Wednesday 18th July 2018

छाउपडी मुक्त गाउँमा पनि अझै छाउपडी !


कृष्ण प्रसाद गाैतम – मुक्त घोषणा गरिएका यहाँका विभिन्न गाउँमा छाउपडी प्रथा कायमै छ । गुटु, बाबियाचौर, तातापानीलगायत पश्चिम सुर्खेतका आधा दर्जन गाउँलाई मुक्त घोषणा गरिए पनि छाउपडी बार्ने चलनमा कमी नआएको हो ।

चौकुने गाउँपालिका–६, भापरमा जनचेतनामूलक कार्यक्रम गरी छाउपडीमुक्त घोषणा गरिए पनि त्यो एक वर्ष टिकेन । अभियानका क्रममा गैरसरकारी र सरकारी निकायबाट करिब दस लाख रुपैयाँ बढी खर्च भएको थियो ।

साबिकको गुटु गाविस कार्यालयले भत्काएको एक महिनामै स्थानीयले नयाँ छाउपडी गोठ बनाए । २० घरधुरी भएको भापरमा चार छाउपडी गोठ छन् । महिनावारी भएका बेला घर नजिकैको छाउ घरमा महिला पालैपालो छाउ बस्ने गरेका छन् । महिनावारीका बेला ६ दिनसम्म छाउगोठमा बस्ने गरेको स्थानीय प्रतिमा वयकले बताइन् । ‘जति छाउगोठ भत्काए पनि हाम्रो मन परिवर्तन हुँदैन,’ उनले भनिन्, ‘वर्षौंदेखि मान्दै आएको रीतिलाई कसरी एकै दिनमा छोड्न सकिन्छ ?’

स्थानीय धर्मराज शर्माले भापरमा रहेका सबै जग्गा ‘श्री बन्डाली देवताको गुठी’ को नाममा भएकाले स्थानीयको पुरानो प्रथाप्रति बढी विश्वास रहेको बताए । ‘नजिकै बन्डाली देवताको मन्दिर छ,’ उनले भने, ‘महिनावारी भएका बेला छाउ नबसे अनिष्ट हुने हो कि भन्ने त्रास महिलामा छ ।’

उनले आफूहरूले पटक–पटक प्रयास गरे पनि महिलाको मन परिवर्तन गर्न नसकेको बताए । साबिकको गुटु गाविसमार्फत सञ्चालन गरिएको छाउपडीमुक्त गाउँ घोषणा अभियानका संयोजक सरुण बडुवालले पुरानो मान्यता अझैसम्म नगएकाले स्थानीयवासीले पुन: छाउगोठ बनाएको बताए । स्थानीय अगुवा झपेन्द्रबहादुर वयकले महिला नै महिनावारी भएका बेला घरभित्र बस्न नमान्ने गरेको जनाए । ‘छाउमुक्त अभियानका बेला केही समय घरमै बसेका केही महिला बिरामी परेका थिए,’ उनले भने,‘त्यसैले फेरि छाउगोठमै बस्ने गरेका हुन् ।’

स्थानीय लक्ष्मीदेवी उपाध्यायले महिनावारी भएका बेला घरभित्र बस्दा देवीदेवताले अनिष्ट गर्ने भएकाले छाउ बस्ने गरेको दाबी गरिन् । ‘हामीलाई पनि कष्ट सहेर छाउ बस्न रहर छैन,’ उनले भनिन्, ‘पुरानो थिति नमान्दा केही अनिष्ट हुन्छ कि भन्ने बाध्यताले छाउ बस्ने गरेका छौं ।’ उनले सामूहिक र सुरक्षित छाउगोठ बनाउन गाउँपालिकासँग माग गरेको बताइन् । गाउँपालिकाले सुरक्षित घर बनाइदिए पुराना गोठ भत्काउन महिला तयार रहेको उनको भनाइ छ ।

छाउ बस्दा खानपानमा समस्या हुने, ज्वरो आउने, चिसो लाग्ने, स्याहारसुसार गर्न नपाउने, डरैडरमा सुत्नुपर्ने लगायतका समस्या हुने गरेका छन् । गुटु महिला सञ्जालकी पूर्वअध्यक्ष डिलसरा सलामीले छाउ बस्ने गरेका कारण भापरका महिलामा धेरै स्वास्थ्य समस्या भएको बताइन् । ‘छाउ बस्दा समयमै खान नपाउने, सरसफाइमा ध्यान नदिने र स्याहार नपाउने भएकाले महिलामा पाठेघर लगायतका समस्या बढी छन्,’ उनले भनिन्,‘सञ्जालमार्फत विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौं, तर देउताको डरले पुराना पुस्ताका महिलालाई कन्भिन्स गर्न गाह्रो छ ।’ उनका अनुसार पाका महिलाका कारण उनीहरूका छोरी–बुहारीले छाउ मान्नुपर्ने अवस्था आएको छ ।

बाहिर गएका बेला महिनावारी नबार्ने महिलालाई गाउँ आएपछि छाउमै बस्नुपर्ने बाध्यता छ । ‘अभिभावकको दबाबका कारण किशोरीलाई छाउ मान्नुपर्ने बाध्यता छ,’ चौकुने ६ का वडाध्यक्ष इन्द्रप्रसाद ढकालले भने,‘वडामा रहेका सामाजिक विकृति रोक्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी - नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता…

तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने…

तितोपाटी - नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा…

प्रतिकृयाहरू