Monday 6th January 2025

डा. गोविन्द केसी, तपार्इका माग जायज छन तर माग पेश गर्ने तरिका बदल्नुस


-मन्जु नेपाल भण्डारी-सिन्धुपाल्चोक-सुनकोशी गाऊँपालिका-३

गोविन्द केसी डाक्टर साप,
तपाईलाई नेपाली चेलीको नमस्कार …।

तपाईं महान् हुनुहुन्छ डाक्टर साप किनकि तपाई लगातार २४ दिनसम्म केहि नखाई अनसन बसिरहनु भएको छ नेपाली जनताका लागि । मलाई थाहा छ तपाईमा केही स्वार्थ छैन । स्वार्थ छ त केवल आम नेपालीको सुख र सुस्वास्थ्यको । तपाईंलाई सप्तरीको बाढी पीडित मात्रै होइन, जाजरकोटको झाडापखाला ग्रसितको मात्रै पनि होइन, जुम्लाका निमुखा जनताको पनि चिन्ता छ, आम नेपाली जनातको चिन्ता छ । हो, म बुझ्दछु तपाई चाहनुहुन्छ एउटा गरिब नेपालीको छोराछोरीले सर्वसुलभ ढंगबाट डाक्टर पढ्न पाओस् । छोराछोरी पढाउनका लागि बाउबाजेका पुर्ख्याैली सम्पत्ति बेच्नु नपरोस् । जागिरेहरुले हाकिमको गाली सहँदै र सेवाग्राहीको सराप खाँदै जोडेको तिनकोठे घर बेच्नु नपरोस् । तपाई चाहनुहुन्छ नेपाल मै गुणस्तरीय कलेज स्थापना होस् र भएको कलेजको स्तरबृद्धि होस् । हामी गरिब जनताले त तपाईलाई भगवान सरह नै मान्नुपर्छ र मानेका पनि छौं ।

देशको शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य चाहनुहुन्छ तपाईं । मेडिकल माफियाको चंगुलबाट कलेजहरुलाई उम्काउन चाहनुहुन्छ । राज्यले सुविधासम्पन्न कलेजको व्यवस्थापन गरोस् भन्ने चाहनुहुन्छ । हो यी कुरा तपाईंले मात्रै चाहेको होइन, आम जनताले चाहेको यही हो । आम नेपालीले अहिलेको सरकारबाट यहि चाहन्छन् । अझ भनौं भने म त अरु थुप्रै मेडिकल कलेज खुलुन् भन्ने चाहन्छु । अनि ती कलेजहरु सुविधा सम्पन्न होउन् । अन्तराष्ट्रिय मापदण्डका होउन् । मेडिकल कलेज मात्रै होइन अरु थुप्रै विषयका कलेज खुलुन् नेपालमा । नेपाली विद्यार्थीले मात्रै होइन विश्वका धेरै विद्यार्थीको रोजाइ नेपाल बनोस् । विश्व समुदायको लागि एजुकेसन हब नेपाल बन्न सकोस् । तपाईंलाई थाहा होला डाक्टर साप, सन् २०१५ मा अमेरिकामा मात्रै ९६६२ जना नेपाली विद्यार्थी भर्ना भए । अमेरिकामा मात्रै होइन नेपाली विद्यार्थी भारत, बंगलादेश, युरोप, चाइना र अष्ट्रेलिया लगायतका थुप्रै देशमा गएका छन् । पचासौं हजार नेपाली पढ्न कै लागि विदेशिएका छन् स्टुडेन्ट भिसामा । एकपटक हिसाब गर्नुस् त डाक्टर साप, यी विदेशीएका विद्यार्थीले विदेशी विश्वविद्यालयहरुमा कति डलर भुक्तानी गर्नुपर्छ । म चाहन्छु नेपाली विद्यार्थीले यसरी डलर बुझाएर पढ्नु नपरोस् । बरु १० हजार विद्यार्थी अमेरिका पठाउनुको सट्टा ५०० जना अमेरिकन प्रोफेसरहरु नेपाल झिकाउँ । नेपालका थुप्रै ठाउँहरुमा सयौं विषयका कलेज खोलौं । नेपालको प्राकृतिक र साँस्कृतिक सुन्दरता भित्र आफ्ना विद्यार्थीहरु पठाउन र उनका लागि कोटा बढाउन अमेरिकी र युरोपेली एजेन्टहरुको भिड काठकाडौंमा देखियोस् । चाइनिज र अष्ट्रेलियनहरु उनका विद्यार्थीलाई प्राथमिकता दियोस् भन्दै लाम लागुन् । अनि नेपाली विश्वविद्यालयका सर्टिफिकेटको मान्यता विश्वभर अब्बल रहोस् । म चाहन्छु नेपालका विश्वविद्यालयमा पढ्नका लागि अन्तराष्ट्रिय स्तरमा होडबाजि चलोस् । फरक यत्ति हो डाक्टर साप, तपाईं अरु कलेज खोल्न नदिन चाहनुहुन्छ र १० बर्षसम्म नीतिगत बन्देज लगाउन चाहनुहुन्छ । म अझै धेरै कलेजहरु खुलुन्, अझ धेरै विश्वविद्यालयहरु खुलुन् भन्ने चाहन्छु ।

