Wednesday 13th November 2024

आज देश-विदेशमा ४२औँ राष्ट्रिय मगर एकता दिवस मनाइदै


मित्र भक्त आचार्य (मधु), हाल कुवेत – देश-विदेशमा मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ८ वटै पालिकाले विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरि मनाउदै छन् भने उक्त क्षेत्रमा सार्वजनिक विदा समेत दिइएको छ । त्यस् गरी पाल्ला, स्याङजा, तहनु लगाएत देशैभरको सबै जसो जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध संघसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मगर दिवश मनाउदै छन् । त्यसै गरि मगर बाहुल्यता रहेको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयीत्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले समेत मगर दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।
४२ औं मगर दिवसका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । मौलिक पोसाकमा सजिएका मगर समुदायका युवायुवतीले लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत गाउँदै मादले–मारुनी नाच प्रदर्शन गर्दै बजार परिक्रमा गरेका छन् । सांस्कृतिक रैलीमा मगर समुदायका युवायुवती र पाका पुस्ताको सहभागिता थियो । दिवसका अवसरमा भेषभूषासहितको रैली प्रदर्शनी तथा सोरठी, कौडा र सालैजो नाच प्रदर्शन गरिएको नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकेश पुनमगरले बताउनुभयो । सांस्कृतिक झाँकीले मौलिक कला संस्कृतिको संरक्षण र युवापुस्तामा संस्कृतिक हस्तान्तरणमा टेवा पुग्ने उहाँले बताउनुभयो । मगर समुदायको संस्कृति झल्कने पहिरनसहित बेनीको विरेन्द्रचोकबाट निस्केको रैली बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले कार्यक्रमको उद्घाटन गर्नुभयो । मगर दिवसको अवसरमा नेपाल मगर सङ्घ म्याग्दीले संस्थापक अध्यक्ष हेमबहादुर पुनमगर स्मृति अन्तरमावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको आयोजना गरेको मगर सङ्घका जिल्ला सदस्य समिर रोकाले जानकारी दिनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । त्यसैगरी कुवेतमा पनि शुभकामना आदान-प्रदान गरि मगर दिवस मनाएको मगर संघ कुवेत शाखाका सम्रक्षक तथा निवर्तमान अध्यक्ष मनबहादुर भुजेलमगर (मनु) ज्यू ले जानकारी दिदै कार्य व्यस्तताले आज भेटघाट हुन नसकेको हुदा आउदो शुक्रबार संघको विशेष कार्यक्रम रहेको समेत जानकारी दिनुभयो ।


सम्बन्धित शीर्षकहरु

युरेनस ग्रह र यसका पाँच ठूला चन्द्रमाहरू (उपग्रहहरू) सायद उजाड र निर्जीव संसार होइनन् जुन वैज्ञानिकहरूले लामो समयदेखि सोचिरहेका थिए।…

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी…

सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई…

प्रतिकृयाहरू
...