिक शरीर रहने छैन तर मेरो अनुभव र ज्ञानले कसैको भौतिक शरीरसङ्गै पुनर्जन्म लिएर आउनेछ । हामी देवता हैन,मानिस हौ । देवताहरु मानिस बन्नको लागि तड्पिन्छ्न रे । मलाई हरेक युगमा कैयौ देवताहरु मानिसको रुपमा यो जगतमा जन्मिरहेका हुन्छ्न जस्तो लाग्छ । हामीले आफुभित्रको देवतालाई चिनौ।सेवा सत्कर्म गरौ । तिनीहरुलाई हँसाउ जसलाई साच्चिकै हाँसोको जरुरत छ । धर्मको नाममा,जातको नाममा, रङ्ग र वर्गको नाममा कसैलाई विभेद नगरौ । स्टेफन हकिङ,पारिजात,जोन मिल्टन जस्ता मानिसबाट हामी सबले केही पाठ सिकौ ।
समयको लागि हामी ग्राहक हौ हर एक व्यक्तिको सोचाई हुन्छ,आफ्नो जस्तो आकृति हुन्छ, जस्तो स्वरुप हुन्छ,जस्तो स्वभाब हुन्छ त्यसैलाई स्वीकार गरेर कसैले प्रेम गरोस । जीवनभर हौसलादिओस,माया गरोस, राम्रा पक्षलाई स्वीकार गरोस, नराम्रा पक्षलाई सुधार गरोस । फुलेको गुलाफ जो कोहीले मन पराउन सक्छन तर फुल्ने फुल्नु भन्दा देखि नै त्यसको हेरचाह गर्ने,मलजल गर्ने माली एकमात्र असल प्रेमी हुन्छ । सुन्दरताले जो कोहीलाई झट्ट आकर्षण गर्न सक्छ तर सुन्दर बनाउनु एउटा कला हो । प्रेमलाई मैले एउटा कलाको रुपमा पनि बुझेको छु । प्रेम आफैमा पनि गहन बिषय हो । जन्मदेखि नै हरेक सजीव प्राणी प्रेम अपनाउन र दिन लायक बनिसकेका हुन्छन । मुठ्ठीमा श्वास रोकेर गहिरो चित्कारसंगै एउटा युवती आफ्नो सन्तानलाई प्रेम पुर्वक जन्म दिन्छे र आफुलाई आमा हुनुमा गर्व गर्छे । प्रेमको दायराभित्र हर कोहि अटाएको हुन्छ । एउटा व्यक्ति जो कहिल्यै बिपरित लिङ्गसंग नजिकिन रुचि देखाउदैन,उसलाई कहिँ न कतै आफ्नो लक्ष्य वा आफ्नो स्वभाबसँग प्रेम भएकै हुन्छ । आफ्नो राजकीय सम्मान,परिवार सम्पुर्ण बिरासत छोडेर सिद्धार्थले आफ्नो मनमा उब्जिएका कैयांै प्रश्न संग प्रेम गरे र ति प्रश्नको जवाफले उनलाई गौतम बुद्धको उपमा दिइयो । प्रेम सर्वब्यापी उपलब्ध छ, बस प्रेम महसुश गर्नको लागि कोमल हृदयको आवश्यकता पर्दछ ।
म ब्यक्ति साधारण रहिरहुँला तर ब्यक्तित्व असाधारण र चमत्कारीक बनाउन मन छ । शरीरको बाहिरी आवरणलाई बजारका श्रिङ्गारिक जलपले पोतेर भित्री मस्तिष्कलाई भने भोको बनाउने सोच न हिँजो थियो, न आज छ, न त भोली नै हुनेछ । आज पनि मलाई आफु रित्तो र खाली महसुश हुन्छ । मैले सिक्नु पर्ने र जान्नु पर्ने कुरा कयौ छन् । म मेरो दिन र रात खर्चेर पनि प्रकृतिमा उपलब्ध ज्ञान हाँसिल गर्न सक्दिन तर म एउटा बिद्यार्थी हुँ र सदा रहिरहने छु । म त्यो बिद्यार्थी हुँ जसले गगनचुम्बी भवनको सुकिला डेस्कमा सुकिला लुगा लगाएर रट्टान मार्ने शिक्षालाई अब्यवहारिक र अनुपयोगी शिक्षा सम्झिन्छु । म झुत्रो लुगा लगाएर एकदिन बाहिर निस्किएँ भने पनि मैले ज्ञानको लागि कैयांै उपयोगी विषयबस्तु भेटाउन सक्छु । मानिस र प्रकृति भन्दा ज्ञानको ठुलो मुहान कुनै मलिलो रसिलो माटो खनेर पनि भेटाउन सकिँदैन । आज म यी कुरा प्रयोगात्मक रुपमा कसैलाई बताउन सक्दिन र मौखिक रुपमा भनेका यी मेरा कुराहरुलाई पनि समाजले त्यति सहजै स्विकार गर्न सक्दैन तर एक समय यस्तो पनि आउँछ, समाजले आफुलाई बदल्न चाहनेछ र आफ्नो परिवर्तनको लागि औजारहरु खोज्नेछ । हो त्यतिबेला म समाजको लागि काममा आउन सकुँ, परिवर्तनको औजार बन्न सकुँ । आफ्नो बुद्धी विवेकको प्रयोग गर्न सकुँ । म भित्रको “म”लाई समाजको सकरात्मक परिवर्तनमा लगाउन सकुँ । आज मेरो जे छ भोली त्यो सबैको लागि सबैलाई पुग्ने गरेर होस ।