Sunday 6th September 2026

राप्रपाका २२ माग सहित,ओली–थापा एक घण्टा गोप्य वार्ता


कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएको छ । मंगलबार बुझाइएको मागपत्रमा राजसंस्था स्थापनादेखि भ्रष्टाचारीलाई कारवाहीसम्मका विषय समेटिएका छन् ।

राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ भने राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि माग गरेको छ ।

२२ बुँदे मागपत्रको बुँदानम्बर ७ (छ)मा लेखिएको छ, ‘२०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गरियोस् ।’ यस्तै, जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्न समेत राप्रपाले माग गरेको छ ।

धर्मनिरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कारवाही गर्नुपर्ने लगायतका विषय पनि राप्रपाले बुझाएको मागपत्रमा उल्लेख छन् ।

‘राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस्,’ राप्रपाको मागपत्रमा भनिएको छ ।

मागपत्र बुझदै प्रधानमन्त्री ओलीले राप्रपाका जनजीविकासँग सम्बन्धित माग आफ्ना पनि माग भएको बताउँदै ती माग पुरा हुने आश्वासन दिएको सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

भेटमा प्रधानमन्त्री ओलीले तत्कालीन बामगठबन्धनसँग देशव्यापी चुनावी तालमेल नगर्दा राप्रपा राष्ट्रिय पार्टी बन्न नसकेको स्मरण गराए । ‘काँग्रेसले तपाईंहरुलाई चुनावमा धोका दिन्छ भनेको थिएँ, तर मान्नु भएन चुनाव हार्नुभयो, गत चुनावमा तपाईंहरुले ठूलो रणनीतिक गल्ती गर्नुभयो’, ओलीको भनाई उदृत गर्दै राप्रपा सहप्रवक्ता श्रेष्ठले भने ।

मागपत्र बुझ्नु अघि प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष थापाबीच बालुवाटारमा करिव १ घण्टा गोप्य वार्ता भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...