Thursday 23rd April 2026

११ महिनामा विदेशबाट आयो ७८८ युवाको शव


तीतोपाटी- कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे होस् काठको बाकसमा फर्किनु नपरोस् ।

तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले सुन्दैन । मृत्युले अंगालेपछि उसले कहिल्यै रहन नचाहेको कफिनमा थुनिएर फर्किन्छ, निर्जीव भएर । बेरोजगारीका कारण यो विवशतालाई स्वीकार्न बाध्य युवा र तीनका परिवारको संख्या सानो छैन ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार गत फागुनदेखि हालसम्म झण्डै ११ महिना पनि नबित्दै विदेशमा ज्यान गुमाएका झण्डै ७८८ युवाका परिवारले क्षतिपूर्ति पाएका छन् ।  यो बीचमा विदेशमा ज्यान गुमाउने २२ जना महिला पनि थिए । ७८८ परिवारलाई सरकारले ४८ करोड ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

सरकारले विगत ११ वर्षमा वैदेशिक रोजगरीका क्रममा मृत्यु भएका झण्डै साढे सात हजारभन्दा बढी कामदारका परिवारलाई आर्थिक सहायता रकम वितरण गरिसकेको छ ।

अवैधानिक रुपमा विदेश पुगेर मृत्युवरण गरेका कामदारका परिवारले सरकारबाट कुनै क्षतिपूर्ति नपाउने भएकाले मृतकको संख्या ८ हजार भन्दा निकै माथि रहेको अनुमान छ ।

विगत ११ महिनामा वैदेशिक रोजगारीका क्रममा विरामी तथा अंगभंग भएर फर्किएका ३ सय १३ जनाले क्षतिपूर्ति पाएका छन् । उनीहरुले ६ करोड ९२ लाख क्षतिपूर्ति पाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । बोर्डले वैदेशिक रोजगारीमा रहेका कामदारको ४१ जना परिवारका सदस्यलाई १९ लाख उपचार खर्च पनि वितरण गरेको छ ।

बोर्डले अवैधानिक रुपमा श्रम स्वीकृति नलिई गएका र श्रम अवधि नाघेका कामदारको मृत्यु भएमा क्षतिपूर्ति दिँदैन । त्यसरी मृत्यु भएर फर्किने कामदारको एकीन तथ्यांक बोर्डसँग छैन ।

बोर्डले ११ महिनामा ६० जनालाई उद्धार गरेको छ ।

विदेशिने कामदारबाट उठाइने वैदेशिक कल्याणकारी कोषमा हाल ४ अर्ब भन्दा बढी रकम छ । बोर्डले अहिले वैदेशिक रोजगारमा जाने कामदार अंगभंग हुँदा दिइने उपचार खर्च र कामदारको मृत्यु भएमा परिवारलाई दिइने आर्थिक सहायता १ लाख ५० हजारबाट वृद्धि गरी ७ लाख पुर्‍याएको छ ।

कामदारको परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा  ५० हजार औषधी उपचार खर्च उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कामदारको वैदेशिक रोजगार जीवन वीमा वृद्धि गरी १५ लाख पुर्‍याइएको छ ।

वैदेशिक रोजगारका क्रममा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका मुख्य रोगहरु समेटी ५ लाखको स्वास्थ्य उपचार बीमाको व्यवस्था मिलाइएको छ ।

वैदेशिक रोजगारको क्रममा विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीहरुलाई निःशुल्क कानूनी प्रतीरक्षा दिने व्यवस्था मिलाइएको र मृतक कामदारको शव स्वदेश ल्याउन पहल गर्ने गरिएको र मृतकको घरसम्म शव वाहनको सुविधा उपलव्ध गराइएको श्रम मन्त्रालयले जनाएको छ ।

विभिन्न नेपाली दूतावासहरुलाई कामदारको हक अधिकार रक्षाका लागि र सुरक्षित गृह संचालनका लागि नियमित रुपमा बजेटको व्यवस्था गरिएको जानकारी पनि मन्त्रालयले दिएको छ ।

साभार-अनलाईनख़बर


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

दृढता, विश्वव्यापी स्रोत क्षमताको बलियो पक्ष तथा उपभोक्ताको पुनः सक्रिय गतिशीलतालाई उजागर गरेका छन्। -युसुफअली एम.ए. लुलु समूहले जीसीसी-व्यापी ‘वर्ल्ड…

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

प्रतिकृयाहरू
...