आम जनताले चाहेको कुरा तपाईंले एजेण्डा बनाउनुभो । सत्याग्रह शुरु गर्नुभो । त्यो पनि एकपटक होइन पटक पटक, अहिलेसम्म त १५ पटक भैसक्यो । हामी महिलाहरु वर्ष दिनमा एकपटक एक दिन भगवानको पुजा गर्नका लागि व्रत बस्दा त राति उठेर दिनभरीका लागि डोज पुग्ने गरी खानुपर्छ तर तपाईं १५ औं पटक त्यो पनि २४ अाैं दिन वितिसक्दा पनि भोकै बस्नुभएको छ । मैले मात्रै होइन हामी तमाम महिलाहरुले तपाईंलाई अचम्म मान्दै हेरिरहेका छौं । यत्रो दिनसम्म तपाईं कसरी भोकै बस्नुभएको छ, त्यो पनि अरुका लागि । हो तपाईं बृद्ध हुनुहुन्छ, तपाईंको स्वास्थ्य अवस्था कमजोर भैरहेको छ । तपाईंले उठाएका माग आम समुदायको हितमा छन् । जनताकोे पक्षमा छन् । तरपनि तपार्इंं किन भोकै बस्नुभएको छ डाक्टर साप ? मैले त तपाईंमा अद्भुत शक्ति देखेको छु किनकि अरुहरु अनसन बस्दा २ दिनमा नै अनसन तोडाउन कोहि आइदिइहाल्नुपर्छ । नन्द प्रसाद अधिकारीले त मृत्युबरण नै गर्नुपर्यो, गंगामायाको पनि हालत अत्यन्तै कमजोर भएको थियो । तर तपाईंको अनसन २३ औं दिन वितिसक्दा पनि ६२ वर्षे शरीरमा उर्जा देखिन्छ किन ? कि तपाईं देखावटि अनसन मात्रै बस्नुभएको छ ? कि तपाईं मुख बन्द गरेपनि नसामा सलाइन रोपेर त्यसैबाट खाइरहनुभएको छ ? कि डाक्टर भएर अनसन बस्दा मरिन्न ? यो शंका ममा मात्रै होइन म जस्ता धेरैमा छ डाक्टर साप ।

