Thursday 18th September 2025

एकापसको झगडामा छुरा प्रहार गर्दा चेक गणराज्यमा १ नेपालीको मृत्यु


तितोपाटी – चेक रिपब्लिकमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने २ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जर्मनीस्थित नेपाली दूताबासले भने एक नेपालीको मृत्युको पुष्टि गरेपनि मृत्युको कारण र घटना बिबरण भने खुलाएको छैन ।

जर्मनी स्थित नेपाली दूताबासका राजदूत रमेशप्रसाद खनालले भने, ‘मृतकले काम गरिहेको सम्बन्धित कम्पनीलाई हामीले सम्पर्क गरिसक्यौं । शवलाई जतिसक्दो छिटो पठाउने प्रयास हुन्छ । तर घटनाको पूर्ण विवरण आइसकेको छैन ।’

मृतक धादिङ स्थायी घर भएका २३ बर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक आएका खुलेको छ । तर, प्रहरी अनुसन्धान जारी भएकाले नाम गोप्य राखिएको छ ।

चेक रिपब्लिकको अनलाइन मिडिया नोभिन्की सीजेटले भने शुक्रबार राति ९ बजेपछि चारजना विदेशी कामदारहरुबीच आपसी झगडा भएको र त्यसक्रममा छुरी प्रहारबाट एकजनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

उसले लेखेको छ, ‘घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ, उनी खतरा मुक्त छन् । फरार दुईजनालाई प्रहरीले दुई घण्टाको हेलिकोप्टर अपरेशनमार्फत प्रकाउ गरेको हो ।

मृतकका परिवारले शव नेपाल झिकाउन परराष्ट्रमा निवेदन दिएका छन् । दूताबासस्थित उपनियोग प्रमूख बिशाल भट्टराईले अनलाइनखबरलाई भने, ‘परिवारको पत्र आएको छ, यहाँबाट चेक रिपब्लिकको परराष्ट्रलाई पत्राचार गरिसकेका छौं । जतिसक्दो छिटो प्रक्रिया पुरा गर्नेछौं । पुलिस रिपोर्ट प्राप्त गरेपछि मात्र दूतावासले आधिकारिक रुपमा घटना बिबरण बताउन सक्छ ।’

झगडा अघि मदिरा सेवन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकका पूर्वअध्यक्ष छत्र अधिकारी आइतबार घटनास्थलमा नै पुगे । सोहि कम्पनीमा कार्यरत अन्य नेपालीहरुसँग कुराकानी गरेपछि उनीहरुकै भनाइलाई उदृत गर्दै अधिकारीले भने, ‘झगडा गर्नु अघि मदिरा पिएका थिए, आपसमा भनाभन हुँदै गयो । त्यसपछि बोतल हुँदै छुरीसम्म प्रहार भयो । मृतकले झगडालाई शान्त पार्न कोशिस गरेका थिए तर, उनलाई नै छुरी लागेछ ।’

उनीहरु चेकरिपब्लिकस्थित सानो गाउँ जिजेलिछेमा रहेको कम्पनीमा काम गर्थे । कम्पनीले कामदारहरुका लागि एक होस्टल उपलब्ध गराएको थियो, जुन कम्पनीबाट २० मिनेटको पैदलदुरीमा छ ।

घटनाका दोषीलाई ८ देखि १६ बर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्राबधान रहेको समेत नोभिन्की सीजेट अनलाइन मिडियाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...