Monday 22nd June 2026

प्रदेश २ सरकारको छोरी जन्मेमा रू. १ लाखको बालिका शिक्षा विमा


तितोपाटी – प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ। लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन्। छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो। त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि सारेको हो।

यो कार्यक्रम सुरु भइसकेको मन्त्रिपरिषद् कार्यालयका सचिव टिकामणि न्यौपानेले जानकारी दिए। ६ वटा बैंक तथा २ वटा बिमा कम्पनीले प्रस्ताव हालेका थिए। तर, सबैको मूल्यांकन गरी प्रभु बैंक लिमिटेड जनकपुर शाखालाई छनोट गरिएको उनले बताए। ‘बैंक छनोट भइसकेपछि अब सर्त प्रक्रिया तयार गर्ने काम भइरहेको र चाँडै नै बैंकसँग सम्झौता हुनेछ,’ न्यौपानले भने।

प्रदेश २ मा छोरीको शिक्षामा निकै कमजोर रहेकाले त्यसमा सुधार गर्न यो योजना ल्याइएको उपसचिव शान्ता नेपालले बताइन्। बिमा योजनाका लागि अभिमुखीकरण कार्यक्रम सुरु भइसकेको छ। पहिलो चरणमा यो योजना लागू गर्न नमुना स्थानीय तहको रुपमा पर्साको वीरगञ्ज महानगरपालिका, बाराको सुवर्णपुर गाउँपालिका, रौतहटको यमुनामाई नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकालाई छनोट गरिएको छ।

गरिब, दलित, मुस्लिम तथा विपन्न परिवारमा जन्मेका छोरीहरूका लागि पहिलो चरणमा स्थानीय तहको सिफारिशका आधारमा बिमा गरिने छ।

प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऊ योजनालाई निकै महत्व दिएको छ। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा पदभार सम्हालेपछि सार्वजनिक गरिएको सय दिने योजनामानै यो कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख थियो। यसका लागि प्रदेश सरकारले पहिलो चौमासिक बजेटमा ८० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर त्यो बेला काम हुन सकेन। ९४ प्रतिशत रकम खर्च नै भएन। ८० लाखमध्ये पाँच लाखको साइकल खरिद गरिएको थियो। त्यही साइकल पनि वितरण भएन। हालसम्म मन्त्रालयको गोदाम मै थन्किएको छ।

यो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ८१ करोड रुपैयाँ विनियोजन गरेको छ। यसअन्तर्गत स्कुलमा साइकल वितरण पनि गरिनेछ। साइकल खरिदको टेन्डर प्रक्रिया अघि बढिसकेको सचिव न्यौपानेले जनाएका छन्। यस वर्ष ४ हजार थान साइकल खरिद गर्न टेन्डर भइसकेको र चाँडै नै वितरण गरिने पनि उनले बताए।

त्यसैगरी छात्राका लागि स्कुलमा सुरक्षित शौचालय बनाउने योजना पनि अघि बढेको छ। प्रदेश २ का अधिकांश स्कुलमा सुरक्षित शौचालय नहुँदा छात्रा पढाइबाट वञ्चित हुन्छन्। पहिलो चरणमा आठै जिल्लामा स्कुल छनोट गरी एक सय वटा सुरक्षित छात्रा शौचालय निर्माण गरिने लक्ष्य राखिएको छ।

कर्मचारी अभावका कारण बेटी पढाउ,, बेटी बचाऊ योजनाका महत्वपूर्ण काम ढिला भएपनि अब यसले गति लिन थालेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बताउँछन्। ‘छोरीलाई सबल र सक्षम बनाउने प्रयास थालेका छौं। उनीहरुको जीवन र भविष्य सुरक्षित भए मात्र विकासको कल्पना गर्न सक्छौं,’ उनले भने, ‘त्यसैले यो अभियान प्रदेश सरकारको महत्वाकांक्षी योजना हो।’


सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...