Tuesday 11th August 2026

झिलिमिलीको शहर (लघुकथा)


दीपक वाग्ले – केही पर चोकमा जुनेली रातको सन्नाटालाई चिर्दै कोही बिलौना गरिरहेको सुनिन्थ्यो । अस्पष्ट र निरन्तर झर्को लाग्दो गुनगुनाहट कानमा प¥यो । चुरोटको अन्तिम सर्कोसँगै म त्यही विकृत र भग्नावशेष आकृतितर्फ बढे । अन्दाजी २५–२६ सेरोफेरोको यौटी युवती मानसिक सन्तुलन गुमाएर सडकमा बेपर्वाह बरबराइरहेकी थिई । वरपर केही मानिसहरू त्यस आकृतिदेखि तर्कंदै परपरबाट हिँडेको देखिन्थ्यो । एकाएक उनको आँखा मसँग जुध्यो । क्षितिजभन्दा पनि पर पृथ्वीको कुनै कुनामा दुई अपरिचित प्राणीको अकल्पनीय र अन्योन्याश्रित भेट जस्तो ऊ झसङ्ग भई र मौन रही ।

मलाई अप्ठ्यारो महसुस भयो र बिस्तारै गन्तव्यविहीन पाइलाहरू बिस्तारै चाल्न लाग्दा ऊ अघिको कर्कश आवाजबाट बाहिर निस्किँदै केही भन्न थाली । ‘सुन्नुस न ?’ म फर्किएँ । ‘के ऊ फर्केर आउला त मलाई लिन ?’ म अकमकिएँ ‘कहाँबाट ?’ ‘ऊ त्यो बादलभन्दा पनि पर.. धेरै परको सहरबाट ? भन्नुस् न ? ऊ छिट्टै आउँछु भन्थ्यो । ऊ आएर मलाई लिएर जान्छु भन्थ्यो । त्यो रातमा पनि उज्यालो हुने सहरमा । हा.. हा.. त्यो झिलिमिलीको सहरमा । उसले वाचा गरेको थियो ।’ ऊ एकाएक भुइँमा हेर्दै सुकसुकाउन थालि। ‘सुन्नुभएन तपाईंले ? उसले कसम खाएर गएको थियो । भन्नुस् न ऊ आउँछ नि ?’

म फिस्स हाँसे र सोचे आखिर के नै फरक छ र हामी दुईमा । ऊ कसैको यादमा पागल भई र म पागल भएर कसैलाई याद गर्दैछु । सायद हामी दुवैको कुनै भविष्य छैन र भविष्य नभएका हामी दुवै खेलौनाजस्तै हौँ । कसैको जरुरत पूरा भएसँगै मिल्किन्छौँ, कुनै कुना कन्दराहरूमा । समयको आँधीबेहरीसँगै कसैले नदेख्ने र कसैले नभेट्ने गरी । म फिस्स हाँसे । ‘अवश्य धैर्य गर । ऊ फर्केर आउँछ । अनि तिमीलाई पनि त्यो झिलिमिलीको सहरमा लिएर जान्छ ।’ उसको विकृत चेहरा अकस्मात उज्यालो भयो । केही कुरा पाएर तृप्त भए जस्तो गरी ऊ खुसी हुँदै निलो गगनतिर नियाल्दै चिच्याउँन थाली । ‘सुन्यौ मैले भनेको थिए नि, तिमीलाई । ऊ एक दिन फर्केर आउँछ र मलाई लिएर जान्छ.. ।’ केहीबेरमा ऊ त्यहाँबाट बिलिन भई ।

म कतै लागेँ । थाहा छैन कता हिँड्दैछु र सोचेँ सायद उनले पर्खी बसेको त्यो अपरिचित कहाँ होला ? कतै परदेशमा उसको सम्पत्तिसँगै सपनाहरू पनि बढ्दै गयो कि ? वा सपना देखाउँनेहरू पनि बढ्दै गए ? वा सपनाहरूसँगै घमण्ड पनि बढ्दै गयो ? थाहा छैन तर ऊ निश्चय पनि फर्कंदैन । उसले त्यो रङ्गीन दुनियाँभित्र यी पुराना यादहरूलाई च्यातेर फ्याँकिसक्यो होला कुनै समुद्री किनारमा । जसलाई हरेक छालको लहरले बिस्तारै शून्यतामा विलीन गराएर सधैँका लागि अन्त्य गरिदेओस् ।


सम्बन्धित शीर्षकहरु

रुसको तातारस्तान क्षेत्रस्थित निज्नेकाम्स्क (Nizhnekamsk) शहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते…

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ।…

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

प्रतिकृयाहरू
...