सबै भन्दा बढी लगानी उर्जा क्षेत्रमा, लगानी रकममा भारत र परियोजना संख्यामा चीन अगाडि
तितोपाटी – केही समय अघिसम्म नेपालमा लगानी गर्न विदेशीहरु डराउँथे । जसका कारण अहिले पनि सरकारले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरिरहेका छन् । मुलुकमा राजनीतिक स्थिरता आएका कारण लगानी गर्ने वातावरण पनि राम्रै बनेको छ । जसका कारण विदेशी लगानीकर्ताहरु हौसिएका छन् ।
हालसम्म २ खर्ब ६८ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभाग वैदेशिक लगानी महाशाखा प्रमुख इञ्जिनियर खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए । महाशाखा प्रमुख बस्नेतका अनुसार ४ हजार ४ सय ७५ वटा परियोजनाहरुका लागि २ खर्ब ६८ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको हो । पछिल्लो समय लगानी सुरक्षित हुने वातावण बने पछि विदेशीहरु नेपालमा लगानी गर्न हौसिएको उनी बताउँछन् ।
‘पहिलो सशस्त्र युद्ध र त्यसपछिको राजनीतिक अस्थिरताका कारणले पनि होला वैदेशिक लगानी निराशा जनक रहेको थियो’ महाशाखा प्रमुख बस्नेतले भने, ‘आर्थिक वर्ष ०७४/७५ मा भने लगानी बढेको छ, अब अर्को वर्ष अझै बढ्ने हाम्रो अनुमान छ ।’
एक वर्षमा भित्रियो ६१ अर्ब
आर्थिक वर्ष ०७४/७५ मा मात्रै ६१ अर्ब रुपैयाँ लगानीका लागि प्रतिवद्धता आएको महाशाखा प्रमुख बस्नेतले जानकारी दिए ।
उनका अनुसार करिब ४ सय परियोजनामार्फत एक वर्षमा ६१ अर्ब ९ करोड ३६ लाख रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा १ सय ९३ प्रतिशले वृद्धि भएको हो ।
अघिल्लो वर्ष २० अर्ब ८५ करोड २५ लाख ४ हजार रुपैयाँमात्रै वैदेशिक लगानी भित्रिएको थियो । यस अवधिमा सबैभन्दा धेरै खनिज क्षेत्रको लगानीमा लगानीमा वृद्धि भएको छ । खनिज क्षेत्रमा ९ हजार ४ सय प्रतिशतले लगानी बढेको विभागका महाशाखा प्रमुख बस्नेतले जानकारी दिए ।
यस क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ८० लाख रुपैयाँ लगानी भित्रिएको छ । अघिल्लो वर्ष जम्मा ४ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको थियो ।
कुन क्षेत्रमा कति लगानी भित्रियो ?
वैदेशिक लगानी वृद्धिदर खनिज क्षेत्रसँग सम्बन्धित परियोजनाहरु धेरै भए पनि धेरै रकम भने उर्जा क्षेत्रमा भित्रिएको छ । आर्थिक वर्ष ३७ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा ९ सय १८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ऊर्जा क्षेत्रमा ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।
यसैगरी कृषि तथा वनजन्य क्षेत्रमा ६ सय ४९ प्रतिशतले वैदेशिक लगानी बढेको छ । आर्थिक वर्ष ०७४/७५ मा यस क्षेत्रमा २ अर्ब १६ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा भने कृषि तथा वन क्षेत्रमा २८ करोड ९० लाख रुपैयाँ मात्रै लगानी भित्रिएको थियो ।
सूचना प्रसार तथा सञ्चार प्रविधिको क्षेत्रमा पनि वैदेशिक लगानीको वृद्धिदर राम्रो देखिएको छ । अघिल्लो वर्ष ८ करोड ८७ लाख रुपैयाँ लगानी भित्रिएकोमा ५ सय ५९ प्रतिशले वृद्धि भएर आर्थिक वर्ष २०७४/७५ मा ५८ करोड ५० लाख रुपैयाँ लगानी भित्रिएको हो ।
उतपादनमूलक क्षेत्रमा यस अवधिमा ८ अर्ब ८७ करोड ५४ लाख ३ हजार रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनमा १ सय १४ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष यस क्षेत्रमा ४ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी भित्रिएको महाशाखा प्रमुख बस्नेतले बताए । उनका अनुसार यस अवधिमा निर्माण, सेवा मूलक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित क्षेत्रमा भने लगानी घटेको छ ।
लगानी रकममा भारत र परियोजना संख्यामा चीन अगाडि
हालसम्मको वैदेशिक लगानी दुई छिमेकी मुलुक भारत र चीनबाट नै धेरै भित्रिएको छ । लगानी गरिने परियोजना संख्याका आधारमा चीन अगाडि देखिएको छ भने लगानी भित्रिएको रकमका आधारमा भारत अगाडि देखिएको छ ।
विभागका वैदेशिक लगानी महाशाखा प्रमुख बस्नेतका अनुसार भारतको मात्रै ८७ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको छ । उता लगानी रकममा दोस्रो देखिएको चीनको ७६ करिब ७६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
उता चीनले १ हजार ४ सयभन्दा बढी परियोजनामा लगानी गर्न विभागबाट स्वीकृति लिएको छ भने भारतले करिब ८ सय परियोजनामा लगानीका लागि स्वीकृत लिएको छ ।
लगानी प्रतिवद्धता आएका मध्ये धेरै परियोजनाहरुको काम शुरु भइसकेको र केही परियोजनाहरु सञ्चालनको तयारी भइरहेको महाशाखा प्रमुख बस्नेतले बताए ।