Thursday 25th April 2024

बाल विवाहको पराकाष्ठाः १३ वर्षकी अामा, २९ वर्षकी हजुरअामा


जनकराज सापकोटा – सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको जनरल वार्ड, बेड नम्बर ४ । तेह्र वर्षीया ममता मरिक एकमहिने शिशुलाई जेनतेन सम्हालिरहेकी छन् । आफैंलाई सम्हाल्न नसकिरहेकी किशोरीका काखमा दूधे बालक ! उनको यो दयनीय अवस्था देख्ने सबैका आँखा रसाउँछन् ।

ममताको मातृत्वबारे जान्न उनकी आमा २९ वर्षीया भुटी मरिकको कथा सुन्नुपर्ने हुन्छ । घाँटीमा कालो र मैलो कपडाको धजोमा झुन्डिएका दुई बुटी । एउटा, भूत, प्रेत र डाइन लाग्दैन भनेर पचास रुपैयाँमा गाउँकै धामीले भिडाएको, अर्को दशाग्रहकट्छ भनेर पण्डितले । महिनाअघि हजुरआमा बनेकी भुटीको परिचय यत्तिमै सकिँदैन । १५ वर्षमा बिहे, चार सन्तानकी आमा उनका अतिरिक्त परिचय हुन् । रक्सीका अम्मली श्रीमान् गुजाई मरिकको रातदिनको टोकसो र हिंस्रक व्यवहार पचाइरहेकी भुटीले सुनाएको छोरी ममताको बिहे र त्यसपछिका घटनाक्रमको कथा आङ नै सिरिंग पार्ने खालको छ ।

२०७४ जेठ । सुनसरीको गढी गाउँपालिका ९, सतरझोडास्थित घरबाट १२ वर्षीया ममता उदयपुर, आमवासीस्थित फुपू ललिता मरिकको घर पुगिन् । फुपूले अभिभावकलाई थाहै नदिई फकाएर सिरहा, गोलबजारछेउको मुसरिया टोलका ३१ वर्षीय प्रकाश मरिकसँग उनको बिहे गरिदिइन् ।

केही दिनपछि मात्रै भुटीले छोरीको बिहे भएको थाहा पाइन् । उनी श्रीमान्लाई लिएर ललिताको घर पुगिन् । तर ललिताले राम्रो र माया गर्ने केटो भएकाले बिहे गरिदिएको, दाइजो जोगाइदिएको बताइन् । ललिताले प्रकाशसँग पटक–पटक गरेर ५० हजारभन्दा धेरै रकम र एउटा सुँगुर लिएको भुटीले गाउँलेबाट थाहा पाइन् । उदयपुरस्थित कान्तिपुरकर्मीसँग कुरा गर्दैललिताले आफूले केटा पक्षबाट ६० हजार रुपैयाँ र झन्डै १६ किलोको सुँगुर लिएको स्विकारिन् । उनले भनिन्, ‘लिएको पैसा बिहेमा खर्चिएँ । त्यही सुँगुर काटेर जन्तीलाई भोज खुवाएँ ।’

निरक्षर मरिक दम्पती छोरीले घरमा नभनी बिहे गरेको भन्दैमुर्मुरिएर गाउँ फक्र्यो । दिन, साता र महिना बिते । नौ महिनापछि भुटीले खबर पाइन्, ममता सुत्केरी भई । नातिनी जन्मेको छैटौं दिन अर्थात् छठिहारका दिन बाबु गुजाई संस्कारअनुसार ५ केजी चामल, आधा लिटर तेल, सुतीको सारी, पेटिकोट, चोलो, बच्चाको कपडा र अरूको नजर नलागोस् भनेर बच्चाका हातमा बाँध्ने कालो धागो लिएर छोरी भेट्न सिरहा पुगे ।

त्यहाँ पुगेपछि उनले चाल पाए, ज्वाइँ प्रकाशले यसअघि नै अर्को बिहे गरिसकेका रहेछन् । उनकी पहिली श्रीमतीबाटै दुई छोरी भइसकेका रहेछन् । सौताको अवहेलना र छोरी जन्माएको भन्दै श्रीमान्को निरन्तर कुटपिटले ममता थिलथिलो भइसकेकी रहिछन् । आफैंलाई सम्हाल्न नसक्ने उनी जेनतेन छोरी स्याहारिरहेकी थिइन् । क्षयरोग लागेका ज्वाइँले आफैं बिरामी भएको भन्दै छोरी लिएर जान दबाब दिएपछि भुटीका श्रीमान् छोरी र नातिनी लिएर घर फर्के ।

