Thursday 2nd July 2026

हिमाली जिल्ला मुगुमा अाैलोको विकराल रूप


तितोपाटी – हिमाली जिल्लामा पटक–पटक औलोका बिरामी भेटिएपछि यो उच्च जोखिममा परेको छ । चालु आर्थिक वर्षमा खत्याड गाउँपालिका– ८, ९ र ११ मा एक सय ३८ जनामा मलेरिया रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रिघामा मात्र एक सय २० जनालाई मलेरिया देखापरेको हो । यसवर्ष ४ वर्षमुनिका २२ जना, ५ देखि ९ वर्षसम्मका ३० जना र १० देखि १४ वर्षका ३३ जनामा मलेरियाको संक्रमण देखिएको छ ।

त्यस्तै १५ वर्षमाथिका ५६ जनामा मलेरियाको संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी बलीबहादुर बुढाले बताए । उनका अनुसार घरदैलोमार्फत उपचार गरिएपछि ७० प्रतिशत रोग नियन्त्रणमा आएको छ । ‘भदौदेखि कात्तिकसम्म जिल्लामा मलेरिया फैलिने गरेको छ,’ उनले भने, ‘लामखुट्टे बढी पाइने क्षेत्रमा मलेरिया संक्रमणको खतरा बढी छ ।’

अनुसन्धानका क्रममा रिघा गाउँमा एनोफिलिज म्याकुलेटस, एनोफिलिज एनुलाटिज र एनोफिलिज क्युम्याटिलिज जातको मलेरिया फैलाउने लामखुट्टे भेटिएको रोग नियन्त्रण महाशाखा, काठमाडौंका भेक्टर कन्ट्रोलर अधिकृत उत्तमराज प्याकुलरेल बताए ।

उनका अनुसार उक्त जातको लामखुट्टे तराईबाट हिमाली जिल्लामा पुगेको हो । नेपालमा ७० प्रकारका लामखुट्टे पाइने उनले जनाए ।

‘मलेरिया सार्ने तीन किसिमका लामखुट्टे रिघा गाउँमा फेला परे,’ उनले भने, ‘हिमाली जिल्लामा मलेरिया रोग फेला परेपछि नियन्त्रण गर्न सरकारलाई चुनौती देखिएको छ ।’

समुद्र सतहदेखि करिब १२ सय मिटर उचाइमा रहेको रिघा गाउँको तापक्रम ३८ डिग्री पुगेकाले लामखुट्टे बढी रहेको अनुसन्धान टोलीले जनाएको छ ।

गत वर्षदेखि खत्याड गाउँपालिकाको रिघामा देखापरेको मलेरिया नियन्त्रण गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् । बिरामीले १४ दिनसम्म औषधि सेवन नगर्दा रोग नियन्त्रणमा समस्या भएको लामखुट्टे विशेषज्ञ रोहित शाहले बताए ।

रिघा गाउँपारि बाजुरा जिल्लाको बोल्डिकमा पनि एक/दुईमा मलेरियाको लक्षण देखापरेको अनुसन्धान टोलीले जनाएको छ ।

मलेरियाको उच्च जोखिमलाई मध्यनजर गरी रिघामा हेल्थ डेक्स स्थापना गर्ने, औषधि र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा रगत परीक्षण गर्ने उपकरण र विशेषज्ञको अभावका कारण रोग नियन्त्रणमा बेलैमा ध्यान पुर्‍याउन नसकिएको स्वास्थ्यकर्मीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले औषधि र जनशक्तिको कुनै कमी हुन नदिन जिल्ला स्वास्थ्यलाई निर्देशन दिइएको बताए ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...