Saturday 4th January 2025

सुनिता दनुवारलार्इ ‘टप हिरो’ अन्तर्राष्ट्रिय सम्मान


तितोपाटी – मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ ।

नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा लामो समयदेखि उहाँ क्रियाशील हुनुहुन्छ ।

मानव बेचबिखनविरुद्ध सक्रिय यस संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्य गर्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओले हालै वासिङ्टनमा आयोजित मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा मानव बेचबिखनविरुद्धको सङ्घर्षमा क्रियाशील दनुवारलगायत विश्वभरबाट १० व्यक्तित्वलाई उक्त सम्मानबाट सम्मानित गर्नुभएको अमेरिकी दूतावासले जनाएको छ ।

सो अवसरमा विदेशमन्त्री पोम्पेओ तथा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पले अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ सार्वजनिक गर्नुभएको थियो । उक्त प्रतिवेदनले आधुनिक दासत्वविरुद्ध सङ्घर्ष गर्न विश्वभरका सरकारहरूले गरेका प्रयत्नको मूल्याङ्कन गरेको छ । साथै, प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक, विश्वव्यापी दृष्टिकोण पनि प्रस्तुत गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मानव बेचबिखन उन्मूलनको दिशामा नेपाल सरकारले प्रगति गरेको कुरा प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा भनिएको छ–मानव बेचबिखनको रोकथामका लागि नेपालले आफ्नो प्रयत्न बढाएको छ । साथै, कानुन कार्यान्वयन तथा पीडित संरक्षणसम्बन्धी प्रयत्नमा समेत केही सुधार भएको छ ।

मानव बेचबिखनको उन्मूलनका न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि नेपालले गर्नुपर्ने सुधारसम्बन्धी सिफारिस पनि प्रतिवेदनले प्रस्तुत गरेको छ ।

प्रतिवेदनमा सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको र यसबाट नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो जारी प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्ने भनिएको छ । पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्वका १७३ मुलुकले अनुमोदन गरिसकेका छन् । (रासस)


सम्बन्धित शीर्षकहरु

कोलम्बो: श्रीलंकाको नयाँ सरकारले यसलाई एसियाको सबैभन्दा स्वच्छ देश बनाउने र वातावरणीय न्यायका सिद्धान्तहरू लागू गर्ने उद्देश्यले राष्ट्रव्यापी परियोजना सुरु…

उनलाई खुशी बनाउन खोजेको छु मैले किन आँसु बग्यो आँखाबाट रोक्न खोजेको छु मैले ।। यो दुनियाँमा रमाएर बाच्न खोजेको…

बंगलादेशको एक अदालतले देशमा अल्पसंख्यक समूहको संरक्षणको वकालत गर्ने एकजना हिन्दू नेतालाई जमानत दिन अस्वीकार गरेको छ। कृष्णदास प्रभु दक्षिणपूर्वी…

प्रतिकृयाहरू
...