कान्तिपुरको सम्पर्कमा आएका लहानका एक दलित अभियन्ताले प्रकाशले दोस्रो बिहे गरेको, दोस्रीबाट पनि छोरी नै जन्मेपछि कुटपिट गरेको खबर गाउँलेबाट थाहा पाएको बताए । ती अभियन्ताले भने, ‘यो कुराबारे मुसरियाका धेरै जानकार छन् तर उनीहरू खुलेर यसबारे बोल्न चाहँदैनन् ।’

कलिली ममता काखमा छोरी च्यापेर घर छिरेपछि भुटीले आफूलाई थाम्न सकिनन् । छोरीको दु:खको फेहरिस्त सुनेपछि उनको मन झनै कुँडियो । उनले मधुरो स्वरमा भनिन्, ‘छोरीको कुराले मन बहकियो अनि म धरधरी रोएँ ।’ भुटीले त्यही दिन नजिकैको हटिया पुगेर तीन सय रुपैयाँमा एक जोर परेवा किनेर ल्याइन् । दोस्रो दिनदेखि ममताको मुखबाट रगत बग्न थाल्यो । त्यसपछि भुटी छोरी र नातिनी च्यापेर जिल्ला अस्पताल इनरुवा पुगिन् । सामान्य परीक्षणपछि डाक्टरले औषधि दिए । तर, एक सातासम्म बेथा नघटेपछि उनीहरू फेरि अस्पताल पुगे ।

पाँच दिनको उपचारपछि चिकित्सकले भने, ‘नाबालकलाई कुपोषण छ । आमाको स्वास्थ्यमा पनि जटिल समस्या छ ।’ चिकित्सकका अनुसार शिशुको तौल दुई किलो एक सय ग्राम मात्रै थियो भने एक सातादेखि शिशुले पर्याप्त दूध र अन्य आहार पाएको थिएन । ममताको शरीरमा पनि रगतको मात्रा एकदमै कम थियो र पोषणको कमीले स्वास्थ्य कमजोर बनेको थियो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार नवजात शिशुको औसत तौल तीन किलो एक सय ग्राम हुनुपर्छ । डाक्टर गौतमका अनुसार दुई किलो पाँच सय ग्रामभन्दा थोरै तौलको शिशुको स्वास्थ्य कमजोर हुने, सुगरको कमी हुने र संक्रमण जोखिम हुने सम्भावना बढी हुन्छ । ‘बीस वर्ष पुगेपछि मात्रै छोरीहरू बच्चा जन्माउन शारीरिक रूपमा परिपक्व हुन्छन्,’ उनले भने, ‘कम उमेरमा आमा बनेकाको स्वास्थ्य सधैं जोखिममा हुन्छ ।’ खेल्ने, रमाउने र आफैं हुर्की, बढ्ने उमेरमा आमा बन्नेहरूको उमेरजन्य विकासक्रममै असर पर्ने डाक्टर गौतम बताउँछन् ।

इनरुवा अस्पतालमै रहँदा स्थानीय रमेश अधिकारीले उनीहरूको हालतबारे पत्रकारलाई जानकारी दिए । खबर फैलिँदै ‘इनरुवा सुनसरी’ नामक फेसबुक पेज चलाउनेहरूसम्म पुग्यो । उक्त पेजका सदस्य राकेश निरौलाले ममता र उनकी छोरीलाई थप उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल पुर्‍याए ।

ममताको श्वासप्रश्वासमा समस्या भएको र सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने तर आईसीयू खाली नभएको बताइएपछि उनले दुवै बिरामीलाई नोबेल अस्पताल पुर्‍याए । नोबेलले थप उपचारका निम्ति काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र रिफर गरिदियो ।

