Sunday 30th August 2026

५० वर्षपछि दृष्टि धमिलो हुनु सामान्य कि गम्भीर रोगको संकेत


धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने चिकित्सकहरूले बताएका छन्। स्पष्ट रूपमा वस्तु नदेखिने, दृष्टि धमिलो हुने वा फोकस गर्न कठिन हुने अवस्थालाई धमिलो दृष्टि भनिन्छ।

५० वर्ष उमेरपछि धेरै व्यक्तिहरूमा आँखाले नजिकका वस्तु स्पष्ट नदेख्ने, पढ्न कठिन हुने तथा दृष्टि धमिलो हुने समस्या देखिन थालेको विशेषज्ञहरूले बताएका छन्। उमेरसँगै आँखाको लेन्सको लचकता कम हुने भएकाले यस्तो समस्या सामान्य रूपमा देखिने गर्छ।

विशेषज्ञहरूका अनुसार धमिलो दृष्टि केवल उमेरको असर मात्र नभई मोतिबिन्दु, ग्लुकोमा, उमेरजन्य म्याकुलर डिजेनेरेशन तथा मधुमेहसँग सम्बन्धित आँखाका रोगहरूको संकेत पनि हुन सक्छ।

दृष्टि सामान्य राख्न नियमित आँखा परीक्षण, आवश्यक परे उपयुक्त चस्माको प्रयोग, आँखालाई सुक्खा हुन नदिने तथा रक्तचाप र रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नु पर्छ ।

अचानक दृष्टि धमिलो हुनु भने गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्ने चिकित्सकहरूको भनाइ छ। आँखाभित्र रक्तस्राव, रेटिना छुट्टिनु, आँखामा चोटपटक, माइग्रेन, स्ट्रोक वा अत्यधिक उच्च रक्तचापका कारण पनि अचानक दृष्टि कमजोर हुन सक्छ। यस्ता केही अवस्था आपत्कालीन मानिने भएकाले तत्काल उपचार आवश्यक पर्ने हुन्छ ।

धमिलो दृष्टिको उपचार यसको कारणअनुसार फरक हुने चिकित्सकहरू बताउँछन्। सामान्य अवस्थामा चस्मा, कन्ट्याक्ट लेन्स, आँखा भिजाउने ड्रप वा औषधिको प्रयोगले समस्या समाधान हुन सक्छ भने मोतीबिन्दु वा रेटिनासम्बन्धी केही समस्यामा शल्यक्रिया आवश्यक पर्न सक्छ।

दृष्टिमा कुनै पनि परिवर्तन देखिएमा, विशेषगरी अचानक दृष्टि धमिलो भएमा, समयमै नेत्ररोग विशेषज्ञसँग परामर्श लिनु पर्छ। नियमित आँखा परीक्षणले धेरै रोग सुरुवाती चरणमै पत्ता लगाउन मद्दत गर्छ ।


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनामा प्रवेश गर्दा खाडी क्षेत्रको ऊर्जा उद्योगमा गम्भीर असर परेको छ। युद्ध सुरु भएयता विश्व बजारमा ब्रेन्ट…

स्विट्जरल्याण्डको आराउस्थित एक र्‍याभ (Rave) कार्यक्रममा भएको गोलीकाण्डमा २२ वर्षीया एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते…

नाइजरको राजधानी नियामीमा सत्तारुढ सैन्य सरकारविरुद्ध केही युवा सैनिकहरूले गरेको विद्रोहको प्रयास असफल भएको छ। सरकारी सुरक्षा बलले विद्रोह नियन्त्रणमा…

प्रतिकृयाहरू
...