अनि तपाईंले उठाएको माग जति जायज छन् नि त्यति नै तपाईंको अभिव्यक्ति र माग पेश गर्ने अनि समाधानको बाटो पनि गलत नै छ । किनभने मैले भोट हालेर चुनेका सांसदहरुले कानुन बनाउन नपाउने ? तपाईंले भनेकै कुरा आम जनता कै पक्षमा कानुन बनाउन जनताका प्रतिनिधिले छलफल गर्न पनि नपाउने ?तपाईंले भनेका शब्द मात्रै राखेर कानुन बनाउनुपर्छ भन्ने छ ? मैले मेरा प्रतिनिधि मार्फत् मेरा कुरा समेट्न नपाउने ? यो कस्तो प्रकृया हो डाक्टर साप ? म तपाईंलाई प्रश्न गर्न चाहन्छु । सरकार वार्ता गरौं भन्छ, तपाईं वार्ता गर्न आउने मान्छेको अनुहार रोजेर बस्नुहुन्छ । तपाईं सत्याग्रह भन्नुहुन्छ, तपाईंका समर्थक ढुंगा हान्छन्, कुर्सि प्रहार गर्छन् । के यस्तो आक्रमण पनि सत्याग्रह भित्रै पर्छ र डाक्टर साप ? तपाईंको पछि लाग्नेले अस्पताल बन्द गर्दा ११ महिनाको कलिलो दुधेबालकले ज्यान गुमाउनु पर्यो । यसको जिम्मेवारी पनि तपाईंले लिनुपर्छ । तपाईंलाई त थाहा छैन होला पुत्रवियोगको पिडा कस्तोहुन्छ भनेर किनकि तपाईंको न श्रीमति छ न छोराछोरी । ती बालककी आमालाई सोध्नुस् डाक्टर साप कत्तिको पिडा भयो भनेर । म चाहन्छु उनको आँसुको श्राप तपाईंलाई नलागोस् । तपाईंलाई सत्याग्रह कस्तो हुन्छ भन्ने पनि थाहा रहेनछ । सोध्नुस् अन्ना हजारेहरुलाई, गान्धिको इतिहास पढ्नुस् । अनि तपाईंलाई सत्याग्रह नै गरिरहेछु भन्ने लाग्दछ भने सोध्नुस् तपाईंका अघिपछि हिड्नेलाई केके गर्यौ भनेर । कि तपाईं अनसन बस्ने अनि समर्थकहरु ढुंगा हान्ने सल्लाह नै भएको छ ? तपाईंको माग जनताको पक्षमा हुँदाहुँदै पनि तपाईंलाई कसैले प्रयोग गरिरहेको पनि हुनसक्छ, विचार गर्नुस् डाक्टर साप । हो, मैले भोट हालेका प्रतिनिधिहरु तपाईंले जति पढेका छैनन् होला तर उनीहरुमा विवेक भने पक्कै छ । मलाई लाग्छ तपाईंको सेतो कोट भित्र काला किराहरु झुण्डिएका पनि हुन सक्छन् । ती किराहरुले तपाईंलाई पनि डस्न सक्छन् होशियार हुनुस् डाक्टर साप । सेतोकोट लगाउने तपाईं जत्तिको महान् व्यक्तिको शरीरमा आरोप प्रत्यारोपको कालो नपोतियोस् । सुकिला कपडामा घिनलाग्दो दाग नलागोस् । मलाई थाहा छ डाक्टर साप, सेतो कपडामा लागेको दाग हत्तपत्त मेटिन्न । त्यसैले वार्ता गर्नुस् र कथित अनसन तोड्नुस् डाक्टर साप । तपाईंको माग हाम्रो पनि माग हो । कसैको गोटि बनेर होइन, आफ्नै स्वाभिमानले, आफ्नै प्रयासले अनि आफ्नै हातेमालोबाट माग पुरा गर्नुस् ।

धन्यवाद ।


सम्बन्धित शीर्षकहरु

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जिल्ला अदालत कास्कीमा दायर भएको सूर्यदर्शन सहकारी ठगीको अभियोग माथि नै प्रश्न उठाएका…

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । लिबरल पार्टीको नयाँ नेता चयन…

निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवस तथा स्थानीय पर्व 'हाला फेब' को अवसर पारेर 'निरेम म्युजिक…

प्रतिकृयाहरू
...