Tuesday 29th September 2026

कीचकवध उत्खननः भवनको संरचना भेटिएको पुष्टि


भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।

परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको राससलाई जानकारी दिए। उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका बताए।

पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताउँदै भने, “सायद अर्को सालसम्ममा उत्खनन पूरा हुन्छ । अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ ।” उनले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

पुरातत्व विभागले कीचकवधमा २०५८ सालमा पहिलोपटक उत्खन गरेको थियो । यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यसपटकको उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो । विराट राजाको सेनापति एवं सालो कीचकले सैरन्ध्रीको भेषमा रहेकी द्रोपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...