Thursday 12th February 2026

अोमन सललाहका हाउसमेडको पीडाः छुट्टीमा घर जान पाएनाै


तितोपाटी – ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्किन दिनुपर्ने माग राखेका छन् ।

राजधानी मस्कटबाट झन्डै एक हजार किमि टाढा रहेका सललाहमा राजदूत ढकाल, उपनियोगप्रमुख रोजिना ताम्राकार र श्रम सहचारी कृष्ण कुमारी गौली कन्सुलर सेवा दिन पुगेका थिए। सललाहमा झन्डै ४ हजार हाउसमेड कार्यरत छन्।

‘बिदामा गएपछि पुन: ओमन आउनको श्रम स्वीकृति नदिँदा हामी स्वदेश फर्किन पाएका छैनौं,’ सीता पौडेलले राजदूत ढकाललाई प्रश्न गरेकी थिइन्, ‘के अब हामी आफ्नो घर पनि फर्किन नपाउने?’

उनीहरूले कार्यरत स्पोन्सरकै घरमा काम गर्न आउन दिनुपर्नेमा जोड दिएका थिए। ‘हामी रहरले होइन बाध्यताले घरको काम गर्न ओमनमा आएका हौं । सबै माथि घरमालिकले यातना, दु:ख र शोषण दिएको छैन,’ माया मगरले भनिन्, ‘जसलाई काम गर्नका लागि सहज छ। ऊ फेरि फर्केर त्यही ठाउँमा आउने हो। यति कुरा त तपाईहरूले बुझिदिनुपर्ने हो।’

डेड वर्षअघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई देशबीच घरेलु कामदार सम्बन्धी श्रम सम्झौता नभएसम्म घरेलु कामदार नपठाउन र पुन: श्रम स्वीकृति समेत नदिन श्रम मन्त्रालयलाई आदेश दिएपछि बिदामा आएका हाउसमेड फर्किन पाएका छैनन्।

राजदूत ढकालले सम्बन्धित मन्त्रालयमा यसबारे वस्तुगत प्रतिवेदन पठाइसकेको बताएकी थिइन्। ‘घरेलु कामदारको विषय निकै गम्भीर प्रकृतिको हो। नीतिगत रूपमा सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा प्रतिवेदन बुझाइसकेका छौं,’ उनले भनिन्, ‘सरकारले आवश्यकता अनुसार यस विषयलाई सम्बोधन गर्नेछ भन्ने हामीले आशा राखेका छौं।’

उनले ओमन र नेपालबीचको द्विपक्षीय सम्बन्धमा प्रगाढ बन्दै गइरहेको अवस्थामा छिट्टै श्रम सम्झौता हुने दिशातर्फ उन्मुख भएको बताएकी थिइन्।

श्रम सहचारी गौलीले ओमनमा कामदारको हितको पक्षमा चालिएको विषयवारे जानकारी दिएकी थिइन्। कार्यक्रममा गैरआवसीय नेपाली संघ, क्षेत्रीय समन्वय समितिका टीका दाहालले रोयल दिवानमा कार्यरत कामदारहरू घरेलु कामदार नभएको भन्दै यसलाई दूतावासबाट सिफारिस लिन जरुरी नहुने बताए।

यसैबीच राजदूत ढकालले सललाहका गभर्नर सायिद साउन हिलाल अल वुसाइदीसँग द्विपक्षीय भेट गरेकी थिइन्। सललाहमा कार्यरत नेपाली कामदारको सवाललाई यथाशक्य छिटो सम्बोधन गर्ने लगायत विषयमा वुसाइदीसँग छलफल भएको थियो। वुसाइदीले नेपाल र ओमनबीचको सम्बन्धलाई अझ प्रगाढ हुँदै जाने अपेक्षा गरेका थिए।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...