Wednesday 15th January 2025

अाज नेपाल संवत ११३९ तथा म्हः(अात्म) पुजा


तितोपाटी – नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियाे। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।

नेपाल संवतका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतको शुभकामना सन्देशः

नेपाल संवत् ११३९ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका शिर्षस्थ नेताहरुले शुभकामना सन्देश दिएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल संवतका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्। नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमंग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गरेकी छन्। नेपाल संवत सांस्कृतिक, सामाजिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेको बताउँदै भण्डारीले नयाँ संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, सामाजिक एकता, भाइचारा साथै आपसी सद्भाव ल्याउनेमा विश्वास व्यक्त गरेकी छन्।

यस्तै नेपाल संवतकै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले समेत शुभकामना व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनले नयाँ संवतले सम्पूर्ण नेपालीमा सुख शान्ति समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।  बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो देश नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी तथा विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका उपराष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी अाेलीले राष्ट्रिय विभूति शंखधर साख्वाकाे स्मरण गर्दै नेपाल संवतकाे सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन्। संवतलार्इ पराेपकारी भावनाकाे स्मरण गराउने दिनकाे रुपमा व्याख्या गर्दै प्रधानमन्त्री अाेलीले संवत सुरुवातकाे घटना हामी सबैका लागि प्रेरणादायी रहेकाे बताएका छन्।


सम्बन्धित शीर्षकहरु

नासाले भनेको छ कि धूमकेतुको भविष्यको चमक भविष्यवाणी गर्न "कुख्यात रूपमा गाह्रो" छ, तर धूमकेतु C/2024 G3 (एटलस) नाङ्गो आँखाले…

आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने…

हजारौं यहूदीहरूले महादेश त्यागेकाले युरोपले यहूदी विरोधी भावनासँग लड्नुपर्ने शीर्ष यहूदी नेताले बताए। मार्गोलिनले भने कि २०२५ युरोपेली यहूदीहरूका लागि…

प्रतिकृयाहरू
...