दूर क्षितिजबाट आज तिमीलाई निहारेँ,
नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ।
मन्द पवन बनी आयो तिम्रो मधुर सुवास,
श्वास–श्वासभित्र राखेँ प्रेमको त्यो आभास।
शशि उदायो गगनमा, तारागण मुस्काए,
तिम्रो मुखको ज्योत्स्नाले रातहरू झलमलाए।
ताराले सोधे शशिलाई—“तिमी कि ऊ नै हौ?”
मेघको घुम्टोभित्र फेरि लुक्दै हाँसेझैँ हौ।
चेत हरायो एकैछिन तिम्रो स्मृतिको छायाँमा,
मन अल्झियो फेरि तिम्रा रेशमी ती केशमा।
पुरानो प्रेमकथा झैँ सम्झनाले बोलाउँदा,
सोच्दासोच्दै हराएँ तिम्रै मधुर सम्झनामा।
-गोबिन्द राज ओझा (राजन)
दूरीले के छेक्न सक्थ्यो मनको त्यो अनुराग,
आँखाभरि तिम्रै रूप, हृदयभरि मधुर राग।
तिमी टाढा भए पनि धड्कन नजिकै रह्यो,
मौन रातको प्रत्येक क्षण तिम्रै नामले बह्यो।