Thursday 1st January 2026

१३ खर्ब १५ अर्बको नयाँ बजेटः कुन क्षेत्रले कति पाए ?


काठमाडौं– संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको (२०७५/७६)  लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट (वार्षिक आय— व्यय विवरण) पेश गरेको छ ।

चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो आकारको अन्तर छैन । सम्पूर्ण बजेटमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख (६४.३ प्रतिशत), पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख (२३.९ प्रतिशत) र वित्तिय व्यवस्थातर्फ १ खर्ब ५ अर्ब ७१ करोड ६० लाख (११.८ प्रतिशत) छुट्याइएको छ ।

सरकारले यसको खर्च जुट्ने स्रोत पनि पेश गरेको छ ।  बजेटको स्रोत भनेको राजस्व, आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान हो । ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख राजस्वबाट, वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ व्यहोरिने छ ।

यस्तै आगामी आर्थिक वर्षमा मूल्यबृद्धि ५ प्रतिशतमा सिमित हुने अर्थमन्त्री डा.युवराज खतिवडाले दाबी गरेका छन् । बजेट कार्यान्वयनका लागि ८ प्रतिशत आर्थिक बृद्धिदर पुर्याउने सरकारको लक्ष्य छ । सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने भन्दै चुनाव जित्ने आधार बनेको बाम गठबन्धनको घोषणापत्रको यो विषयले यस पटकको बजेटमा प्रवेश पाएको छैन् । सामाजिक सुरक्षा भत्ता त्यतिबेला दुई हजारबाट बृद्धि गरेर ५ हजार पुर्याउने भनिएको थियो ।

नेकपा (नेपाल कम्यूनिष्ट पार्टी) को सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक समृद्धिको आधार वर्षको रुपमा लिएकोले पनि बजेटमा सबैको चासो गएको हो । यस पटकको बजेटले ठुला—ठुला आयोजनालाई प्राथमिकता दिएको छ । कर्मचारीको तलब बढेको छैन । मदिरा तथा सूर्तिजन्य पदार्थको अन्तशुल्क बढेको छ ।
अर्थमन्त्री डा.खतिवडाले गरिबीको अन्त्य गर्ने, दु्रत गतिमा मानव विकास गर्ने, रोजगारीको क्षेत्रको प्रबद्र्धन गर्ने, कार्यान्वयनमा आउने आयोजनालाई मात्र संघले विनियोजन गर्ने यो बजेटको उदेश्य रहेको भनेका छन् ।
नेपालमा सन २००८ सालदेखि बजेट प्रस्तुत गर्न थालिएको हो । आर्थिक वर्षको अन्त्यमा प्रस्तुत गरिने बजेटलाई संविधानले नै गणतन्त्र दिवसको रुपमा प्रस्तुत गर्ने व्यवस्था गरेपछि प्रत्येक वर्षको जेठ १५ गते बजेट पेश हुने गरेको हो ।

चालु आवको (२०७४/७५) बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट ल्याएको थियो । जसमा चालू खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड, पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब १७ करोड र वित्तिय व्यवस्थापनतर्फ १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँको बजेट ल्याइएको थियो ।

 कुन क्षेत्रमा कति छुट्याइयो ?

शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब
सरकारले आगामी आवका लागि शिक्षाको क्षेत्रमा १ खर्ब ३४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । सरकारी र नीजि विद्यालयको बिचको शैक्षिक गुणस्तरमा अन्तर नदेखाउन सरकारी विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने भनिएको छ । यस्तै, शैक्षिक प्रमाणपत्र धितोमा राखेर ५ प्रतिशत ब्याजदरमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने बजेटमा उल्लेख छ । शिक्षक दरबन्दीको समान वित्तरण, सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न निशुल्क इन्टरनेटको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड 
स्वास्थ्य बिमा कार्यक्रम मुलुकभर विस्तार गर्ने,प्रत्येक वडामा न्युनतम एक स्वास्थ्य सेवा संस्थाको व्यवस्था गर्ने, ७० वर्ष माथिका बृद्धबृद्धालाई १ लाख रुपैयाँसम्मको बीमा शुल्क सरकारले बेहोर्ने भएको छ । सरकारले स्वास्थ्य क्षेत्रका लागि ५६ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

खेलकुदमा २ अर्ब ४ करोड  
प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउन सरकारले बजेट बिनियोजन गर्नेछ । तेह्रौ दक्षिण एशियाली खेलकुदको तयारी तथा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अर्थात समग्र खेलकुदको विकासको लागि सरकारले २ अर्ब  ४ करोड रुपैयाँ छुट्याएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि १ अर्ब ८८ करोड 
सामाजिक सुरक्षा बृद्धि गर्दै लैजाने सरकारको नीति छ । अब हरेक सन्तानले आफ्नो अभिभावकलाई अनिवार्य हेरिनुपर्ने व्यवस्था गरिने भएको छ  । सरकारले महिला तथा बालबालिकाको क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख रुपैयाँ छुट्याएको छ ।

कृषिमा 
प्रधानमन्त्री कृषि कार्यक्रमका लागि ४ अर्ब ७७ करोड, सबै प्रकारका कर्जामा दिने ब्याज अनुदान ५ अर्ब, मुक्त कमैया र हलियाको पुर्नस्थापनाका लागि  ३ अर्ब ८९ करोड छुट्याइएको छ ।

वन तथा वातावरणमा १६ अर्ब ५८ करोड 
वन व्यवस्थापनलाई बैज्ञानिक बनाउँदै लैजाने, राष्ट्रिय चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउने भनिएको छ । यसका लागि सरकारले १६ अर्ब ५८ करोड छुट्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा १० अर्ब ४४ करोड
प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्रको स्थापना गर्ने, न्युनतम २० उद्योग ग्राम प्रत्ेयक प्रदेशमा बनाउने र अर्थतन्त्रमा उद्योगको योगदान बढाउन ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने लगायत यस शीर्षकमा समेटिएका छन् ।

पर्यटन क्षेत्रमा ५ अर्ब २० करोड 
भिजिट नेपाल २०२० घोषणा गरेर दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने सरकारको भनेको छ । पर्यटन प्रबद्र्धनका लागि ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड विनियोजन
खानेपानी क्षेत्रका लागि २४ अर्ब ५ करोड
उर्जा क्षेत्रको लागि ८३ अर्ब ८९ करोड विनियोजन
भवन र पूर्वाधारको लागि ३३ अर्ब ३७ करोड
यातायता पूर्वाधार विकासको लागि १ खर्ब ९ खर्ब ३८ करोड 

-रातोपाटी


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...