Sunday 7th September 2025

हैट ! देख्दै रिङटा लाग्ने भिरबाट भारी बोकेर कसरी हिँड्छन् मान्छे ?


एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे अपहरण गरी नाउरा भीर फोड्न श्रम शिविरमा राखे । र, धौलागिरि पदयात्रामा आएका पर्यटकबाट लाखौं चन्दा असुले ।


०६२/०६३ को जनआन्दोलनपछि साविक जिविसले केही विस्फोटन गरी डोरो निकालेपछि डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था अन्त्य भएको हो । तर, अझै गोरेटो साँघुरो र डिलमा बार नहुँदा जोखिम उस्तै छ ।


स्थानीय, स्वदेशी र विदेशी गरी धेरै पदयात्रीले ज्यान गुमाए नाउरा भीरमा । ज्यानमारा नाउरा भीरमा धेरै राजनीति गरिएको र बजेट खर्च भएको छ । धौलागिरि गाउँपालिका-४ मुदीको मुख्य बस्ती मुदीसमेत नेरवाङ, खिवाङ, बगरा सबै बस्तीमा पुग्न भीरको बाटो हिँड्नै पर्छ । मुदीवासीको यो अनिवार्य बाध्यता । म्याग्दी खोलाको सिरान र धौलागिरि हिमालको फेदीमा पर्ने नाउरा भीरको बाटो भएर धौलागिरि आरोहण गर्न र फन्को लगाउन विदेशी पर्यटक आउने गरेका छन् ।

‘दैलोबाट खेतमा पुग्न पनि भीर उक्लनु पर्छ । हामी दु:खी छौं । धेरै हाम्रा आफन्त यिनै भीरबाट लडेर मृत्यु भए, हामी पालो पर्खेका छौं’ धौलागिरि गापा-४ मुदी बगरा घर भई धौलागिरि आधार शिविरमा होटल सञ्चालन गर्ने हरिबहादुर तिलिजाले भने, ‘नाउरा भीरको कथा भनेर धेरै नेता माथि पुगे तर हाम्रो कथा-व्यथा उस्तै छ ।’

नाउरा भीरपछि सबैभन्दा बढी अप्ठ्यारो र राजनीति भएको बाटो हो, दग्नाम–दर्मिजाको अजिङ्गर भीर । रघुगंगा गाउँपालिका-४ मा पर्ने अजिङ्गर भीरको नाम नै डरलाग्दो बाटो झन् डरलाग्दो । दुई दर्जन बढी यात्रुको मृत्यु भइसकेको ज्यानमारा अजिङ्गर भीरमा पनि अहिलेसम्म अर्ब बढी रकम खर्च भइसकेको छ । तर, अवस्था उस्तै छ । दर्मिजा, चिम्खोला, मंगले, ध्याँसीखर्कवासी हिँड्ने एक मात्र बाध्यता हो । अजिङ्गर भीर देखाएर पञ्चायतकालदेखि नै गोरेटो, घोडेटोको सपना पूरा नहुँदै हिजोआज नेताहरु मोटर बाटोको सपना बनाउँदै भोट माग्ने गरेका छन् ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले भनेका छन् कि भारत सरकारले आगामी एक वा दुई महिनामा व्यापार सम्झौताको बारेमा राष्ट्रपति डोनाल्ड…

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पातलो ढंगले धम्की दिएका छन्, यदि उनी कीभसँगको द्वन्द्वमा…

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम पछि २६ पश्चिमी देशहरूले युक्रेनमा सेना तैनाथ गर्न सहमत भएको बताएका छन्। म्याक्रोनका अनुसार, यी…

प्रतिकृयाहरू
...