Wednesday 10th December 2025

नवलपरासीका थानेश्वर ४५ लाख तिरेपछि साउदी जेलबाट मुक्त भए, छिट्टै स्वदेश फर्कदै


करिब ५ वर्षपछि साउदीको जेलबाट थानेश्वर भुसाल रिहा भएका छन् । परिबन्धका कारण ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल सोमबार रिहा भएका हुन् ।

उनलाई जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको छ । उनलाई अब डिपोर्टेशन सेन्टरबमा पठाएर नेपाल फर्काउन अन्तिम प्रक्रिया पुरा गर्नुपर्नेछ । थानेश्वरसँगै साथमा नगेन्द्र लामा पनि जेलमुक्त भएका छन् ।

भुसाललाई जेलमुक्त गर्न प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ४५ लाख रुपैयाँ रकम संकलन गरेको थियो । सो रकम बुझाएर थानेश्वर जेलमुक्त भएको पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले अनलाइनखबरलाई बताए ।

थानेश्वरकी आमा यमकलाको रोदनसहितको समाचार प्रकाशित भएपछि उनका लागि सहयोगी हातहरु सक्रिय भएका थिए । विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील पीएनसीसीको संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो ।

कसरी परेका थिए जेल ?

नवलपरासीको मध्यविन्दु नगरपालिका ८ घर भएका थानेश्वरको परिवार निकै गरिव छ । गरिबीलाई नै मेटाउन सवारी चालकका रुपमा उनी साउदी पुगेका थिए ।
तर, दुर्भाग्यबस अर्काको गल्तीका कारण भएको दुर्घटनामा अदालतले उनलाई जेलबाट छुट्न ४५ लाख ब्लड मनी तिर्नुपर्ने फैसला गर्‍यो ।

तर, उनको परिवारको दयनीय अवस्थाका कारण त्यो सम्भव थिएन । त्यसैले उनको उद्धारका लागि सहयोग संकलन अभियान सुरु गर्दा उत्साहजनक रुपमा सहयोग रकम संकलन भएको थियो ।

अभियानका लागि गैह्रआवासीय नेपाली संघ एनआरएनएले पनि १२ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले थानेश्वर बचाउ अभियानमा सहयोग गरेका थिए । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको थियो ।

युवा अवस्थामा नै विदेशिएका थानेश्वर अहिले ३८ वर्षका भए । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्कियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनाको ज्यान गयो ।

साउदीको अदालतले दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वरलाई दोषी ठहर गर्यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नममा आदेश दिएको थियो ।

छोरा छुटाउन हारगुहार गर्दैगर्दा यमकलाकी बुहारीले पनि घर छाडिन् र अर्को बिहे गरिन् । थानेश्वरका बुवा पनि काम गर्न सक्दैनन् । काम गर्ने क्रममा रुखको हाँगोले टाउकोमा लागेर उनी अशक्त जस्तै भएका छन् ।

अहिले यमकला एक्लैले घरको सबै ब्यवहार हेर्छिन् । उनी जति पीडा बोकेरै भएपनि छोरालाई नेपाल फिर्ता ल्याउन कस्सिएकी थिइन् । उनको पहलमा सुरु भएको थानेश्वर बचाउने अभियान सफल भएको छ ।


सम्बन्धित शीर्षकहरु

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

इरानको अदालतले मंगलबार घोषणा गर्‍यो कि आफ्नै पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन।…

प्रतिकृयाहरू
...