तितोपाटी – क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले बताए ।
अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् । ‘उनीहरुले पासपोर्ट तयार पार्नेदेखि लिएर टिकट काट्न समेत भ्याइसकेका थिए’, एक अधिकारीले भने, ‘गैरजिम्मेवार तरिकाले भाग्न खोजेपछि प्रहरीको सहयोग लिएका हौं ।’
अहिले मन्त्रालयले उनीहरुको पासपोर्ट खोसेको छ । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरु स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरुले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।