Sunday 22nd March 2026

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६


मित्र भक्त आचार्य – नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ। नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजदूत–स्थायी प्रतिनिधिले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालसँग दौत्य र कूटनीतिक सम्बन्ध भएका मुुलुकको विस्तारले अन्तर्राष्ट्रियरूपमा नेपालको छवि थप फराकिलो भएको उल्लेख गर्नुभयो।
मन्त्रालयका पछिल्ला गतिविधि र प्रगतिबारेमा जानकारी गराउँदै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अप्रिल १ देखि ३ तारिखसम्म भारतको तीनदिने औपचारिक भ्रमणले दुवै मुलुकका सम्बन्धका बहुआयामिक क्षेत्रमा छलफल भएको र दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी भएको बताउनुभयो।
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले यही अप्रिल ८ मा चिनियाँ जनवादी गणतन्त्रको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शुसँग भर्चुअल वार्ता गर्नुभएका बारेमा प्रवक्ता लम्सालले बताउनुभयो। दुवै पक्षले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा गहन विचार आदानप्रदान गर्नुका साथै दुई देशका संसद्बीच उच्चस्तरीय भ्रमणको आदानप्रदान निरन्तर हुनुपर्नेमा जोड दिनुभएको थियो।
यसैगरी प्रधानमन्त्री देउवाले गत मार्च ३० मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्री देउवाले बिम्स्टेक सदस्य राष्ट्रले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनजन सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिकरूपमा चाल्नुपर्ने कदमकाबारेमा धारणा व्यक्त गर्नुभएको थियो।
भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिम्स्टेक बडापत्र पारित गरेको थियो। नेपालकोतर्फबाट प्रधानमन्त्रीले वडापत्रमा हस्ताक्षर गर्नुभएको थियो। श्रीलङ्काको कोलम्बोमा भएको शिखर सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री डा नारायण खड्कालगायत सहभागी हुनुहुन्थ्यो। यस्तै परराष्ट्रमन्त्री डा खड्काको मैत्रीपूर्ण निमन्त्रणमा जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले मार्च २५ देखि २७ तारिखसम्म नेपालको भ्रमण गर्नुभएको थियो। सो अवसरमा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध र सहयोगका महत्वपूर्ण पक्षमा छलफल हुनुका साथै आपसी सम्बन्धलाई थप सुमधुर बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानको महत्वमा जोड दिइएको थियो। – साभार (कान्तिपुर)


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...