Saturday 1st August 2026

पर्सामा बिद्यालय नहुँदा बिद्यार्थी प्लास्टिक ओछ्याएर पढ्न बाध्य


तितोपाटी – पुसका कठ्याङ्ग्रीदो चिसो चौरमा प्लाष्टिकको बोरा ओछ्याएर बसेका छन्, बालबालीका । शिक्षकका लागि प्लष्टिक कुर्सीको बन्दोबस्त देखिन्छ । पर्साको जगरनाथपुर गाउँपालिका- २, लक्ष्मीपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हो, यो ।

२०१९ सालमा स्थापित यो विद्यालयको ४ कोठे जीर्ण भवन छ, तर डेस्क-बेन्च छैन । पढाईका लागि कहिलेकाँही एउटा कोठा प्रयोग गर्ने गरिएको छ । बाल विकास सहित ५ वटा कक्षा सञ्चालन हुनुपर्ने विद्यालयको यो हविगत छ । हल्का पानी पर्दा पनि चुहिने छानो छ ।

दुई शिक्षक, बाल विकासका १ शिक्षिका, १ कार्यालय सहयोगी गरी चार जना कार्यरत विद्यालयमा अफिस पनि छैन । विद्यालयको कागजपत्र घरमा लगेर राखेको शिक्षकहरु बताउँछन् ।

कक्षा ५ की पुनम कुमारीले जाडो याममा भूँइमा प्लाष्टिकका बोरा ओछ्याएर पढ्दा ज्यादै गाह्रो हुने बताइन् । उनकै कक्षाकी पिंकी कुमारीले बेन्चमा बसेर पढ्ने धोको बताइन् । तर, डेस्क-बेन्च भएको स्कुलमा बढ्न त गाउँबाट २ किलोमिटर टाढा जानुपर्ने उनीहरुले बताए ।

लक्ष्मीपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन ।

प्रधानाध्यापक उन्नतीलाल प्रसाद पटेलले २०७१ सालमा यहाँ आएदेखि नै भवन निर्माणका लागि सरोकारवालाहरुको ढोका ढकढकाएको तर असफल भएको बताए ।

बुझ्दै जाँदा विद्यालय भवन निर्माणका लागि सहयोग नै नभएको भने होईन रहेछ । भवनका लागि २०६६/०६७ मै जिल्ला शिक्षा कार्यालयले ५ लाख ५० हजार रुपैयाँ छुट्एको रहेछ । त्यसबाट निर्माण समितिका अध्यक्ष किसुन महराले विभिन्न कामका लागि भन्दै ७५ हजार र जिल्ला शिक्षा कार्यालयका तत्कालिन सब-ओभर सियर रविन्द्र कुमार मण्डलले ट्रस खरिद गरिदिने भन्दै २ लाख ७५ हजार लिएका रहेछन् । बाँकी २ लाख नेपाल क्रेडिट एण्ड कमर्श बैंक, वीरगञ्जमा राखिएको रहेछ ।

पुरानो हिसाब फर्छ्यौट नभएकाले जिशिकाले सहयोग नगरेको प्रअ पटेलले बताए । ‘न मण्डलले ट्रस ल्याएर दिन्छन्, न निर्माण समितिका अध्यक्षले ७५ हजारको हिसाब देखाउँछन्’, उनले भने, ‘पटक-पटक ताकेता गर्दा पनि भएन । जिशिका जाँदा साढे ५ लाख पछ्यौट भएसम्म न चर्पी दिन्छौं, न भवन भनेर पठाए ।’

गाउँपालिका अध्यक्ष जालिम मिया मन्सुरी विद्यालयको समस्याबारे बेखबर छैनन् । उनले २५ लाख बजेट विनियोजन गरेको र छिट्टै भवन निर्माणको काम शुरु हुने बताए । वरपर रहेको ऐलानी जग्गालाई विद्यालयको नाममा ल्याउने प्रक्रिया पनि अघि बढाएको दाबी उनले गरे ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

करिब ६०,००० आप्रवासी मोरक्कोबाट स्पेनी भूभाग स्यूटा प्रवेश गरेपछि स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गरेको छ। स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मृत्यु…

नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको…

दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको भनिएको एक ठूलो भूमिगत सुरुङ संरचना ध्वस्त गरिएको इजरायली सेनाले जनाएको छ। इजरायल डिफेन्स…

प्रतिकृयाहरू
...