तितोपाटी – सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।
मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया राम कला कामी र उनीहरुका दुई छोरी र एक छोरा छन् ।
यस्तै छोरीद्वय ७ वर्षीया गंगा बिक, ६ वर्षीया प्रमिला बिक र छोरा ४ वर्षीय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
एउटै कोठामा लहरै सुतेका मध्ये ११ वर्षिया सुनिता बिक घाइते भएकी र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी गराए । आर्थिक अवस्था कमजोर भएका बिक जिर्ण घरमा बस्दै आएका थिए ।