जेठ २ गते भुटी छोरी र नातिनी लिएर गंगालाल अस्पताल आएकी थिइन् । उनीहरूलाई साथै लिएर आएका राकेशले उपचारको व्यवस्थापन गरिदिए । भुटीको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले विपन्न परिवारको आपत् देखेर आकस्मिक बोर्ड बैठकबाट एक लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गराएको जानकारी दिए । कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष यादवले एक लाखमध्ये ६० हजार रुपैयाँ दिइसकिएको र अरू छिट्टै दिइने बताए । उनले भने, ‘डोमहरूको अवस्था नाजुक छ, सरकारले पनि मुसहरलाई मात्रै दलितकारूपमा हेर्छ ।’

बिहीबार अस्पतालबाट डिस्चार्ज हुँदा ममताको अनुहारमा खुसीको घुर्मैलो रेखा थियो । तर उनको पूरै उपचार अझै सकिएको छैन । डाक्टर रामेश कोइरालाका अनुसार ममताको मुटुका दुवै भल्भमा समस्या देखिएको छ । ‘भल्भ नै फेर्नुपर्ने देखिन्छ,’ उनले भने । डाक्टर कोइरालाका अनुसार कमजोर मुटुकी ममता गर्भवती भएपछि गर्भमा रहेको सन्तानका निम्ति समेत रक्तसञ्चार गर्नुपर्ने भएकाले अतिरिक्त भार खेप्नुपर्‍यो । त्यसले उनको मुटु झनै कमजोर बनेको देखिन्छ । ‘भल्भ फेरेपछि पनि अनेक समस्या आइरहन्छन्, उपचार र औषधि सेवन गरिराख्नुपर्छ,’ उनले भने, ‘भल्भ फेर्नुअघि केही समय उपचार र बलियो अभिभावकत्वको खाँचो छ ।’

युनिसेफसँग मिलेर नेपालले सन् २०१६ मा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति जारी गरेको थियो । संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्यलाई पछ्याइरहेको नेपालले सन् २०३० सम्म बालविवाह पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । ममताको बालविवाह र त्यसपछिको कथाले सरकारी प्रतिबद्धतालाई गिज्याइरहेझैं लाग्छ ।

युनिसेफले सन् २०१७ मा प्रकाशित गरेको ‘इन्डिङ अ चाइल्ड म्यारिज इन नेपाल’ शीर्षकको प्रतिवेदनमा भनिएको छ, ‘बालविवाह भएका तीनमध्ये एक बालिका आफ्नै श्रीमान्बाट यौन शोषणमा पर्ने गरेका छन् भने शारीरिक हिंसा भोग्ने ६ मध्ये एक जनाको बालविवाह भएको छ ।’ युनिसेफको प्रतिवेदनअनुसार एसियाली देशमध्ये नेपाल सबभन्दा धेरै बालविवाह हुने देश हो । ममताको कथाले युनिसेफको प्रतिवेदनलाई थप पुष्टि गर्छ ।

बालक र बालिका दुवै बालविवाहको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । ‘२० देखि २४ वर्ष उमेर समूहका एक तिहाइ महिला १८ वर्षको उमेरमा विवाह भएको बताउँछन् भने प्रत्येक दसमा एक जनाले १५ वर्षमै विवाह गरेको देखिन्छ,’ प्रतिवेदनमा जनाइएको छ । अमेरिकाको न्युयोर्कमा मुख्यालय रहेको ह्युमन राइट्स वाचले पनि सन् २०१६ मा नेपालले बालविवाह रोक्न पर्याप्त कदम नचालेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । वाचले नेपालका झन्डै ३७ प्रतिशत किशोरीले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो ध्यानाकर्षण गराएको थियो ।

जनगणना २०६८ मा आधारित भएर प्रकाशित गरिएको ‘सिचुएसन अफ भायोलेन्ट अगेन्ट्स चिल्ड्रेन इन नेपाल’ नामक अध्ययनका अनुसार नेपालमा ३ लाख ४२ हजार ७ सय ६४ जना १८ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिएका छन् । तथ्यांकले १८ वर्ष नपुग्दै कतिपयले बहुविवाह, पुन: विवाह, विधवा वा विधुर विवाह, सम्बन्धविच्छेदजस्ता समस्या खेपेको देखाएको छ । जनगणनाले १० देखि १८ वर्ष उमेरभित्र विवाह गर्ने बालबालिकामध्ये सबैभन्दा ठूलो संख्या मधेसी दलित समुदायमा रहेको देखाउँछ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...