Wednesday 14th January 2026

कुवेतमा प्रताडित छोरीलाई झिकाइदिन आमाको हारगुहार


तितोपाटी डट कम-वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् ।

मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे भन्ने सरोज राईले कुवेत पठाएका थिए । राईलाई पक्रेर छोरीलाई झिकाउने पहल गर्न विष्णुले माग गरेकी छन् ।‘९० केडी दिने भन्दै कुवेत लगे,’ उनले भनिन्, ‘सुरुमा बच्चा हेर्ने काम छ भन्थी, अहिले अर्कै ठाउँ सरेकी छ रे । घर फर्कन दिएका छैनन् ।’

दुई महिनाअघि सारेको ठाउँमा छोरीलाई यातना दिइने गरेको विष्णुको भनाइ छ । आफूमाथि बारम्बार कुटपिट हुने गरेको छोरीले रुँदै टेलिफोनमा सुनाएको उनले बताइन् । पूजाले काम गरेको तलव पनि नियमित नपाएको र खानसमेत समयमा नदिइने गरेको विष्णु बताउँछिन् ।छिमेकीसमेत रहेका सम्धी रामबहादुर राईलाई लिएर विष्णु आइतबार छोरी खोज्न भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगर आइपुगेकी थिइन् । त्यहीँ भेटिएकी उनले भनिन्, ‘पठाउने मान्छेलाई समाते छोरी घर झिकाउँथे कि ?’

श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै तत्काल अबैध बाटो हुदै विदेश पठाउने सन्तोषलाई पक्राउ गरी कारवाही गर्न आग्रह गरेका छन् ।आठ बर्षअघि सन्तोष तामाङसँग विवाह गर्दा पूजा मात्र १६ वर्षकी थिइन् । उनको वैवाहिक जीवन सुखद हुन सकेन । श्रीमानसँग सम्वन्ध बिग्रिएपछि ७ बर्षीय छोरीको लालनपालनका लागि पूजा विदेशिएकी हुन् ।

-साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...