Monday 23rd March 2026

पुर्वराजा ज्ञानेन्द्र अंग्रेजी नयाँ वर्ष मनाउन पोखरामा


तितोपाटी – अंग्रेजी नयाँवर्ष मनाउने गरि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। पूर्वरानी कोमल शाह पनि ज्ञानेन्द्रसँगै पोखरा आएकी छिन्। शाह दम्पत्ति सोमबार बिहान जहाजबाट पोखरा ओर्लेका हुन्। उनीहरु बिहान ११ बजे बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए।

शाह दम्पत्तिलाई पोखरा विमानस्थलमा २१ किलोको माला लगाएर स्वागत गरिएको थियो। राजपरिवारको समर्थक रहेकाहरुले स्वागत समारोह बनाएर विमानस्थल बाहिर शाह परिवारको स्वागत गरेका थिए। राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकले फूलमाला र पञ्चेबाजाले शाह दम्पत्तिको स्वागत गरेका थिए। शाह दम्पत्तिको स्वागतमा विमानस्थल क्षेत्र खचाखच भरिएको थियो। विमानस्थल भित्र र बाहिरको सडकमा भीड बढेपछि व्यवस्थापनमा पनि समस्या परेको थियो।

विमानस्थलबाट बाहिरएका शाह केही दुरीसम्म पैदल हिँडेर शुभचिन्तकसँग भेटघाट गरेका थिए। राष्ट्रिय झन्डा बोकेका समर्थकको भीडले विमानस्थलबाहिर देखि बिरौटासम्म भीड लागेको थियो।

शाह परिवारको पोखरा भ्रमण तालिका भने गोप्य राखिएको छ। उनको भ्रमणको चाँजोपाँजो मिलाउने टोली केही दिनअघि नै पोखरा आईपुगेको थियो। पोखरा घुमफिरका लागि आवश्यक गाडी समेत काठमाडौंबाटै ल्याईएको छ।

पूर्व राजा शाह परिवार भर्खरै निर्माण भएको दोविल्लास्थित माउन्टेन ग्लोरी रिसोर्टमा बस्नेछन्। ६४ कोठाको यो रिसोर्टमा अहिलेसम्म २४ वटा कोठा मात्र तयारी अवस्थामा छन्। शाह परिवारले सम्पन्न भएका सबै २४ कोठा बुकिङ गरेको श्रोतले बतायो। रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेको छ। श्रोतका अनुसार सोमबारदेखि सुरु हुनेगरि १६ रातका लागि सबै कोठा बुकिङ गरिएको छ।

‘रिसोर्टका २४ कोठा मात्र तयार थिए। बाँकी कोठा अझै तयार भईसकेका छैनन,’ श्रोतले भन्यो, ‘पुरै कोठा शाह परिवारका लागि बुकिङ छन्।’  एउटा कोठाको अहिले नेपाली नागरिकका लागि प्रतिरात १२ हजार रुपैयाँ पर्छ। विदेशी नागरिकले भने १ सय ९० अमेरिकी डलर तिर्नुपर्छ। ‘भिन्दै सुईट रुम तयार नभईसकेको अवस्थामा दुई–दुइवटा डिलक्स रुमलाई मिलाएर दुईवटा सुइट रुम बनाइएको छ,’ श्रोतले भन्यो, ‘शाह दम्पत्ति बाहेक परिवारका अरु सदस्य र आफन्त पनि आउने भएकोले यो तयारी गरिएको हो।’

यही अवधिमा पोखरा अंग्रेजी नयाँवर्षको सडक महोत्सव आयोजना हुने भएकोले पूर्वराजा शाहको परिवारले नयाँवर्ष पोखरामै मनाउने गरि रिसोर्ट बुकिङ गरेको श्रोतको भनाई छ। सडक महोत्सव पुस १३ गतेदेखि लेकसाइडमा संचालन हुन्छ। पाँचदिनसम्म सडक महोत्सव चल्छ। ‘रिसोर्ट पूर्ण रुपमा तयार नभईसकेकोले हाललाई अरु पाहुना राख्नु आवश्यक पनि परेन,’ श्रोतले भन्यो, ‘भएजतिका सबै रिसोर्ट एकै समूहले बुकिङ गरेपछि व्यावस्थापनको जिम्मा मात्र आएको छ।’ शाह परिवारको पोखरा भ्रमण भने खुलाईएको छैन। पोखरा बसाई अवधिमा शाहले निकटका केही राजनीतिक व्यक्तिसँग भेटघाट गर्ने योजना रहेको श्रोतले बताएको छ। परिवारका अरु सदस्य भने मंगलबारपछि मात्र आउनेछन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...