Thursday 3rd September 2026

रेलमार्ग परिक्षण गर्दै जनकपुर अाइपुग्यो ब्रोडगेज रेल, मंसिरदेखि सेवा सुचारू हुने


तितोपाटी – पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभागका साइट इन्जिनियर विनोदकुमार ओझाको दाबी छ।

सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालबाहक बोगी ‘डब्बा’ सहित रेल बुधबार दिउँसो जनकपुर आइपुग्यो। उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट (गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए।

सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणक्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलवेको स्तरोन्नति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार बिहार जयनगरदेखि जनकपुर हुँदै महोत्तरीस्थित पूर्व–पश्चिम राजमार्गको बर्दिबास खण्डसम्ममा रेल ल्याउने योजना छ।

सम्झौता भएको एक वर्षपछि निर्माण कार्य सुरु गरेको भारत सरकारले जयनगर–जनकपुर–कुर्था खण्ड ३५ किलोमिटर रेलमार्ग मंसिर मसान्तभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी ओझाले दिए।

‘अबको तीन साताभित्र यस खण्डको सम्पूर्ण निर्माण कार्य सकेर मंसिर मसान्तभित्र औपचारिक रुपमा उद्घाटन गरी नियमित रेलवे सेवा सञ्चालन गर्ने योजना छ’, उनले भने, ‘यसका लागि आवश्यक तयारी भइरहेको छ। तयारीको गति हेर्दा निर्धारित समयमै रेलवे सञ्चालन हुनेमा कुनै शंका गर्ने ठाउँ छैन।’

कुर्थादेखि महोत्तरीको बिजलपुरा हुँदै जयनगरसम्म रेल पुग्न थप एक वर्ष लाग्नसक्ने उनको अनुमान छ। रेलवे निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कुर्थासम्म रेलसेवा सञ्चालन भएसँगै अगाडिको कामले गति लिने बताए।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...