Tuesday 24th March 2026

विदेशमा तीन छोरा गुमाएका दम्पतीको अब विदेश नपठाउने अठोट


दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भयो ।

घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बने । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् ।

रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन पुगेका तीन छोराको शव बाकसमा घरको आँगनमा आएपछि लीलमति र धनबहादुरका आँखा अहिले पनि रसाइरहेका छन् ।

धनबहादुर र लीलमतिका चार भाइ छोरामध्ये १० वर्ष अगाडि माहिला भक्तबहादुरको कतार, सात वर्ष अघि जेठा छोरा भक्तबहादुरको मलेसिया र कान्छा छोरा धर्मको गत वर्षको चैत महिनाको ११ गते मलेसियामै ड्युटी गरिरहेको अवस्थामा मृत्यु भएको थियो ।

दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको डिट्युटीमै मृत्यु भएपछि रोका दम्पतीले आफ्नो साहिलो छोरा थमबहादुर र नातिहरूलाई कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका हुन् ।

“बूढेशकालको सहारा एउटा छोरामात्रै छ, तीनवटा छोरालाई दैवले लग्यो” आफ्नो कोखबाट जन्मिएको अन्तिम सन्तानलाई गुमाउँदाको पीडा सुनाउँदै लीलमतिले भने, “तीनवटा छोरालाई विदेशमै गुमाएँ, बँचेको साहिलो छोरा छ, हामी उसकै काखमा मृत्युवरण गर्न चाहन्छौँ, त्यसैले गरिबीले जति सताए पनि कुनै हालतमा पनि छोरा नातिलाई अब विदेश पठाउँदैनौँ ।”

औषधोपचार र घरायसी कामको सिलसिलामा आमाबुबालाई सदरमुकाम बेनीमा लिएर आएका रोका दम्पतीका साहिला छोरा थमबहादुरले विदेश जानका लागि बनाएको राहदानी पनि स्व दाजु र भाइको राहदानीसँगै फालिदिएको बताए ।

रोकाले भने, “गाउँकै भीरपाखामा खेल्छु, आमाबुबाको हेरचाह गर्छु, एकपेट भोकै एकपेट मकै खाएर भए पनि गुजारा गर्छु तर आमाबाबाको मन कुँडाएर विदेश जान्न ।” (रासस)

साभार हिमालय खबर


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...