Saturday 18th May 2024

मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपतिबाट कैद माफी भएपछि बालकृष्ण ढुंगेल जेलबाट रिहा


तितोपाटी डट कम – द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् ।

जेलबाट छुटेलगत्तै पूर्व सभासद् एवं पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई कार्यकर्ताहरूले पेरिसडाँडा पुर्‍याए। माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडा पार्टी एकीकरणपछि नेकपाको कार्यालय बनेको छ।

त्यहाँ रहेको सहित तथा बेपत्ता स्तम्भ अगाडि उभिएर ढुंगेलले आफ्नो मन्तव्य कविताबाट सुरु गरेर कविताबाटै अन्त्य गरे।

“टाउकोमाथि बम खसी

गोली छाती भरी

दाम्लोसँगै भैसी मरी

मान्छे जंगल भरी ।

तर आकाशमा उडे राता चरी….।”

समर्थक र कार्यकर्तालाई सम्बोधन गर्नुअघि भावुक देखिएका ढुंगेलले आफू जेलबाट रिहा भएको यो पहिलोपटक नभएकोले अन्तिमपटक पनि नहुन सक्ने बताए। आफू फेरि पनि समातिन सक्ने उनको संकेत थियो।

‘बालकृष्ण ढुंगेल तेस्रो पटक रिहा भएको हो, पहिलो पटक पनि होइन’, उनले भने, ‘सायद त्यो अन्तिम पटक पनि नहुन सक्छ।’

सत्ताले शासक जन्माएमा पुनः विद्रोह हुने र त्यसक्रममा फेरि जेल जानुपर्ने हुन सक्ने उनको भनाई छ। ‘जनताका आन्दोलनहरूबाट शासन गर्न पुगेपछि सत्ताले शासक जन्मायो भने फेरि जन्ताले विद्रोह गनु पर्ने हुन्छ र त्यस्तो भयो भने फेरि पनि जेल जानु पर्ने हुन्छ।’

आफूले गणतन्त्र स्थापनाका लागि लड्दा आफूमाथि सजायँ मिलेको उनले बताए। ‘मलाई लागेको थिएन, तेस्रो पटक जेल जान्छु’, उनले भने, ‘मैले गणतन्त्र जिन्दावाद भन्दै गर्दा हिटरमा पिसाब फेराएर मिर्गौला ड्यामेज गर्ने शेरबहादुर देउवाजीहरू गणतन्त्र आएपछि प्रधानमन्त्री हुनुहुन्छ होला भनेर कहिलै कल्पना गरेको थिइनँ।’

उनले आफूलाई जस्तो अपराधी कसैलाई पनि नबनाउन न्यायधीशहरूलाई आग्रह गरे। पत्रकार, वकिल, मानवअधिकारवादीहरूले आफ्नो कुरा कहिल्यै नसुनेको र आफ्नो स्वार्थअनुकूलमात्र काम गरेको उनले आरोप लगाए।

‘म बालकृष्ण ढुंगेल न्यायालयको बेन्चबाट न्याय बलात्कार भएको बलात्कृत पात्र हुँ। म मेरो भागमा परेको गणतन्त्र अपहरणमा परेको व्यक्ति हुँ’, उनले भने, ‘अरु बालकृष्ण ढुंगेल बन्न नपरोस्, कसैको पनि गणतन्त्र अपहरित नपरोस्।’

रिहा भएपछि बालकृष्णले भने- ‘त्यति खुसी पनि छैन र निराश पनि छैन’

उनले आफूलाई जस्तो अपराधी कसैलाई पनि नबनाउन आग्रह गरे। ‘कसैको न्याय बलात्कृत नहोस्’, उनले भने, ‘बालकृष्ण ढुंगेललाई जस्तो न्याय बलात्कार गरेर अपराधी नबनाइयोस्।’

आफूविरुद्ध अदालतमा मानहानी अझै कायम रहेको उल्लेख गर्दै ढुंगेलले आफू राजनीतिक योद्धा भएको र युद्धकालमा भएका सबै घटनाको जिम्मा पार्टीले लिने बताए। ‘१० वर्षको जनयुद्धमा जति पनि घटना घटे ती पार्टीको निर्देशन अनुसार घटेका हुन्’, उनले भने, ‘ती मेरा व्यक्तिगत होइनन्।’

आफूलाई फसाउन मुख्य भूमिका रहनेहरूले पनि अन्तिममा आफ्नो मुद्दा राजनीतिक विषय रहेको स्वीकारेको उनको भनाई छ। ‘दिनेश त्रिपाठी र सुवोध प्याकुरेलहरूले पनि अन्तिममा टिआरसी र जेनेभा कन्भेन्सन अन्तर्गत हल गर्नुपर्छ भनेका छन्। उनीहरूले पनि बालकृष्णलाई योद्धा घोषणा गरेका छन्’, उनले भने, ‘पैसा कमाउन बेइमानी गर्नेहरूले आफूलाई मानवअधिकारवादी भन्न मिल्छ कि मिल्दैन?’

भाषणको सुरुवातमा जस्तै ढुंगेलले अन्तिममा पनि कविता सुनाएः

झुपडी र आँगन छैन

मर्दा पोल्ने चिहान छैन

अझै हामी श्रमिकको झुल्के घामको विहान छैन….।

घटना के हो ?

सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

त्यसपछि पक्राउ परेर कैद सजाय भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए। त्यसपछि तत्कालीन माओवादीकातर्फबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा उनी ओखलढुंगाबाट निर्वाचितसमेत भएका थिए।

२०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि भने उनी ‘‘फरार अभियुक्त’ बने। तर राजनीतिक रूपमा भने उनी निरन्तर सक्रिय थिए।

सर्वोच्चले बारम्बार ताकेता गर्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेकामा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै २०७४ कात्तिक ७ मा प्रहरी प्रमुखविरुद्ध अवहेलना मुद्दा दायर भएपछि ढुंगेल पक्राउ परेका थिए।

तत्कालीन माओवादीले जनयुद्धकालमा भएको घटनामा शान्ति सम्झौताविपरीत ढुंगेललाई सजायँ दिइएको भन्दै विरोध जनाउँदै आएको थियो।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...